विर्तामोड ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य दिपक गिरीले संविधानमा केही सुधार गर्नकै लागि कांग्रेस–एमालेबीच सत्ता गठबन्धन भएको बताउनुभएको छ ।
नेपाली कांग्रेसले शुरु गरेको एकसयदिने विशेष अभियान अन्तरगत नेपाली कांग्रेस झापाद्वारा आयोजित भातृ तथा शुभेच्छुक संघसंस्थाहरुको जिल्लास्तरीय भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अभियानका लागि केन्द्रीय प्रतिनिधिसमेत रहनुभएका गिरीले ‘पब्लिक सेन्टिमेन्ट’ बुझेरै संविधानमा केही सुधार गर्नुपर्ने अवस्था आएको बताउनुभएको हो ।
सबैको सक्रियताले मात्रै पार्टी संगठन मजबुद हुने बताउँदै नेता गिरीले आफूले नेतृत्व गरेको संस्थालाई चलायमान बनाउन पनि भातृ तथा शुभेच्छुक संघसंस्थालाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसलाई मुलुकभर शसक्त बनाउन १०० दिने अभियान सञ्चालन गरिएको धारणा राख्दै उहाँले भातृ तथा शुभेच्छुक संस्थालाई विधिवत रुपमा चलायमान गराउन यो अभियानले मद्दत पुग्ने बताउनुभयो ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले जिल्ला मातहतका भातृ तथा शुभेच्छुक संघसंस्थाको अधिवेशन गर्ने अधिकार जिल्लालाई दिन केन्द्रसँग माग गरिएको जानकारी दिनुभयो ।
भातृ संघसंस्थाको अधिवेशन क्यालेन्डर अनुसार नै गर्नसकेमात्रै संगठन चलायमान हुने बताउँदै सभापति थेवेले एकसयदिने बिशेष अभियान झापामा निरन्तर अघि बढेको र मंसिरभित्र वडा भेला, पालिका भेला सकेर पौषमा क्षेत्रीय भेला समापन गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल महिला संघ झापाका अध्यक्ष टिका सिटौला मैनाली, नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ झापाका अध्यक्ष दिलकुमार नेम्बाङ, शिक्षक संघ झापाका उपाध्यक्ष कुमार खतिवडा, नेपाल ट्रेड युनियन कांग्रेस झापा अध्यक्ष यज्ञप्रताप अधिकारी, भूतपूर्व सैनिक संघ झापाका सचिव, नेपाल लोकतान्त्रिक अपाङग संघका केन्द्रीय सदस्य धर्मराज घिमिरे, प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराई, प्रजातन्त्र सेनानी संघका झापा अध्यक्ष लिलक सिटौला, टेकनाथ उप्रेती, नेपाल विद्यार्थी संघ झापा अध्यक्ष सञ्जय निरौला, नेपाल किसान संघ झापा अध्यक्ष रतन थिङलावो, नेपाल दलित संघ झापा अध्यक्ष दलबहादुर विक लगायतले आ–आफ्ना संस्थाले गरेका गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो ।
नेपाली कांग्रेस झापा सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत दिपक तामाङ, सञ्चालन कृष्ण हुमागाई र जयकुमार दाहालले संयुक्त रुपमा गर्नुभएको थियो ।