शिवशताक्षी,

नयाँ वर्षलाई स्वागत गर्ने परम्परागत शैलीभन्दा पृथक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले झापाको शिवशताक्षी नगरमा विशेष कार्यक्रमसहित नयाँ वर्ष मनाएको छ।
धार्मिक आस्थासँगै सामाजिक उत्तरदायित्व जोड्दै, पार्टीले पौराणिक महत्त्व बोकेको शताक्षीधाममा पुगेर धार्मिक दर्शन, अध्ययन अवलोकन तथा स्थानीय विषयवस्तुमा चासो व्यक्त गर्यो।
नवनिर्वाचित नगर समितिका सभापति गंगाराम कडरियाले नेतृत्व गरेको टोलीले सोमबार शताक्षीधाममा दिगम्बेश्वर महादेवको दर्शन गरेर नयाँ वर्षको सुरुवात गर्यो।
“पुराना पार्टीहरूजस्तो परम्परागत शैलीमा हामी किन नयाँ वर्ष मनाउने?” सभापति कडरियाले भने, “हामी नयाँ सोच र नयाँ दृष्टिकोणका साथ अघि बढिरहेका छौं। त्यसैले नयाँ वर्षलाई नयाँ ढंगले मनाएका हौं।”
शताक्षीधाममा पछिल्लो दशकमा भएका विकास निर्माण कार्यहरू अवलोकन गर्दै पार्टीले बाँकी पूर्वाधार निर्माण योजनाहरूलाई समेत नजिकबाट नियालेको छ। यसै क्रममा पार्टी पदाधिकारीहरूले धार्मिक क्षेत्रमा देखिएका चुनौतीहरूबारे समेत जानकारी लिएका छन्।

स्थानीय उत्पादनमा आधारित अर्थतन्त्रप्रति चासो देखाउँदै पार्टी टोलीले गोलोक गोवर्धन गौशालामा उत्पादन हुने अर्गानिक मल, गौअर्क लगायतका सामग्रीको बजारीकरणका सम्भावना र चुनौतीबारे गौशालाका अध्यक्ष नन्दकिशोरसँग अन्तरक्रिया गर्यो। अध्यक्ष नन्दकिशोरले उपलब्ध अवसरहरू र वर्तमान चुनौतीबारे विस्तृत जानकारी पार्टीका नेता कार्यकर्तालाई दिएका थिए।
कार्यक्रममा बोल्दै सभापति कडरियाले नयाँ नेतृत्वले पार्टीका राम्रा अभ्यासलाई निरन्तरता दिँदै अघोषित गलतिहरू नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरे। “नयाँ टिम नयाँ ऊर्जा र उत्साहका साथ अघि बढ्नेछ,” उनले भने।
सो अवसरमा पार्टीका कोशी प्रदेश सदस्य पदम पाठक, झापा जिल्ला सचिव शम्भु ढकाल, क्षेत्रीय सभापति लीलामाया बस्नेत घिमिरे, उपसभापति मनबहादुर बिक, संस्थापक अध्यक्ष तुलसीराम खनाल, दीपा आचार्य दवाडी लगायत नेताहरूको उपस्थिति रहेको सचिव पूर्णप्रसाद लकान्द्रीले जानकारी दिए।


























