भगीरथ भण्डार
इलाम , स्थानीय कला, संस्कृति, सम्पदा, परम्परा, ज्ञान, सिपलाई समेट्ने भन्दै इलाम नगरपालिकाले कक्षा एक देखि आठ सम्मको स्थानीय पाठ्यक्रम बनायो । पाठ्यक्रममा पालिकाको राजनैतिक, भौगोलिक, प्राकृतिक, सामाजिक, ऐतिहासिक तथा धार्मिक सम्पदा परिचित गराउने विषय समावेश ग¥यो । तर शैक्षिक सत्रको अन्त्यमा पनि विद्यार्थीलाई पुस्तक वितरण गर्न सकेको छैन ।
‘इलामको सेरोफेरो’ नामको पाठ्यपुस्तक छाप्ने र चालु शैक्षिक सत्रको सुरुदेखि नै लागु गर्ने निर्णय गरेको इलाम नगरपालिकाले शैक्षिक सत्र सकिने समयसम्म पनि पाठ्यपुस्तक तयार गर्न नसकेको हो । शिक्षकले पाठ्यक्रमका आधारमा विद्यार्थीलाई पठनपाठन गराइरहेका छन् । यस शैक्षिक सत्रको अन्तिम परीक्षा आउनै लाग्दा पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक नपाउँदा विद्यार्थी के पढ्ने, कसरी परीक्षा दिने भन्ने अन्योलमा छन् ।
शिक्षकले पढाएको कुरालाई मात्र विद्यालयमा बुझेर उपलब्धि हासिल गर्न नसक्ने विद्यार्थीको गुनासो छ । नगरपालिकाले पाठ्यपुस्तक बनाएर विद्यालयमा पु¥याउन नसक्दा शिक्षकले पढाएका आधारमा मात्र कसरी परीक्षामा राम्रो अङ्क ल्याउन सकिन्छ भन्ने चिन्तामा विद्यार्थीहरू रहेका छन् । कक्षा छ देखि आठ सम्म पढाई भइरहेको पर्यटन नामक स्थानीय पाठ्यपुस्तक हटाएर कक्षा एक देखि आठ सम्म ‘इलामको सेरोफेरो’ नामक पाठ्यक्रम तयार बनाए पनि पुस्तक दिन नसक्दा शिक्षकले भनेकै भरमा परीक्षा दिनुपर्दा विद्यार्थी चिन्तित छन् ।
स्थानीय पाठ्यक्रम लागु गर्ने भनेर सुरु गरे पनि अहिले सम्म पाठ्यपुस्तक छाप्न सकेको छैन । परीक्षाको मुखमा विद्यार्थीको हातमा पुस्तक छैन । पुस्तकबिना पढाइ कसरी प्रभावकारी होला र ?’ सबै विद्यालयमा शिक्षकहरूले पाठ्यपुस्तकबिना नै कक्षा सञ्चालन गरेका छन् । त्यसकै आधारमा विद्यार्थीले परीक्षा दिनुपर्ने बाध्यता रहेको शिक्षक बताउँछन् । शैक्षिक सत्रको अन्तिममा आइपुग्दा कक्ष एक देखि तीन सम्मको बाहेक पाठ्यपुस्तक तयार हुन सकेको छैन ।
इलाम नगरपालिका शिक्षा शाखा प्रमुख राधिका घिमिरेले शिक्षकले पाठ्यक्रम हेरेर पढाउने हो । पाठ्यपुस्तक नभए पनि फरक पर्दैन । ‘पाठ्यक्रममा सबै कुरा हुन्छ । शिक्षकलाई पाठ्यपुस्तक चाहिने होइन, विद्यार्थीलाई चाहिने हो । उनीहरूले पाठ्यक्रम हेरेर राम्रोसँग पढाउने हो भने किताब नै चाहिँदैन । पाठ्यक्रम दिइसकेको छ त्यही पाठ्यक्रमका आधारमा शिक्षकले पठाउनु पर्ने बताइन । शिक्षकलाई पाठ्यक्रम भएपछि खोजेर पढाउनुपर्छ र अहिले पढाई पनि भइरहेको छ । पाठ्यक्रम भएपछि परीक्षाको तयारीका लागि समस्या नहुने उनको तर्क छ ।
कक्षा तीन सम्मको पुस्तक वितरण भइसकेको र कक्षा चारको किताब छपाईमा गएको र पाँच कक्षाको किताब तयारी भइरहेको उनको भनाइ छ । ‘पाठ्यपुस्तक तयार गर्न २५ जना विज्ञबाट काम भइरहेको छ, घिमिरेले भनिन्, ‘पुस्तकको काम छिटो होस भनेर अवकाश भएका शिक्षकहरूलाई प्रयोग गरिएको छ र उहाँहरूबाट मस्यौदा आएपछि नगरपालिकामा खडानन्द अधिकारीको संयोजकत्वमा बनेको समितिले फाइनल गर्ने छ ।’ कक्षा चारको पाठ्य पुस्तक छपाइमा गइसकेको र चैतसम्ममा पाँच कक्षाको पनि तयारी गर्ने गरी लागिरहेको भन्दै अगामी असार सम्ममा सबै पाठ्यपुस्तक तयारी भइसक्ने उनले बताइन् । स्थानीय सरकार सञ्चालन ऐनमा अनिवार्य स्थानीय पाठ्यक्रम बनाएर पुस्तक छाप्नुपर्ने उल्लेख छ । ऐन अनुसार स्थानीय पाठ्यक्रम तयारी भएर पनि समयमा पुस्तक तयार हुन नसक्दा परीक्षाको मुखमा पसिन विद्यार्थीले पुस्तक देख्न पाएका छैनन् ।
इलाम नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गर्दा नौ वटा क्षेत्रलाई समेटेर तयार गरेको जनाएको छ । नगरपालिका शिक्षा शाखाका अनुसार पाठ्यक्रम तयार गर्दा पालिकाको भौगोलिक, राजनैतिक ,जनसङ्ख्या, प्राकृतिक सम्पदा, वातावरण संरक्षण, जात जाती, भाषा, धर्म कला, पेसा , व्यवसाय, आर्थिक, पोषण, स्वास्थ्य सरसफाइ खेलकुद, सुरक्षा विपद् व्यवस्थापन, सामाजिक सुरक्षा, नैतिक मूल्य मान्यता र सामाजिक व्यक्तित्व, कम्प्युटर, पर्यटन र जीवन उपयोगी सिपलाई समेटेर पाठ्यक्रम तयार भएको छ । नगरपालिकाले पाठ्यक्रम तयार गरे पनि पुस्तक तयारीमा दिलाई हुँदा शैक्षिक सत्रको अन्त्यमा पनि विद्यार्थीहरु किताब नदेखी परीक्षा लेख्न बाध्य छन् ।




























