संस्मरणात्मक कृति ‘प्रेमयात्रा’

0
80

‘मैले शिक्षादिक्षा दिएका ती हजारौं विद्यार्थी सबै मेरा सन्तान झैं प्यारा छन् । मेरा लागि ती आफ्ना हातका सबै औंला बराबरी हुन् । जुन औंलामा चोट लागे पनि दुख्छ । मैले सक्रिय आयुको ४५ वर्ष अरुको किताब पढाएँ अनि जीवनको उत्तराद्र्धमा तिनै अनुभवहरुलाई समेटेर आफ्नै किताब तयार गरी तपाइँहरुको हातमा सुम्पिएको छु ।’ – यस कृतिका ९५ वर्षीय ज्येष्ठ सर्जकको उद्गार ।

इलामको ग्रामीण परिवेशमा एउटा निम्न मध्यम वर्गीय परिवारमा जन्म लिएर पाँच पुस्तासम्म देख्ने भाग्यमानी, परिश्रमी, कर्मठ व्यक्तित्व प्रेमप्रसाद निरौलाको जीवन आरोह अवरोहलाई मूलतः आफ्नै डायरीका स्मरणहरु संगालेर यो पुस्तक तयार गरिएको छ । पढ्न लेख्न असाध्यै रुची राख्नुहुने हामी सबैका अग्रज अभिभावकले आफ्नो करिब एक शताब्दीको जीवन भोगाइ, अनुभव, घटना, ज्ञान तथा विभिन्न सन्दर्भमा लिपिमा सुरक्षित पारिएका एवम् स्मरणमा रहेका घटनाहरुलाई यस पुस्तकमा चाखलाग्दो तरिकाले प्रस्तुत गरिएको छ । यस पुस्तकबाट जीवनको लामो कालखण्डमा उहाँको संघर्ष, यात्रा र सतकर्मसहितको जीवनदर्शन झल्कन्छ । यसरी यस कृतिका प्रकाशक विनोद निरौलाका उद्गारहरु प्रकाशकीयमा समेटिएका छन् ।

सीमावर्ती दार्जिलिङ्गमा सरकारी र मिसनरी स्कूल सञ्चालन भइसक्दा पनि इलाममा शिक्षाको पहुँच थिएन मात्र होइन विद्यालय खोज्नु नै दण्डनीय अपराध मानिन्थ्यो । जतिबेला प्रेमसरले नामसालिङ्मा शिक्षण शुरु गरे, त्यति बेला लुगाफाटो, नुन मट्टीतेल बाहेक अरु कुरामा गाउँ झण्डै आत्मनिर्भर थियो । तर, ग्रामीण जीवन औधी संघर्षपूर्ण र कठोर थियो । अठारघण्टा श्रम गर्दा मात्र अनिकाल टार्न सकिने त्यस समयको ऋणात्मक आर्थिक अवस्थाबाट जीवन शुरु गरेर समाजमा प्रतिष्ठित शिक्षक बन्न सक्नु असाधारण कर्म हो । रेडियोसम्म नदेखेका इलामेहरुको हातहातमा मोबाइल र इन्टरनेट देखे प्रेम सरले । एउटा पनि शिक्षण संस्था नभएको नामसालिङमा अहिले, औँला भाँचेर आठ वटा स्कूल गनेर पु¥याउँछन् प्रेम सर । लेप्चा मुखियाले चलाउने ठिंग्रो मुंग्रो देखेका प्रेमसरले संघीय शासन स्वरुपको स्थानीय स्वायत्त शासन भोगेका छन् ।

राणाकालदेखि गणतन्त्रकाल भोगेका छन् । अट्ठाईस साल र पचासको दशकका आतंकलाई मनमनै हुर्काएका छन् । पटक–पटक गरेर राज्यका सातवटा संविधान मानेर आफ्ना शरीर, मन, मस्तिष्कलाई ९५ वर्षसम्म धानेका छन् प्रेम सरले । राणाकालमा विद्यालय स्थापना र सञ्चालनमा अथक र सफल प्रयास गर्ने प्रेरक व्यक्तित्व प्रेमप्रसाद निरौलाको जीवनी समेट्ने शैक्षिक, सामाजिक, व्यक्तिगत र पारिवारिक अनुभवका लेखहरु कृतिको पहिलो खण्डमा समेटिएका छन् । यसका लेखक स्वयम् प्रेमसर नै हुन् । सम्पादकको तर्फबाट गणेश निरौलाका यी शब्दहरुबाट पनि जान्न सकिन्छ कि, यस कृतिको गहनता ।

