विनोद सापकोटा
शिवसताक्षी, गुरु पूर्णिमाको अवसरमा झापाको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा विद्यार्थीहरूले आत्मीयता र संस्कारसहित आफ्ना शिक्षकहरूप्रति सम्मान प्रकट गरेका छन् ।
विद्यालयको युवा रेडक्रस सर्कल र बाल क्लबको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले आफ्ना गुरुहरूलाई मिष्ठान्न भोजन, फूलमाला, खादा र हस्तलिखित कार्डमार्फत सम्मान गरे ।
उनीहरुले सम्मान मात्र गरेरनन् ‘गुरु ब्रह्मा, गुरु विष्णु…’ भजन मा गुरुको आरती समेत गरे । बाल क्लब अध्यक्ष विराज लामगादेले कार्यक्रम सञ्चालन गर्नुका साथै ‘गुरु ब्रह्मा, गुरु विष्णु…’ श्लोक लयबद्ध रूपमा गाएर कार्यक्रममा आध्यात्मिक भावनाको समावेश गरेका थिए ।

विद्यालयकै रेडक्रस सर्कलकी अध्यक्ष अन्शिका राई कार्यक्रमको औपचारिक अध्यक्ष बनेकी थिइन् । दुई वटा संस्था आयोजक भएका हरेक कार्यक्रममा को अध्यक्ष को संचालकहुने भन्ने विवाद विद्यार्थीको कार्यक्रममा हुन पाएन । किनभने यो कार्यक्रम नितान्त विद्यार्थीले आयोजना गरेको कार्यक्रम हो ।
अतिथिहरूलाई स्वागत गर्न विद्यार्थी दीपिका अधिकारी र निशा सुवेदीले रुद्राक्षको माला लगाइदिएका थिए । विद्यालयकी विद्यार्थी तथा युवा रेडक्रस सर्कलकी सचिव खुसी अधिकारीले कार्यक्रममा सहभागि हुन आएका अतिथिलाई शव्दमा दमदार स्वागत गरेकी थिइन् । उनले स्वागत मन्तव्यमार्फत गुरु, आमा र बाबालाई साक्षात् भगवानको स्वरूपका रूपमा चित्रण गरिन ।

कार्यक्रमलाई गरिमामय बनाउन वडा नम्बर ११ का अध्यक्ष बहादुर आङ्बोले १ हजार ५ सय र शिवसताक्षी नगरपालिकाले ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए । कुल ६ हजार ५ सय रुपैयाँमा कार्यक्रम सम्पन्न गर्ने योजना बनाइए पनि खर्च बढी भएपछि सम्पन्न घरपरिवारका विद्यार्थीहरूसँग प्रति विद्यार्थी ५० रुपैयाँका दरले सहयोग संकलन गरिएको थियो । यसरी १ हजार रुपैयाँ थप संकलन गर्दै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरिएको थियो । विद्यार्थीहरूले आफ्ना गुरुहरूलाई फूलमाला, खादा, अबिर र ‘हेप्पी टिचर्स डे’ लेखिएको हस्तलिखित कार्डसहित रुद्राक्ष माला अर्पण गर्दै सम्मान गरेका थिए । कार्डभित्र एउटा कलम पनि राखिएको थियो ।
कार्यक्रममा सहभागी शिक्षकहरूलाई विद्यार्थीले आफ्नै हातले पकाएको पुलाउ, अचार, फलफूल लगायत मिष्ठान्न परिकार खुवाएका थिए । कतिपय शिक्षकहरूले “आज त घरमा खाना नपकाउनु है, विद्यार्थीले पकाएको खाना खाइन्छ” भन्दै हर्ष व्यक्त गरेका थिए । कार्यक्रमको विशेष आकर्षणमध्ये एक कविता वाचन थियो । कक्षा ९ की विद्यार्थी सन्ध्या कर्णले ‘शिक्षक’ शीर्षकको कविता वाचन गर्दा उपस्थित सबै स्तब्ध भएका थिए ।

कविताले शिक्षकको कर्म, समर्पण र धैर्यताप्रतिको भाव उजागर गरेको थियो । कार्यक्रममा नगर प्रमुख मेगाहाङ थोप्रा, नगर शिक्षा अधिकृत छवि ढकाल, विद्यालयका प्रधानाध्यापक गिरिराज शेर्मा, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष महेन्द्र भट्टराई, रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखाका अध्यक्ष गोविन्द काफ्ले लगायतको उपस्थिति थियो । कार्यक्रममा सहभागिता जनाएका अतिथि तथा शिक्षकहरूले विद्यार्थीहरूको सृजनशीलता, आत्मीयता र संस्कारप्रतिको भावनाको खुलेर प्रशंसा गरे । नगर प्रमुख थोप्राले राष्ट्रिय रमणीय आदर्श माद्यमिक विद्यालयका विद्यार्थीहरूबाट अन्य विद्यालयका विद्यार्थीले पनि यस्ता कार्यक्रम सिक्नुपर्ने बताए ।

विद्यालयमा अध्ययनरत विद्यार्थी सामान्य क्षमताका भए पनि उनीहरूले संस्कार, व्यवहार र परम्परालाई आत्मसात् गर्न सकिरहेका छन्, जसको श्रेय शिक्षकमै जान्छ । यसरी विद्यार्थी र शिक्षकबीचको आत्मीय सम्बन्धलाई सुदृढ बनाउने यो कार्यक्रमले सानो बजेटमा पनि गरिमामय कार्यक्रम सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । विद्यालयका पूर्व प्रधानाध्यापक कालीप्रसाद रजालले विद्यार्थीहरूले दिएको सम्मान आफूले पु¥याएको योगदानप्रतिको सच्चा मूल्याङ्कन भएको प्रतिक्रिया दिए ।





























