पथरीशनिश्चरे,
पथरी शनिश्चरे नगरपालिकामा ऊर्जा प्रवर्द्धन र दिगो विकाससम्बन्धी समन्वय बैठक सम्पन्न भएको छ।
शुक्रबार नगरपालिकाको सभाहलमा आयोजित उक्त बैठक सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सम्पन्न भएको हो। सहकारीको मुख्य कार्यालय विर्तामोड–२, चारपाने, झापामा रहेको छ भने पथरी शनिश्चरेमा यसको सेवा केन्द्र स्थापना गरिएको छ।
कार्यक्रममा क्लिन कुकिङ सोलुसन प्रोग्रामका संयोजक नवीन लामिछानेले ऊर्जा प्रवर्द्धन र दिगो विकासको विषयमा प्रस्तुति दिएका थिए। कार्यक्रमको अध्यक्षता सहारा सहकारी संस्थाका प्रथम उपाध्यक्ष छविलाल खतिवडाले गरेका थिए।
प्रमुख अतिथिका रूपमा पथरी शनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्वापो र विशिष्ट अतिथि देवीमाया काफ्लेको उपस्थिति रहेको थियो। त्यसैगरी, कार्यक्रममा नगरपालिकाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा अन्य सरोकारवालाहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
बैठकले पथरी शनिश्चरे नगरपालिकामा दिगो विकासका लागि आवश्यक योजनाहरू अघि बढाउन समन्वयात्मक प्रयासको आवश्यकता रहेकोमा जोड दिएको छ। सहकारी संस्थाले दिगो विकास र स्वच्छ ऊर्जा उपयोगका लागि स्थानीय तहहरूसँग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ।