जयपुरमा आठौं संस्करणको नवज्योति च्यालेन्ज कप हुने

0
24

अर्जुनधारा ।

झापाको बुद्धशान्ति–२ जयपुरस्थित नवज्योति युवा क्लबको आयोजनामा आगामी माघ २१ गतेदेखि एलिस सप्लायर्स नवज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिता–२०८१ हुने भएको छ ।

स्थानीयस्तरमा फुटबल खेलको विकाससँगै योग्य खेलाडीहरु उत्पादन एवम् जयपुर क्षेत्रमा खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनमा वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए ।

अध्यक्ष पोखरेलका अनुसार स्थानीय आदर्श माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा आयोजक क्लबसहित इलाम, मोरङ, सुनसरी, काठमाण्डौं र छिमेकी देश भारतबाट गरि जम्मा आठ टिमको सहभागिता रहने छ ।

प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमश दुई लाख २५ हजार र एक लाख २५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यसैगरी प्रतियोगितामा प्रत्येक खेलका उत्कृष्ट खेलाडीले नगद पुरस्कार सात हजार, फाइनल खेलका उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदियमान खेलाडीले नगद पुरस्कार जनही १० हजार तथा सर्वाधिक बहुमूल्य खेलाडीले नगद पुरस्कार १५ हजारसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने क्लबका उपाध्यक्ष भरत खतिवडाले जानकारी दिए ।

त्यसैगरी प्रतियोगिता सम्पन्न गर्न अनुमानित लागत ३० लाख ९५ हजार रुपैयाँ लाग्ने बताइएको छ । त्यसको लागि मुख्य प्रायोजक एलिस सप्लायर्स, प्रायोजक, सहप्रायोजक, बुद्धशान्ति गाँउपालिका, वडा कार्यालय, विभिन्न संघ–संस्था, दाताहरु र गेट टिकटबाट जुटाउने क्लबका कोषाध्यक्ष गंगा गौतमले जानकारी दिए ।

उद्घाटनदेखि अन्तिम सेमीफाइनलको खेलसम्म एक सय रुपैयाँ र माघ २८ गते सम्पन्न हुने प्रतियोगिताको फाइनल खेलको लागि दुई सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । क्लबका अध्यक्ष पोखरेलको अध्यक्षता र झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष बलराम कार्की, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकाललगायतले आफ्नो धारणा राखेका थिए ।

सोही कार्यक्रममा प्रतियोगिताको विजेता र उपविजेता ट्रफीसहित व्यक्तिगत विधाका ट्रफीहरु प्नि सार्वजनिक गरिएको उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिव मुकेश भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here