लक्ष्मी नारायण सहकारीको ठगी धन्दा : अनुगमनविनै ऋण लगानी,स्वरोजगार कोषको पनि देखियो बेइमानी

0
145

झापा । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको युवा तथा साना ब्यबसायी स्वरोजगार कोषले झापाका धेरै सहकारीमा लगानी गरेको छ ।
जसमध्ये बाह्रदशी गाउँपालिका–५स्थित लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्थामा समेत कोषले ५० लाख रुपैयाँ लगानी ग¥यो । तर, सहकारीको अनुगमन, ऋणी सदस्यका विषयमा सामान्य जानकारी समेत नलिँदा सहकारीमा गरिएको लगानी दुरुपयोग भएको छ ।

  • झापास्थित कार्यालयका प्रमुख सापकोटाले सो सहकारीमा गरिएको लगानीका विषयमा आफूलाई धेरै कुरा थाहा नभएको र आफ्नो काम कर्जा असुली मात्रै भएकाले थप विषयमा जानकारी चाहिए केन्द्रीय कार्यालयमा सम्पर्क गर्न भनेका छन् । तर, उनले लक्ष्मीनारायण सहकारी संस्थामा ऋण मिलाई दिए वापत चार लाख रुपैयाँ कमिशन लिएको उनीमाथि आरोप छ ।

देवेन्द्र बस्नेत अध्यक्ष रहेको सहकारीमा लगानीका लागि शुरुमा कोषकी अधिकृत विमला थापा मगर, लोकबहादुर खड्का सहितको टिमले अनुगमन गरेको थियो । अनुगमन समितिको प्रतिवेदनका आधारमा कोषले पहिलो किस्ता वापतको २५ लाख रुपैयाँ लगानी गरेको देखिन्छ । पहिलो किस्ताको रकम नै दुरुपयोग भएको भन्दै सहकारीका पदाधिकारीसहितले आपत्ति जनाउँदा–जनाउँदै कोषले पुनः दोस्रो किस्ता लगानी गरेको छ । दोस्रो किस्ता लगानीका लागि कोषले अनुगमन गर्नुपर्ने हुन्छ ।

  • गाउँपालिकाले सहकारीलाई जरिवाना गराएपछि पुनः खाता फुकुवाको पत्र बैंकलाई पठाएको थियो । सोही आधारलाई टेकेर झापास्थित कार्यालयका प्रमुख सापकोटाको सेटिङमा तत्कालै कोषबाट रकम लिएको बताइएको छ ।

अनुगमन समितिले तयार पारेको प्रतिवेदनका आधारमा लगानी गरिएको रकम सदुपयोग भएको खण्डमा मात्रै दोस्रो किस्ता लगानी गर्नुपर्ने हुन्छ । तर, कोषबाट आएको अनुगमन समिति फिल्डमा नगई बिर्तामोडस्थित एक होटलमा बसेर प्रतिवेदन तयार पारेको श्रोतको दावी छ । जसको तारतम्य मिलाइ दिएका थिए युवा स्वरोजगार कोष झापाका प्रमुख सन्तोष सापकोटाले । श्रोत भन्छ– जसबापत उनले चार लाख रुपैयाँ लिएका छन् । अनुगमनका लागि आएको टोलीलाई सहकारीका अध्यक्ष बस्नेतले इलाम घुम्न लगेको र फिल्डमा नै नगई प्रतिवेदन तयार पारिएको स्रोतको दावी छ ।

बेरोजगार युवाहरुलाई कृषि, पशुजन्य, साना तथा सेवामूलक व्यवसाय सञ्चालन गरी आय–आर्जन वृद्धिमा सहज बनाउन प्रतिव्यक्ति न्यूनतम् ३० हजारदेखि दुई लाख रुपैयाँसम्म लगानी गर्ने गरी सहकारीसंग कोषले सम्झौता गरेको थियो । सो सम्झौता बमोजिमको काम नभएपछि सहकारीका सञ्चालक समितिले नै आपत्ति जनाएका थिए ।

