नेपालमा विविध जातजातिका मानिसहरु बसोबास गर्दछन् । ती मध्ये वाम्बुले राई जाति एक हुन् । वाम्बुले राई जाति प्रायशः नेपालीको पूर्वी पहाडी क्षेत्रमा बसोबास गर्दछन् । वाम्बुले समुदायको पहाडी भूगोलमा आधारित खेतीपाती, फलफूल उत्पादन र हस्तकला मूल पेशा भएता पनि युग अनुसारका विविध आधुनिक पेशामा पनि संलग्न रहेका पाइन्छन् । विदेशसम्म पुगेर प्रगति गरेका पाइन्छन् ।
नेपालीहरु विविध भाषा भाषिका बोल्दछन् । वाम्बुले समुदायको आफ्नै समृद्ध भाषा छ । वाम्बुले राई भाषाको शब्दकोष पनि निर्माण भइसकेको छ । जसलाई संकलन तथा सम्पादन गरेका छन्– ‘अविनाथ राई’ले । शब्दकोषको नाम रहेको छ– ‘वाम्बुले राई शब्दकोष’ ।
भोट बर्मेली परिवारभित्र पर्ने वाम्बुले राई भाषा कथ्य परम्परामा आधारित तर लेख्य परम्परा उन्मुख एक जीवन्त भाषा हो । विशेषतः जातीय जीवनमा सञ्चारको माध्यमको रुपमा रहेको छ । भाषा अनुसन्धानकर्ता ब्राइन हफ्टन हड्सनले सन् १८५७ मा प्रकाशित गरेका पुस्तकमा किराँती भाषाका शब्दहरुको सूचीमा संकलित कतिपय वाम्बुले (चौरासे) शब्दहरु आज पनि जस्ताको त्यस्तै रुपमा बोलिने गरिएको, कतिपय केही फरक तरिकाले उच्चारण गर्ने गरिएको तथा कतिपय चलनचल्तीबाट हराएर समेत गएको पाइएकोले यस भाषाले पनि अन्य जीवित भाषाहरु कै विशेषता (स्थायित्व, गतिशिलता, जीवन्तता आदि) बोकेको देखिन्छ, –उल्लेख छ ।
प्रकाशकीयमा भनिएको छ– ‘यस कार्यले प्रारम्भिकरुपमा नै भए पनि विलयतर्फ उन्मुख भएर तथा विविध कारणले संकटमा परेको एउटा राष्ट्रिय सम्पत्तिको जगेर्ना गर्ने कर्तव्य निर्वाह गरिएको जस्तो लागेको छ ।’ निश्चय पनि शब्दकोषले तत् भाषाको संरक्षणमा अतुलनीय भूमिका खेल्दछ । यस शब्दकोषले वाम्बुले भाषा सदा जीवन्त राखिराख्ने छ र यो निकै महान कार्य हो ।
शब्दकोषमा पाँच हजारभन्दा बढी मूल शब्दहरु र त्यसको करिब आधा संंख्यामा सहायक शब्दहरु प्रबिष्टि गरिएका छन् । अधिकांशतः दैनिक प्रचलनमा बोलिने शब्दहरु समाबिष्ट गरिएका छन् । मुन्धुमका शब्दहरु पनि समेटिएका छन् । बालबोली, उखान टुक्का र लक्षणा शब्दहरु पनि अटाइएका छन् । यस कोषका संकलक तथा सम्पादक राईका अनुसार, यो शब्दकोष वाम्बुले राईहरुले आफ्नो भाषाको लागि केही गर्न थालनी विन्दु र भाषाप्रेमीहरुले भाषाको फाँटमा अध्ययन अनुसन्धान गर्न आधार विन्दु साबित हुने कुरामा धेरै हदसम्म विश्वाश गरिएको छ ।
विशेष शब्दहरुः मौलिक तथा ठेट (विशेष) शब्दहरु मुन्धुम (स्वाम्दीखाडु)मा पाइने, तर ती शब्दहरु धार्मिक तथा पितृकार्यमा मात्र फलाकिने हुनाले कतिपय शब्दहरु बुझ्न कठिन हुन्छ । मुन्धुम श्रुतिग्रन्थको रुपमा मात्र रहेकाले ती शब्दहरु बुढापाकाहरुसँगै बिलाएर जाने अवस्थामा रहेका छन् । यस भाषाको अर्को अचम्मको विशेषता के रहेको छ भने यस भाषामा गीत पाइन्न र गाइन्न तर हाल आएर चाहिँ गीत कथ्न र गाउन थालिएको छ ।
