गोपाल अधिकारी
बिर्तामोड, दुःखीको घरमा मात्र तेरो वास हुने भए, हे ईश्वर दया राखी मलाई अझ दुःख दे ! बालकृष्ण समको यो भनाइ झैं भागवत रामको दैनिकीमा पनि मेल खाएको छ ।
बुबा सबुरलाल र फुदनिदेवी रामका कान्छा छोरा भागवत जन्मजात अपाङ्ग हुन् । उनको दाहिने हात कुमभन्दा तलको भाग सपाङ्ग छैन । छ त हातको अवशेष मात्र । जसका कारण उनले आफ्नो दैनिकी देब्रे हातले गर्छन् । केही वर्ष अगाडि आफ्ना दाजुहरू गुमाएका रामले चार वर्ष अगाडि आमा समेत गुमाए । त्यसपछि उनी एक्लिएर बुवासँग बस्दै आएका छन् ।
सुखीपुर सिराहा निवासी शान्तिकुमारी महरासँग १४ वर्ष अगाडि विवाह गरी सहज जीवनयापन गर्ने क्रममा विगत आठ वर्षदेखि आफ्नो जन्मथलो शम्भुनाथ नगरपालिका सिराहा छाडेर बेलबारी नगरपालिकामा बसी श्रीमतीको साथ सहयोगमा पूर्वका बजार र हटियाहरुमा डटपेन बिक्री गरी गर्जो टार्दै आएका छन् । उनले छोराहरूलाई भगवती मावि बेलबारीमा पढाइरहँदा एक्लो बुवालाई आफूसँग ल्याएपछि श्रीमतीको असहमतिले पारिवारिक द्वन्द्वको शुरुवात भएको उनी सम्झन्छन् ।
उनकी श्रीमतीले विगत चार वर्ष अघिदेखि सपरिवार छाडेर माइती गएपछि भागवतको भाग्यमा झन् कालो बादल मडारिन थालेको हो । झोलामा डटपेन बोकेर दैनिक बजार दौडिँदा ढाडको हड्डी खिएर कष्टका साथ हिँडडुल गर्दै कुनै दिन एक–दुई सयको व्यापार गर्दै घर फर्किएर भोकै सुत्नु परेको पीडाले थलिएका भागवतको जीवनमा कहिले आनन्दको सास फेर्न पाएनन् ।
घरमा बिहान ९२ वर्षीय बुबा, कक्षा ५ र ६ मा अध्ययन गर्ने छोराहरूलाई खाना दिएर दिनभरि शहर र हटियाहरुमा डटपेन बेचेर आएको आयबाट परिवार धान्दै आएका भागवतले मनकारी दयालु सहयोगी दानवीर मनहरूसँग एउटा ठेला र ठेला व्यापार गर्न केही रकमको याचना गरेका छन् ।
उनी भन्छन्– ‘कसैले ठेला किन्दियो भने छोराहरूको सहयोगमा (ल्याउन लैजान) सानुतिनु व्यापार गरेर दुईछाक खानाको जोगाड हुन्थ्यो कि !’ डटपेन बिक्री गर्नेक्रममा पूर्वाञ्चल दैनिकको कार्यालय आइपुगेका उनले आफ्नो दुखेसो पोख्दै मनकारी दातासँग सहयोगको अपिल गरेका छन् । जसका लागि उनले आफूलाई ९८१६७९०२५२ मा सम्पर्क गर्न समेत आग्रह गरे ।