प्रेम यात्रा लेख्ने सर्जक प्रेमप्रसाद निरौलाकै शब्दमा जानौं यो पुस्तक जन्मनुको कारण । यस पुस्तकमा समेटिएका कुराहरु मेरा जीवन भोगाइका अनुभवहरु हुन् । विगतबाट अनुभव लिएर वर्तमानमा रमाउनु नै सुखी जीवन हो भन्ने मैले ठानेको छु । यहाँ उल्लेख गरिएका सबै घटना र सन्दर्भलाई सापेक्षतामा हेर्न सकियो भने मात्र यथार्थ हुनेछ भन्ने विश्वास पनि लिएको छु । म शिक्षक थिएँ र हुँ । गोजीमा कलम र टेवलमा खाली कपी देख्ने बित्तिकै केही न केही लेख्छु । यो कथा र व्यथा म एक्लैका होइनन् । यसमा परिवारको भूमिका ठूलो छ । मृत्यु त अवश्यम्भावी छ, तर मृत्युपश्चात पनि प्राप्त हुने अमरत्वलाई अक्षरमा साँचौं भनेर पनि यो प्रयोग गरेको हुँ । जीवनमा आएका अप्ठ्याराहरु बीच पनि मैले क्षितिजमा चाँदीको घेरा जहिल्यै देखिरहेँ । मैले सक्रिय आयुको ४५ वर्ष अरुको किताब पढाएँ, अनि जीवनको उत्तराद्र्धमा तिनै अनुभवहरुलाई समेटेर आफ्नै किताब तयार गरी तपाइँहरुको हातमा सुम्पिएको छु । यसरी यो कृति जन्मनुको कारण स्रष्टाका शब्दबाट जान्न सकिन्छ ।

वि.संं. १९८८ भाद्र २८ मा नामसालिङमा जन्मेका । प्रारम्भिक शिक्षा स्व–अध्ययन, प्राथमिक शिक्षा मिरिकमा । २००५ सालदेखि शिक्षण सेवा शुरुगरी लाखौं विद्यार्थीहरुलाई विद्याको उज्यालो बाँडेका र २०४९ मा सेवानिवृत्त भएका हाल बुद्धशान्ति–१ झापा निवासीका रुपमा ९५ वर्षको उमेरमा पनि अध्ययन र लेखनमा सक्रिय देखिन्छन् । पुस्तकको पहिलो खण्ड ९८ पृष्टसम्म कृतिकार प्रेमप्रसाद निरौलाका जीवनी उनकै शब्दहरुमा समेटिएका छन् । त्यहाँदेखि पारिवारिक लेख खण्ड पृष्ट १५६ सम्म १८ जनाको लेखहरु समेटिएका छन् । अन्त्यमा परिशिष्टसहित २०८ पृष्टसम्ममा लेखहरु समेटिएका छन् र त्यसपछि पारिवारिक तथा विभिन्न अवसरमा खिचिएका तस्वीरहरु छापिएका छन् । प्रेम यात्राका यात्रीको जीवनी (आफैंलाई चिहाउँदा, सपनामा पढाइरहेको हुन्छु, तीन पुस्तासँग सहचार्य, पहाडबाट तराई झर्ने प्रसव व्यथा, त्यो फिनसियो, अस्सी वर्षपछि सौरेनी पुग्दा, बुढेसकालमा घट्दो साथी शीर्षकदेखि सन्ततिलाई सन्देशसम्मका लेखहरुमा जीवनका उकाली–ओराली, सुख–दुःख, शिक्षासेवाका पवित्र कामहरुदेखि एक सरदर नेपालीले जिउने जीवनका यावत नालीबेली कहेका छन् कृतिकारले ।

प्रेम सरले लेखेका, दिवङ्गत आत्मालाई चिठी शिर्षकको रोचक सामग्रीको शुरुका केही शब्दहरु प्रस्तुत गर्छु, जसले गर्दा पूरै कृति पढ्ने रुची जाग्नेछ । ‘चिर स्मरणीय भार्या बालकुमारी निरौलालाई सर्वदा शुभ आशिष ! सम्झनाको पोको । हामी यहाँ आजका दिनसम्म कुशल छौं । त्यहाँ अदृश्य लोकमा आनन्दै बसेकी छौ होला । हामीले आजसम्म सुन्दै आएको स्वर्गको बसाइ रमाइलो होला । हामीलाई छाडेर गएको यति लामो समयमा सायद तिमीले हामीलाई बिस्र्यौ होला, तर म त सधैँ सम्झिरहेको छु ।’ हो, यस कृतिमा यस्तै–यस्तै प्रसंगहरु छन् । जसले पाठक वर्गमा प्रेरणा प्रवाह गर्दछन् त कतिपय लेखहरु कारुणिक छन् ।