डाँडाकाँडा गाउँबेसीका बारीबीच रातोमाटो र कमेरोले पोतेको चिटिक्क परेका घरमा बस्ने यी राई समुदायहरुको राम्दले, लौलौ, सालमाया, सकिभारत आदि मौलिक लोकलय छन् । वाम्बुले राईहरु सामाजिक तथा सांस्कृतिक क्षेत्रमा अग्रपंक्तिमा रहेका पाइन्छन् ।
शब्दकोष सम्पादक अविनाथ राई नेपाल सरकारको उच्चतहसम्मको पदमा पुग्न सफल एक विज्ञ तथा विद्रान हुन् । स्वदेश तथा विदेशमा विभिन्न प्रशासनिक, आर्थिक तथा सामाजिक विषयक तालिम तथा गोष्ठीहरुमा सहभागी भई विज्ञता हासिल गरेका छन् । विभिन्न सामाजिक संघ–संस्थामा रहेर समाजसेवा समेत गरिरहेका छन् ।
वाम्बुले राई समाज, नेपाल (वाम्रास) केन्द्रीय कार्यालय ललितपुरले प्रकाशन गरेको यस वाम्बुले राई शब्दकोश तत् भाषाभाषी या समुदायका लागि मात्र होइन सम्पूर्ण नेपालीहरुका लागि एक धरोहरको रुपमा उभिएको छ । यस शब्दकोष निकै अघि प्रकाशन भएता पनि शब्दकोषहरु जहिल्यै ताजा र महत्वको छ । यस शब्दकोषले नेपालभित्र रहेका सबै भाषाभाषीको संरक्षणका लागि महान योगदान गर्न सक्छ । तत् भाषा या समुदायमात्र नभइ नेपालमा रहेका सम्पूर्ण भाषाहरुलाई युगौँसम्म जीवन्त बनाइराख्न प्रेरित गर्दछ ।
अर्को ‘कृति वाम्बुले लोकवार्ता’ । वाम्बुले भाषा र साहित्यकै सम्बन्धमा अर्को कृति पनि प्रकाशित भएको छ । त्यो कृति हो स्रष्टा ‘गणेश राई’को सिर्जना ‘किरात वाम्बुले लोकवार्ता’ (लोकसाहित्य) ।
पूर्वजबाट हस्तान्तरण हुँदै आएका भाषा, संस्कार र संस्कृति सम्बन्धित सन्ततिको अस्तित्व र परिचयसँग जोडिने हुनाले यस अमूल्य सम्पत्तिको संरक्षण, सम्बद्र्धन र विकास गर्ने दायित्व र कर्तव्य पनि सम्बन्धित सन्ततिहरुकै हो । लेख्य परम्परा शून्य भएको वाम्बुले भाषालाई लेख्य परम्परामा रुपान्तरण गर्न यो कृतिले गहन भूमिका खेल्नेछ ।
‘लोक साहित्यलाई आधुनिक साहित्यको स्रोत मान्ने गरिन्छ । लोक गीत, लोक गाथा, लोक कथा, लोक नाटक लोक साहित्यका अभिन्न अवयव मानिन्छन् । वाम्बुले लोक साहित्यमा विद्यमान यिनै अवयवहरुलाई लेखक गणेश राईले अध्ययन, सोधखोज र संकलन गरेर प्रस्तुत गरेका छन् । यो किताब वाम्बुले राईहरुको लागि मात्र नभएर वाम्बुले राई सम्बन्धी चासो राख्ने र अन्धयन अनुसन्धान गर्नेहरुका लागि महत्वपूर्ण कृतिको रुपमा रहने विश्वास लिएको छु’ –विद्रान तथा लेखक अविनाथ राईको विचार कृतिमा प्रकाशित छ ।
पत्रकारिता क्षेत्रमा बरिष्ठ सम्पादकसम्म हुन सफल, विभिन्न पुरस्कारद्वारा सम्मानित, कृतिहरु प्रकाशित गरेका तथा विभिन्न संघ–संस्थामा आबद्ध रही समाजसेवा समेत गरिरहेका लेखक गणेश राईको यस कृतिले वाम्बुले लोक साहित्य संरक्षणमा अहम् भूमिका खेल्न सक्छ । वाम्बुले भाषा साहित्यका क्षेत्रमा स्रष्टा गणेश राईको गहन योगदान रहेको पाइन्छ ।
