बुट्टाबारी ।
जुनकिरी सार्वजनिक आधारभूत विद्यालय अर्जुनधारा ११को नवनिर्मित भवनको आइतवार एक समारोहबीच उद्घाटन गरिएको छ ।
कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरले बिधिवत् रूपमा भवनको उद्घाटन गरेकी हुन् । बिद्यालय मर्ज गर्ने संख्या वृद्धि गर्नुभन्दा सानो संख्यामा रहेका बिद्यालयका बिद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनु राम्रो हुने उपसभामुख राना मगरको भनाइ थियो ।
अर्जुनधारा नगरपालिकाको आर्थिक बर्ष ०७८÷०७९को बजेटबाट निर्माण भएको दुई तले चार कोठे भवन सम्पन्न भएको हो । कक्षा नर्सरीदेखि ५ सम्म स्थानीय समुदायका बालबालिका र बन्दी सहायता नेपालद्वारा सञ्चालित मनमाया, गंगा आमा, जंगल गार्डेन ब्वाइज बालगृहमा कारागारमा रहेका आमाबुबासँग आस्रित बालबालिकाहरुसहित सयभन्दा बढी विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।
कार्यक्रममा मलेशियन दाता चोङलिङ एनजीले प्रत्येक बर्षझै बिद्यालय एवम् बालगृहमा १० थान ब्ल्याङ्केट, १५ बोरा चामल, ३ बोरा दाल, १० कार्टुन खानेतेल, ३ बोरा आलु, ३ बोरा चना मटर लगायत सामग्री विव्यस अध्यक्ष एवम् पूर्वाञ्चल शाखा अध्यक्ष जगतबहादुर मगरलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बिशिष्ट अतिथि अर्जुनधारा–११का वडाध्यक्ष खगेन्द्र इङ्नाम, शिक्षासेबी हस्त परियार, महारानीगञ्ज माबिका अध्यक्ष बोलप्रसाद कोइराला, प्रधानाध्यापक मनबहादुर लिम्बू, जनप्रतिनिधि सुशीला गिरी लगायतले शुभकामना दिएका थिए ।
विव्यस अध्यक्ष जगतबहादुरको अध्यक्षता, शिक्षक सुरेखा योङ्याङले सञ्चालन गरेको कार्यक्रमको सहजीकरण प्रधानाध्यापक रञ्जित परियारले गरेका थिए ।