सुरुङ्गा।

शहिद डिल्ली गौतम स्मृति प्रतिष्ठानले ३१ ओं डिल्ली स्मृति दिवसको अवसरमा एसईई-२०८१ को नतिजामा उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ ।
प्रमुख अतिथि नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, विशिष्ट अतिथि उपप्रमुख आशा शर्मा शिवाकोटी र विशेष अतिथि संविधानसभा सदस्य अम्बिका खवास रहेको कार्यक्रम प्रतिष्ठानका अध्यक्ष रविन्द्र लम्सालको सभापतित्वमा भएको थियोे ।
एमाले नगर अध्यक्ष गोकर्ण ओझा, नेकपा एकीकृत समाजवादी नगर अध्यक्ष प्रतीक राजवंशी, रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष डिल्लीराम मैनाली, कनकाई नगरपालिका वार्ड नं. ३ का वार्ड अध्यक्ष युवराज चम्लागाईं, वार्ड नं. ६ का वार्ड अध्यक्ष लक्ष्मीप्रसाद ओली लगायतको आतिथ्य रहेको कार्यक्रममा एसईई-२०८१ मा झापा मेरिगोल्ड अङ्ग्रेजी मा वि का अङ्किता खनाल (३.९१ जीपीए), कन्काई मावि सुरुङ्गाका समान ३.८६ जीपीए ल्याउने प्रनिक तिवारी, प्रकृति न्यौपाने र रोहन सुवेदीलाई सम्मान गरिएको थियोे ।
विद्यालयहरूमा संस्थागततर्फ शतप्रतिशत नतिजा ल्याउने ग्लोबल एडुकेयर एकाडेमी, बेनुबाजा अङ्ग्रेजी मावि, पाथीभरा एकाडेमी लक्ष्मीपुर र फक्ताङ्लुङ फाउन्डेसन दुर्गापुर तथा सामुदायिक विद्यालयतर्फ सिंहदेवी मा वि (उत्तीर्ण प्रतिशत ८४%) लाई सम्मान गरिएको थियोे ।
कार्यक्रमका प्रमुख अतिथि पोखरेल, विशिष्ट अतिथि शिवाकोटी, शहिदपत्नी देवका गौतम, शहिदमाता पुण्यवती गौतम लगायतले उनीहरूलाई फूलमाला, अबिर, दोसल्ला, सम्मान पत्रले सम्मान गरेका थिए ।
कार्यक्रममा सिंहदेवी मा वि का प्रधानाध्यापक भोलानाथ ढुङ्गेल, पाथीभरा एकाडेमी लक्ष्मीपुरका प्रिन्सिपल श्रीकान्त थापा, नेकपा माओवादी कनकाई नगर सचिव तेजबहादुर आचार्य, नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गाका निवर्तमान सभापति बालकृष्ण प्रसाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव विनोद रानामगरले गरेका थिए ।






























