डेरामा बस्नेको विवरण वार्डमा बुझाउनुपर्ने

0
49

सुरुङ्गा।

कनकाई नगरपालिका वार्ड नं. ३ ले डेरामा बस्नेको घरवालाले परिचय खुल्ने कागजातसहित विवरण वार्डमा बुझाउनुपर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको कनकाई नगरपालिका वार्ड नं ३ को वडा समितिको बैठकले हालसालै घटेको घटना तथा जनगुनासो समेतलाई ध्यान दिँदै उक्त निर्णय गरेको हो ।

कार्यालयको सभाहलमा सम्पन्न पत्रकार भेटघाटमा वार्ड समितिले दुई महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ । वार्ड नं.३ का कार्यवाहक अध्यक्ष गोविन्द सुवेदीले निर्णय सार्वजनिक गर्दै जनताको सुरक्षा र हितमा गरिएको निर्णय लागु गर्न सहयोगका लागि वडावासीसँग अपिल गरे ।

जनताका काममा अत्यन्तै खट्ने कार्यवाहक अध्यक्ष सुवेदीले केही दिन अघि सामाजिक तथा धार्मिक सद्भाव बिथोलिने गरी नेपालको संविधान २०७२ को मर्म र भावना विपरित कनकाई नगरपालिका वडा नं ३ टप्पु चौकमा भएको गौहत्याले नगरवासीको मनमा आक्रोस र असुरक्षाको स्थिति उत्पन्न भएको बताए ।

उनलेे वार्ड नं ३ का सम्पूर्ण घरबहाल लगाउने घरबेटीहरुलाई आफ्नो घरमा भाडामा बस्ने सम्पूर्ण डेरावासीको परिचय खुल्ने नेपालीका हकमा नागरिकता प्रमाण पत्र वा जन्मदर्ता प्रमाण पत्र र विदेशीको हकमा आधारकार्ड वा राहदानीको फोटोकपी राखी ३५ दिन भित्र विवरण बुझाउनु पर्ने बताए ।

त्यसै गरी, अध्यक्ष सुवेदीले सुरुङ्गा बजार क्षेत्रमा जथाभावी रुपमा अव्यवस्थित तरिकाले केबल तार झुण्डिरहेको र दैनिक रुपमा केबल तारका कारण बस, लरी तथा ट्रक अल्झिने र दुर्घटना हुने गरेको पटक पटक जनगुनासो आउने गरेको अवस्थामा शहर बजारको सौन्दर्य कायम राख्न र सम्भावित दुर्घटनाबाट बच्न सुरुङ्गा क्षेत्रमा केबल नेटवर्क कम्पनी सञ्चालन गर्ने व्यवसायीहरूलाई छलफलका लागि १५ दिन भित्रमा वार्ड कार्यालयमा बोलाउने निर्णय गरिएको पनि जानकारी गराए ।

पत्रकार भेटघाट कार्यक्रममा कनकाई नगरपालिका कार्यपालिका सदस्य कृष्णमाया भुजेलले हामी सबैले आमा मानिरहेको गाईको हत्या हुनु अत्यन्तै दुःखद् कुरा भएको बताइन् । अभियुक्त पक्राउ परिसकेको अवस्थामा कानुनबमोजिम हदसम्मको कार्वाही हुनुपर्ने कनकाई नगरवासीको माग रहेको बताइन् ।

त्यसरी नै, वार्ड सदस्य सुष्मा परियारले सम्पूर्ण वडावासी सजग र सतर्क हुने हो भने आपराधिक गतिविधि कम हुने बताइन् । कार्यक्रम वार्ड सचिव कमल भण्डारीले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here