विनोद सापकोटा,
झापा ।

वर्षा सुरु हुने बित्तिकै जंगल र बारीका छेउछाउ च्याउ उम्रिन थाल्छन्। देख्दा आकर्षक लाग्ने यी च्याउहरू धेरैका लागि ‘सजिलो सस्तो खाना’ बनेका छन्। तर, यिनै च्याउ खाने बानीले हरेक वर्ष देशका विभिन्न ठाउँमा ज्यान जाने घटना दोहोरिइरहेको छ। चिकित्सकहरू भन्छन्— अज्ञात च्याउको सेवन, विष सेवनकै अर्को नाम हो।
च्याउ वास्तवमा एक प्रकारको फफूँद हो, जसले जैविक वस्तु, सडेगलेका बोटबिरुवा वा माटोबाट पोषण लिन्छ। संसारभर हजारौं प्रजातिका च्याउ पाइन्छन्, जसमा केही मात्रै मानव उपभोगका लागि उपयुक्त छन्। बाँकी अधिकांश च्याउ विषालु हुन्छन्। यिनै विषालु च्याउले गर्दा देशका विभिन्न स्थानमा मानवीय क्षति भइरहेकाले विज्ञहरूले अत्यधिक सतर्कता अपनाउन आग्रह गरेका छन्।
इलाममा पछिल्ला दुई दिनमा मात्रै च्याउ खाएर एकजनाको मृत्यु भएको छ भने पाँचजना बिरामी परेका छन्। माङसेबुङकी १७ वर्षीया युवती नुमा लावतीको उपचारका क्रममा विराटनगरमा निधन भयो। उनीसहित तीनजनाले जंगलबाट ल्याएको अज्ञात च्याउ खाएका थिए। अर्कोतर्फ, इलामकै चुलाचुली गाउँपालिकामा आमा–छोरी बिरामी परेका छन्। उनीहरूले आफ्नै बारीमा उम्रिएको च्याउ खाएका थिए।
यसअघि पनि कोशी प्रदेशमा यस्ता घटना दोहोरिएका छन्। २०७९ सालको जेठ २८ गते ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–७ फुलवारी टोलमा एकै घरका चार सदस्यले बारीमा उम्रिएको च्याउ खाँदा दुईजनाको मृत्यु भएको थियो। २४ वर्षीया ढक कुमारी बिष्टको मिसन अस्पताल ओखलढुङ्गामा र ९३ वर्षीया मनमाया बिष्टको काठमाडौँ टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको वीर अस्पतालका डाक्टर गौरव ढकालले बताए।
वीर अस्पताल काठमाडौंका फिजिसियन डा. गौरव ढकाल भन्छन्, ‘अज्ञात च्याउको सेवन विष सेवनकै अर्को नाम हो। विषालु च्याउले लिभर, मिर्गौला र स्नायुतन्त्रमा गम्भीर क्षति पुर्याउँछ। कतिपय च्याउको विष सेवनपछि ६–२४ घण्टासम्म पनि लक्षण नदेखिने हुँदा उपचारमा ढिलाइ भई मृत्यु हुने सम्भावना उच्च हुन्छ।”
स्थानीय बासिन्दा डम्बरबहादुर दाहाल भन्छन्, “हेर्दा सुन्दर लाग्छ । खाँदा स्वाद आउँछ । अरुबेला पनि च्याउ खाएकै हो। त्यही भएर खेतबारी अथवा जंगलतिर उम्रिएका च्याउहरू खोजेर ल्याएर पकाएर खाने गरेका छौं। मान्छेको ज्यानै जाँदो रहेछ। यो चाहिँ थाहा थिएन।’
यस्ता घटनापछि इलाम प्रहरी प्रशासनले अज्ञात च्याउ नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। स्थानीय सरकारहरूले पनि चेतनामूलक सन्देश फैलाइरहेका छन्। तर चेतावनीको पालना नहुँदा वर्षेनी यस्ता दुःखद घटना दोहोरिरहेकै छन्।
च्याउ सजिलो खाना मात्र होइन, सानो गल्तीमा ज्यानै लिने घातक बस्तु पनि हुन सक्छ। त्यसैले, च्याउबारे यथेष्ठ ज्ञान र विशेषज्ञको सल्लाह बिना उपभोग गर्नु मृत्युको निम्तो दिनुजस्तै भएको जानकार बताउँछन्।





