पुस्तकमा आठ अध्याय छन् । अध्याय एकमा, ओखल ढुङ्गा जिल्लाको परिचय, दुईमा मुन्धुम परम्परा, तीनमा वाम्बुले राईको लोक परम्परा र मान्यता, चारमा लोक विश्वासहरु, पाँचमा उखान टुक्का, अध्याय छ मा लोक कथा, सातमा लोक गीत तथा लोक भाकाहरु र अध्याय आठमा लोक नाटक समेटिएका छन् ।
पुस्तकको अध्याय एकमा उल्लेख भए अनुसार वाम्बुले राईहरुको रस्तीबस्ती दूधकोशी र सुनकोशी नदी संगम आसपास रहेका छन् । वाम्बुले राईहरु आफूलाई वाँबुले तथा चौरासे राई भनेर चिनाउँछन् । अन्य जातिले उम्बुले राई भनेर बोलाउँछन् । उनीहरुका आफ्नै मौलिक भाषा, भेषभूषा, संस्कार संस्कृति, लोक मान्यता, लोकपरम्परा रहेका छन् ।
अध्याय दुईमा, प्रकृति पूजक किरातीहरुको धर्मशास्त्र मुन्धुम हो । मुन्धममा सृष्टिको सबै विषय अडिएको छ । किराँत जातिको जीवनको मूल आधार मुन्धुम हो । सामाजिक, सांस्कृतिक, नैतिक र धार्मिक जीवन पद्धति मुन्धुम निर्देशित छ । लोक कथा, लोक काव्य, गाथा, पुरा कथा, आख्यान, उखान टुक्का जस्ता श्रुति र स्मृतिका आधारमा मुन्धुम संरचना बाँच्दै आएको छ । यो अलिखित दस्तावेज आज पनि समाजमा व्याप्त छ । यो बचाउने मूल रुपमा दुईथरी पात्र जीवित छन् । एकातर्फ वंशानुगत नाक्सो (पुरुष कुलगुरु) र डाबुचो (गुल गुरुका सहायक) छन् भने अर्कोतर्फ ज्वाम्चो (पुरुष धामी झाँक्री) र ज्वाम्चेनी (स्त्री धमिनी झाँक्री) छन् –उल्लेख छन् ।
अध्याय पाँचमा उखान टुक्काहरु समेटिएका छन् । जसमा, सामाजिक उखान, ज्ञानविज्ञान, स्थान, धार्मिक भावना, खेतीपाती र पशुपंक्षी सम्बन्धी उखान टुक्काहरु रहेका छन् । नेपाली भाषामा उखानलाई लोकोक्ति पनि भन्ने गरिन्छ । उक्तिहरु हाम्रा अनुभवी पुर्खाका महान्वाणीहरु हुन्, जुन आफ्ना सन्ततिका लागि छोडेर गएका अमूल्य लोकसम्पत्ति पनि हुन् ।
अध्याय छ मा लोक कथा समेटिएका छन् । लोक कथा लोक जीवनको सुख–दुःखको अनुभूतिलाई प्रभावकारी रुपमा अभिव्यक्त गर्ने एउटा सशक्त लोक साहित्यको विधा हो । लिब्जु उपो, लाजाबो, तुभिउ च्वाक्चो, तुभिउ चरी, सुनकोशी दिदी र दूधकोशी बहिनी लगायत थुप्रै लोककथाहरु वाम्बुले र नेपाली भाषामा प्रकाशित भएका छन् । वाम्बुले लोक गीत तथा लोक नाटकहरुले पनि वाम्बुले राईहरुको जीवन परम्परा कहन्छन् । उनीहरुका मात्र होइन समस्त मानव जीवनकै कथाहरु सुनाउँदछन् ।
यी दुई कृतिहरुमा वाम्बुले राई जातिका समस्त आयाम समेटिएका छन् । वास्तवमा दुई पुस्तक मात्र भए पनि यसमा किरात जातिहरुकै समग्र विषयहरु अटाएका छन् । जसले सम्पूर्ण नेपाली जातिहरुमा आ–आफ्नो भाषा, साहित्य, परम्परा लोक जीवन संरक्षण गर्न प्रेरणा प्रदान गर्दछन् ।