अर्जुनधारा ।
झापाको अर्जुनधारा–३ खुदुनाबारीस्थित खुदुनाबारी साना किसान कृषि सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।
“साना किसानको समृद्धि ः कृषि रुपान्तरण र उद्यमशिलताको विकास” भन्ने मुख्य नारासहित स्थानीय कैदले पर्यापर्यटन केन्द्रको सभाहलमा संस्था सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद दंगालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि संविधान सभा सदस्य प्रेमबहादुर गिरीले उद्घाटन गरेका थिए ।
कार्यक्रममा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन अध्यक्ष दंगाल, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक विष्णुलाल ढकाल र आर्थिक तथा लेखा परिक्षण प्रतिवेदन प्रबन्धक गोपीकृष्ण लुँइटेलले प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा संस्थाको समूह संख्या चार सय १० वटा, सदस्य शंख्या दुई हजार एक सय ४० जना, जम्मा शेयर पूँजी पाँच करोड आठ लाख २७ हजार रुपैयाँ, निक्षेप हिसाब २२ करोड ११ लाख ४० हजार रुपैयाँ, ऋण लगानी हिसाब ५५ करोड ९९ लाख ३५ हजार रुपैयाँ, कुल लगानी ४५ करोड ४५ लाख ३५ हजार रुपैयाँ, साँवा असुली ३७ करोड ७२ लाख एक हजार रुपैयाँ, ब्याज असुली सात करोड ५९ लाख ३२ हजार रुपैयाँ उल्लेख गरिएको छ ।
त्यसैगरी संस्थाले गत आर्थिक वर्ष ०८०/०८१देखि वितरण शुरु गरेको “साना किसान अवार्ड”बाट यस वर्ष समूह नं. २६८ अन्तर समूह नं.८का सदस्य कृषक सन्तोषकुमार राई सम्मानित भएका छन् । पत्नी मनकला राईसहित कार्यक्रममा सहभागी भएका उनलाई कार्यक्रमका प्रमुख अतिथि गिरीले सम्मान पत्रसहित नगद पुरस्कार १५ हजार प्रदान गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष सीताराम भट्टराई, साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड इलाका कार्यालय बिर्तामोडका प्रमुख गणेश भट्टराई, झापा जिल्ला कृषि सहकारी संघका अध्यक्ष केशव सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समितिका उपाध्यक्ष नन्दलाल खनालले स्वागत गरेको उक्त कार्यक्रको सञ्चालन लेखा सुपरिवेक्षण समितिका सदस्य धरणीधर खतिवडाले गरेका थिए । सोही सभाले आगामी चार वर्षे कार्यकालको लागि नयाँ सञ्चालक समिति पनि चयन गर्ने बताइएको छ ।