पारिवारिक लेख खण्डमा, हाम्रा प्रेम दाजु, सत्यको धन हराउँदैन, अग्रगामी सोच भएका मेरा बा, सरलाई ससुरा भन्नुपर्दा, मेरा श्रद्धेय गुरु प्रेमप्रसाद, सदाबहार प्रेमसर, प्रेमसरको अभिनन्दनदेखि प्रेमप्रसाद निरौला एक जीवन्त प्रेरणा शिर्षकसम्मका लेखहरुमा यस कृतिकारका पारिवारिक आफन्तजनहरुका विचारहरु समेटिएका छन् । यस खण्ड अनुसार प्रेम सर, उबेलाको अभावग्रस्त ग्रामीण भेगमा शैक्षिक जग बसाल्दै आजको आधुनिक शिक्षाको जग समेत बसाल्ने, सामाजिक तथा नैतिक थिति बसाल्ने, ग्रामीण भेगमा एकता र सहयोगको भावना विकास गर्ने, अभावहरु बीच पनि आवश्यकताहरुमा मिलिजुली, बाँडीचुँडीको परिपूर्तिको संस्कृति बसाल्ने, राम्रा परम्परा जगेर्ना गर्ने, माथिल्ला निकायसम्मको सहयोग लिएर समस्याहरु सुल्झाउने समन्वय कला, क्षमता भएका बहुआयामिक अभिभावकत्व व्यक्तित्व हुन् प्रेम सर । पारिवारिक लेखहरुमा निकै घतलाग्दा, रोचक र जीवनमा आइपर्ने यावत कुराहरुका वर्णन गरिएका छन् ।

स्रष्टा शुभेच्छुक खण्डमा प्रकाशित लेखहरु अनुसार, प्रेमप्रसाद निरौला इलाम जिल्लाकै शैक्षिक जागरण र उन्नयनमा अथक योगदान, वैदिक, पौराणिक तथा अनौपचारिक शिक्षामा समेत विद्वान, शैक्षिक अभियन्ता र समाज सुधारक, शैक्षिक, सामाजिक र धार्मिक क्षेत्रमा योगदान, समाजका लागि पथप्रदर्शक, प्ररेक, उदाहरणीय व्यक्तित्व, सदाबहार, आधुनिक शिक्षाको समेत जग बसाल्ने, देशभित्र राजनीतिक उथलपुथल, द्वन्द्व तथा व्यवस्था परिबर्तन जस्ता जटिलता र प्रतिकूलताका बीच पनि आफ्नो ठाउँमा स्थिति राम्रो राख्न र शैक्षिक कार्यक्रम दुरुस्त रुपमा सञ्चालन गरिराख्नमा योगदान दिनसक्ने धैर्यता, मेलमिलापकला भएका, दक्ष जनशक्ति, कुलगुरु, जीवन्त पे्ररणा र समाजका मार्गदर्शक हुन् ।

अन्तरवार्ता खण्डमा आट वटा सामग्रीहरु समेटिएको छन् । यस खण्डमा प्रेससरबारे ज्येष्ठहरुसँगको कुराकानी समेटिएका छन् । वि.संं. १९८४ मा जन्मभएकी पार्वता खतिवडा नेपाल, १९८८ सालमा जन्मेका चिरञ्जीवी नेपाल, १९८९ मा जन्मेकी हर्षमाया प्रधान लगायत तीर्थराज नेपाल, रामप्रसाद घिमिरे, द्वारकाप्रसाद मित्तल, कुलबहादुर प्रधान र पं. बालकृष्ण चापागाँईका विचारमा प्रेमप्रसाद निरौला हँसिला, किर्तन लगायत सार्वजनिक समारोहमा सहभागिता, बयोबृद्ध, नामसालिङ्मा शैक्षिक जागरण र घुमाउने स्कूलका संस्थापक शिक्षक, त्यहाँका स्कूलका उत्पादनहरु देश–विदेशका विभिन्न ठाउँमा पुगेका र राम्रा काम गरेका, प्रेमसर स्मरणशक्ति भएका गजब्बका प्रतिभा, अग्लो शरीर, फुर्तिलो, जाँगरिलो र संस्कृतका समेत ज्ञाता, गुणी, समाज दर्शनमात्र होइन कमकाण्डमा पनि दक्ष, समाजका समस्या सुल्झाउन परामर्शदाता, नामसालिङ्लाई कर्मथलो बनाएर जीवनभर शिक्षा सेवा र समाजसेवामा समर्पित, मिजासिला, आशा र प्रेरणाका स्रोत, साथमा सधैँ कलम, लेख्न–पढ्न बडो मेहनती, तिक्ष्ण स्वभाव, दक्ष, गरीब अवस्थाबाट मेहनतले उठेका, गाउँका शिक्षित अभिभावक, नामसालिङ्मा औपचारिक शिक्षाको जग बसाल्ने र पुरेत्याइँदेखि ठूला यज्ञसम्म सम्पन्न गर्न सक्ने वैदिक ज्ञाता आदि विशेषताहरु भएका विद्वान हुन् प्रेम सर । थुप्रै मानसम्मान र पुरस्कारहरुबाट सम्मानित तथा पुरस्कृत स्रष्टा प्रेमप्रसाद निरौलाका प्रेरणाले ओतप्रोत कृति ‘प्रेमयात्रा’ अवश्य पढौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here