युद्धबहादुर बोहोरा,
इलाम ।

कृषिमा दिगो विकास र आधुनिक प्रविधिको प्रयोग मार्फत फाकफोकथुम गाउँपालिका कृषि क्रान्तिको नयाँ मोडतर्फ ऊन्मुख बन्दैछ ।
विभिन्न कृषि सहकारीहरू र स्थानीय किसानसँग सहकार्य गर्दै पालिकाले बहुपक्षीय कृषि परियोजनाहरू सञ्चालनमा ल्याएको छ । यस्ता प्रयासहरूले उत्पादन बढाउनुका साथै स्वरोजगार र उद्यमशीलताको वातावरण समेत सिर्जना गरिरहेको छ । पालिकाको प्रयास आधुनिक कृषि, साझा समृद्धिलाई अगाडि बढाउने प्रयत्न गरिरहेको पालिका अध्यक्ष दिपेन्द्र खनालले बताए ।
फाकफोकथुम–२ कोल्बोटेमा २०६४ सालमा स्थापना भएको नविकरण कृषि सहकारी संस्था हाल पाँच सय ९५ जना शेयर सदस्यसहित सञ्चालनमा छ । यस सहकारीले बचत तथा ऋणका माध्यमबाट हालसम्म चार करोड पूँजी संकलन गरेको छ । अध्यक्ष देउबहादुर राईका अनुसार यस वर्ष संस्था प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ‘तरकारी पकेट विकास कार्यक्रम’मा सामेल भएको छ ।
पालिका अनुदान १२ लाख र संस्थाको साझेदारी १२ लाख गरी २४ लाख लागतमा एक सय ४० रोपनी क्षेत्रफलमा काँक्रो, गोलभेंडा, सिमी, करेला, मुला, काउली जस्ता उन्नत जातका तरकारीहरू खेती गरिएको छ ।
उपकरण र पूर्वाधार वितरण : यान्त्रिकीकरण तर्फ अघि बढ्दै
कृषि कार्यलाई सहज बनाउन पालिकाले सातवटा मिनि टिलर, १८ वटा अरबाना, ६० वटा क्यारेट, ९० वटा हजारी, चार हजार एक सय मिटर पाइप, १० वटा स्प्रे ट्याङ्की, छ रोल ग्रीन नेट र ४० वटा मुत्र ट्याङ्की वितरण गरेको छ । किसान राजु थापा अनुसार उत्पादनले बजार समेट्न थालेको छ भने साप्तिन क्षेत्रका युवाहरू सामूहिक खेती मार्फत आत्मनिर्भर बन्दै छन् ।
दिदीबहिनी कृषि सहकारी : महिलाद्वारा सञ्चालित पशुपालन कार्यक्रम
२०६३ सालमा स्थापित दिदीबहिनी कृषि सहकारी संस्था फाकफोकथुम–६ र ७ मा क्रियाशील छ । महिलामात्रको सहभागिता रहेको यस संस्थामा चार सय १५ जना शेयर सदस्य छन् ।
अध्यक्ष भद्रकला खड्काका अनुसार एक करोड ५० लाख पुँजी रहेको सहकारीले पालिकाको अनुदान १२ लाख र संस्थाको ११ लाख ६४ हजार साझेदारीमा ‘गाई पकेट विकास कार्यक्रम’ अन्तर्गत २३ लाख ६४ हजारको लागतमा गाई वितरण, गोठ सुधार, च्यापकटर वितरण जस्ता कार्यक्रमहरू सञ्चालन गरेको छ ।
गाई पाउने किसान दिपक राई, मोटरसहित च्यापकटर पाउने प्रेमकला घिमिरे र गोठ सुधार कार्यक्रम पाएका नेत्र अधिकारीले आफूहरूका लागि कार्यक्रमले ठूलो राहत र आत्मबल दिएको बताएका छन् ।
अलैंची खेतीतर्फ दीर्घकालीन सोच
फाकफोकथुम–६ मेतालुङमा रहेको असल कृषि सहकारी संस्था ‘अलैंची पकेट विकास कार्यक्रम’मा सहभागी छ । संयोजक मनबहादुर थापाका अनुसार पालिकाको १२ लाख र संस्थाको साझेदारी १२ लाख गरी २४ लाखको लागतमा एक सय ४० रोपनीमा उन्नत जातका अलैंचीका बिरुवा रोपिएको छ । किसान डिकबहादुर थापा र व्यवस्थापक नरेन्द्रकुमार थापा अनुसार यो दीर्घकालीन आम्दानीको भरपर्दो आधार बन्ने विश्वास गरिएको छ ।
पशुसेवा पूर्वाधार निर्माण : भेटनरी अस्पताल
गाउँपालिकाले आमचोक केन्द्रमा पाँच रोपनी जमिनमा आधुनिक भेटनरी अस्पताल निर्माण कार्य अघि बढाएको छ ।
अस्पतालमा कर्मचारी कक्ष, स्टोर, सभाकक्षसहित कृत्रिम गर्भाधान, बन्ध्याकरण, उपचार, परामर्श, गोबर परीक्षण, प्रयोगशाला, पोष्टमार्टम लगायतका सेवा सुविधा उपलब्ध हुने जनाइएको छ ।
गाउँपालिका अध्यक्ष खनालले कृषि आत्मनिर्भरता र आर्थिक समृद्धिको मेरुदण्ड भएको बताए । उपाध्यक्ष कल्पना राईले महिलाको सहभागिता र युवाको उत्साहले कृषि क्षेत्रमा नयाँ ऊर्जा थपिएको बताइन् ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले प्रक्रिया र मापदण्ड पुगेका कृषि सहकारीलाई छनौट गरेको बताए । कृषि शाखा प्रमुख अनिता बनमाला र पशुशाखा प्रमुख पर्शुराम अधिकारीले पालिकाबाट प्रकाशित सूचनाका आधारमा तीन वटा संस्थाले हाल कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
फाकफोकथुम गाउँपालिकाले कृषिमा गरेको लगानी, नीतिगत सहयोग र सहकारीहरूसँगको साझेदारीले स्थानीय स्तरमै रोजगारी सिर्जना, उत्पादन वृद्धि र उद्यमशीलताको मार्ग खोलेको स्थानीयको भनाइ छ ।































