सुरुङ्गामा भलिबल कनकाई कप हुने

0
12

सुरुङ्गा ।

झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता ‘कनकाई कप–२०८१’ को चौथो संस्करण हुने भएको छ ।

नेतृत्व विकास र व्यक्तित्व विकासको मूल मन्त्रलाई अनुशरण गर्ने सुरुङ्गा जेसीजको आयोजनामा माघ ५ देखि ८ गतेसम्म स्थानीय कनकाई माविको खेल मैदानमा प्रतियोगिता हुने आयोजक संस्थाले बुधवार सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

प्रतियोगितामा भारतको सिक्किमको एउटा टिम, कोशी प्रदेशभरिका १२ वटा पालिकाका टिम र एउटा आयोजकको गरी १४ वटा टिमको सहभागिता रहने सुरुङ्गा जेसीजका सन् २०२४ का अध्यक्ष एवम् पत्रकार सम्मेलनका अध्यक्ष दुर्गा पाठक (राजु) ले जानकारी दिए ।

प्रतियोगितामा पहिलो हुने टिमलाई नगद एक लाख ११ हजार १ सय ११ र दोस्रो हुने टिमलाई नगद ६१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । यसै गरी सर्वोत्कृष्ट खेलाडीलाई ३२ इन्चको स्मार्ट कलर टेलिभिजन र विभिन्न ५ विधाका उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिता सम्पन्न गर्न अनुमानित ८ लाख ५० हजार रुपैयाँ खर्च हुने र उक्त खर्च विभिन्न प्रायोजक, सामाजिक सङ्घ÷संस्था, खेलप्रेमी, समाजसेवीहरूको सहयोगले पुरा गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा मुख्य प्रायोजकका रूपमा सुरुङ्गा क्षेत्रको सबैभन्दा पुरानो र ठूलो निजी विद्यालय पशुपति अङ्ग्रेजी माध्यमिक विद्यालय रहेको छ । प्रायोजकका रूपमा कनकाई नगरपालिका अन्तर्गतको कनकाई नगर खेलकुद विकास समिति रहेको छ ।

सुरुङ्गा जेसीज सन् २०२४ का सञ्चार संयोजक जेनिस चौलागाईको संयोजकत्वमा भएको पत्रकार सम्मेलनमा सुरुङ्गा जेसीजका पूर्व अध्यक्षहरू कुमारमणि पोखरेल, शिवकुमार कडेंल, एलपी उप्रेतीलगायतले खेलको माध्यमबाट खेलाडीको विकास गर्ने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरिएको बताए । पत्रकार सम्मेलनमा सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष त्रिलोचन उप्रेती, कमल कट्टेल, सल्लाहकार सोमनाथ उप्रेती, जिल्ला भलिबल सङ्घ झापाका खडानन्द खतिवडा, सुरुङ्गा जेसीज सन् २०२५ का अध्यक्ष दीपेन्द्र प्रधानलगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमको सहजीकरण सुरुङ्गा जेसीज सन् २०२४ का महासचिव रिसवसिंह चाहारले गरेका थिए । प्रतियोगितामा प्राथमिक उपचारको प्राविधिक सहयोग समर मेडिसन डाइग्योनिष्टिक सेन्टर सुरुङ्गाको रहने बताइएको छ । प्रतियोगिताको पहिलो संस्करणमा सुनसरी भलिबल टीम, दोस्रोमा दमक नगरपालिका र तेस्रोमा झापा गाउँपालिका विजेता बनेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here