यस्तो अवस्थामा समेत कोषले लगानी गर्नु आफैंमा बद्नियत छ, पीडितमध्येका एक सदस्य झापा बाह्रदशी–३ राजगढका केशव बरालले भने– सहकारीमा आएको रकम दुरुपयोग हुनुमा कोषको पनि सम्लग्नता छ । ‘कोषले गरेको लगानी सदुपयोग भयो या भएन हेर्ने जिम्मेवारी झापास्थित कार्यालयको हो’– स्वरोगजार कोषकी अधिकृत विमला थापा भन्छिन्– हामी माथिबाट फिल्डमा जाँदा शतप्रतिशत अनुगमन गर्ने गरी आएका हुँदैनौ । त्यो हेर्ने जिम्मेवारी सम्वन्धित जिल्लालाई हुन्छ ।
झापास्थित कार्यालयले राम्रोसँग काम नगर्दा यो सहकारीमा समस्या देखिएको हो । यसमा हाम्रो मात्रै जवाफदेहिता हुँदैन झापास्थित कार्यालयको पनि हुन्छ– उनले भनिन् । कर्जा लिनका लागि युवा तथा साना व्यवसायी स्वरोगजार कोषमा सम्झौता गर्दा १७ जनालाई लगानी गरेको देखाइएको छ । जसमा सहकारीकातर्फबाट अध्यक्ष बस्नेत र आशिस कटुवालले हस्ताक्षर गरेका छन् । यता कोषका तर्फबाट अधिकृत विमला थापाले हस्ताक्षर गरेकी छिन् । जुन सहकारी संस्थामा लगानी गरिँदैछ, त्यो संस्थाको बारेमा नबुझी बिर्तामोडस्थित एक होटलमा बसेर प्रतिवेदन बनाएका कारण समस्या सृजना भएको पीडितमध्येका सदस्य प्रेम पौडेलको भनाइ छ ।

कर्जा लिन कोषको कार्यालयमा देखाइएका ऋणी

लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्थाले कोषबाट ऋण लिनका लागि १७ जना ऋणी देखाएको छ । उनीहरु मध्ये केही बाह्रदशी–४का छन् भने अन्य ऋणी सदस्य बाह्रदशी–५का  छन् ।


कोषको कार्यालयमा देखाइएका ऋणीमध्ये अञ्जना दाहाल, बिनोदलाल राजवंशी, नरबहादुर कार्की, बाशुदेव चौधरी, लालबहादुर श्रेष्ठ, हरिमाया कार्की, मिरा अधिकारी, पद्मा राया, कोपिला थापा, गीतादेवी राजवंशी, कान्छी ताजपुरिया, इन्द्रबहादुर राया, नितु राया, रञ्जित राया, अमृतसिंह कुर्मी, डिल्लीमाया कार्की, रोमबहादुर अधिकारी रहेका छन् । उनीहरु सबैलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँका दरले ऋण लगानी गरेको देखाइएको छ । उनीहरुलाई फरक–फरक मितिमा सहकारीले ऋण लगानी गरेको कर्जा फारम कोषको कार्यालयमा रहेको छ ।

ऋण लिनका लागि तयार पारिएको सञ्चालक समिति

कोषले लगानी गरेको पहिलो किस्ता वापतको २५ लाख रुपैयाँ दुरुपयोग भएको गाउँपालिकामा उजुरी परेपछि गाउँपालिकाले सहकारी संस्थालाई ११ हजार एक सय ११ रुपैयाँ जरिवाना गराएको थियो । सहकारीका पदाधिकारीले गरेको उजुरीका आधारमा गाउँपालिकाले सो सहकारीको बैंक खाता रोक्का समेत गरेको थियो । तर, गाउँपालिकाले सहकारीलाई जरिवाना गराएपछि पुनः खाता फुकुवाको पत्र बैंकलाई पठाएको थियो । सोही आधारलाई टेकेर झापास्थित कार्यालयका प्रमुख सापकोटाको सेटिङमा तत्कालै कोषबाट रकम लिएको बताइएको छ ।

