फाल्गुनन्द गोल्डकप : एनआरटी सेमिफाइनलमा

0
195

पाँचथर,

फिदिममा जारी एघारौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न क्वाटरफाइनल खेलमा सल्हेश युवा क्लब सिरहालाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै न्यू रोड टिम (एनआरटी) क्लब, काठमाडौँ सेमिफाइनल प्रवेश गरेको छ ।

फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि ट्राइब्रेकरमा गएको थियो । टाइब्रेकरमा एनआरटिका कृतिश छुर्ज, अभिषेक लिम्बू, कार्लोस, सरोज तामाङ र अञ्जन विष्टले गोल गरे । सल्हेशका कुलदीप कार्की, विवेक राई, दोर्जे तामाङ र फागुराम थारुले गोल गरेपनि विदेशी खेलाडी हेनरीको प्रहार एनआरटीका गोलरक्षक प्रमिजय गच्छदारले बचाएपछि जित सुनिश्चित भएको थियो ।

आजको खेलको उत्कृष्ट खेलाडी एनआरटीका अभिषेक लिम्बू घोषित भइ रु १० हजार पुरस्कार प्राप्त गरे । क्वाटरफाइनल सकिएपछि सेमिफाइनलको समीकरण पूरा भएको छ । जसअनुसार भोलि शुक्रबार पहिलो सेमिफाइनल खेल आयोजक फिदिम स्पोर्टिङ क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुने छ ।

त्यसैगरी शनिबार एनआरटीले मछिन्द्र क्लबको सामना गर्ने छ । फाइनल खेल यही पुस १५ गते हुने छ । प्रतियोगिताका विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कारसहित ट्रफी प्राप्त गर्ने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here