पुरानो समितिका सदस्यसहित केही पदाधिकारीले सहकारीबाट राजीनामा दिएपछि बस्नेतले पुनः समितिलाई पूर्णता दिएका थिए । सो समितिमा अध्यक्ष पदमा बस्नेत आफैं छन् । समितिको उपाध्यक्षमा वैजनाथ गणेश, सचिव कमलदीप नारायण गणेश, कोषाध्यक्षमा मिरा अधिकारी, सदस्यहरुमा मोहनकुमार किस्कू, देवनारायण कार्की, महिमादेवी कुर्मी रहेको उल्लेख छ । यता लेखा समितिमा संयोजकका रुपमा पुष्पप्रसाद खनाल छन् भने धनबहादुर राय, जयप्रकाश गणेश सदस्य रहेका छन् । त्यस्तै कर्जा उपसमितिमा बैजनाथ गणेश संयोजक र महिमादेवी कुर्मी, अप्सना खातुन सदस्य रहेका छन् । सञ्चालक, लेखा र कर्जा समितिमा रहेका पदाधिकारीलाई नियमत लगानी गर्न मिल्दैन । तर, कोषले यो जान्दजान्दै पनि कर्जा लगानी गरेको देखिन्छ पीडितमध्येका अर्का सदस्य वेदी संग्रौलाले भने– यो सरासर गलत छ ।
कोषको मिलेमतो नभए दोस्रो किस्ता लगानी गर्दा किन लगानी रोकिएन ? जोखिमपूर्ण ठाउँमा गरिएको लगानीका कारण हाम्रो समेत सम्पत्ति अहिले रोक्का छ, यसको जवाफ कसले दिने संग्रौलाले प्रतिप्रश्न गरे ।
यता झापास्थित कार्यालयका प्रमुख सापकोटाले सो सहकारीमा गरिएको लगानीका विषयमा आफूलाई धेरै कुरा थाहा नभएको र आफ्नो काम कर्जा असुली मात्रै भएकाले थप विषयमा जानकारी चाहिए केन्द्रीय कार्यालयमा सम्पर्क गर्न भनेका छन् । तर, उनले लक्ष्मीनारायण सहकारी संस्थामा ऋण मिलाई दिए वापत चार लाख रुपैयाँ कमिशन लिएको उनीमाथि आरोप छ ।

आफ्नै निर्णय आफैंलाई तगारो

सहकारी संस्थामा देखिएको विवाद मिलाउन गाउँपालिकालाई अहिले हम्मे– हम्मे परेको छ । २०७६ सालमा सहकारीमा आर्थिक अनियमितता भएको भन्दै सहकारीका सदस्यले उजुरी गरेका थिए । सोही उजुरीका आधारमा सहकारीको वैंक खाता रोक्का भयो ।
सहकारीका अध्यक्ष बस्नेतलाई जरिवाना गराइयो । सहकारीका सदस्यले संस्थाबाट राजीनामा दिएको प्रमाणित गरिदियो । तर, उनीहरुले गरेको सबै विषयको जानकारी युवा स्वरोजगार कोषमा नपठाउँदा तत्कालीन समयमा सहकारीमा आवद्ध सदस्य सहित पदाधिकारीको सम्पत्ति रोक्का भयो । अहिले उनै सदस्यले दिनहुँजसो गाउँपालिकाको सहकारी शाखामा धर्ना दिइरहेका छन् ।
गाउँपालिकाले जसोतसो उनीहरुलाई आश्वासन दिएर घर त पठाउँछ फेरि पनि समस्याको समाधान नआएपछि सहकारीबाट पीडित बनेका सदस्य पुनः गाउँपालिकामा धर्ना दिन पुग्छन् । दिनहुँजसो सदस्यले धर्ना दिएपछि गाउँपालिकाले यो विषयमा जिल्ला प्रशासन कार्यालय झापालाई जानकारीगराएको छ भने कोषको कार्यालयलाई समेत जानकारी गराएको छ ।
गाउँपालिकाले प्रदान गरेको पत्र लिएर अहिले सहकारी संस्थाबाट पीडित भएकामध्ये केही सदस्य कोषको कार्यालयमा पुगेका छन् भने केन्द्रीय अनुसन्धान व्यूरो सीआईवीमा समेत गएको बुझिएको छ । जहाँ सहकारी संस्थाका अध्यक्ष मात्र नभई कोषका केही कर्मचारीको फटाइँका कारण आफूहरुले सास्ती व्यहोर्नु परेको भन्दै उजुरी गरेका छन् । उनीहरुले कोषको रकम दुरुपयोग गर्ने र आफूहरुको सम्पत्तिमाथि खेलवाड गर्नेलाई कानूनी कठघरामा ल्याउन आग्रह समेत गरेका छन् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here