
हिमालयन टेलिभिजनको रियालिटी शो द भ्वाइस किड्स सिजन–४ को टप २४मा छनौट भएका झापा बिर्तामोडका सुज्ञान खनाल सुरिलो आवाज, आत्मविश्वास र अद्भुत प्रस्तुतीले दर्शकको मन जित्न सफल भएका छन् । सुज्ञान लाईभ राउन्ड अर्थात भोटिङ्ग राउन्डसम्म आइपुगेका छन् । उनको जित अब दर्शक र शुभचिन्तकको भोटमा निर्भर छ । त्यसैले उनले आफूलाई भोट गर्न सबैमा अपिल गरेका छन् । उनी अध्ययनरत् विद्यालय बिर्तामोडको लिटल फ्लासर्व स्कूलले समेत सुज्ञान खनाललाई भोट गरेर जिताउन अपिल गरेको छ ।
भोट गर्ने तरिका -: Khalti App डाउनलोड गर्नुहोस् “The Voice of Kids S4” मा जानुहोस् “Team Milan” मा क्लिक गर्नुहोस् “Sugyan Khanal” छान्नुहोस्

को हुन् सुज्ञान खनाल ?
उमेरले १२ वर्षका सुज्ञान खनाल यतिबेला गायन क्षेत्रमा चर्चामा छन् । झापा बिर्तामोड–४ निवासी उनी गायन रियालिटी शो द भ्वाइस किड्स सिजन–४को टप २४मा छनौट भइसकेका छन् ।
प्रतियोगितामा भाग लिएका ४८मध्ये अरु २४ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उनी अघि बढेका छन् । हिमालयन टीभीको गायन रियालिटी शो द भ्वाइस किड्स सिजन–४मा उनी अब्बल रुपमा अघि बढेकोमा कोच खुशी छन् भने निर्णायकहरु प्रशंसा गरिरहेका छन् ।
युवकुमारी चुडाल र इन्द्र खनालका पुत्र उनी लिटल फ्लावर्स इङ्लिस स्कुलमा अध्ययनरत् छन् । उनको संगीत विद्यालय भने सनलाइट संगीत विद्यालय हो । सानै छँदा गायनमा रुचि देखाएर अघि बढेका सुज्ञान आफ्नो प्रेरणाको स्रोत हजुरबुवा अभिचन्द्र खनाललाई मान्छन् । भविष्यमा गायन क्षेत्रमा स्थापित हुने र अब्बल कम्प्युटर इञ्जिनियर हुने लक्ष्य राखेका उनी क्लासिकल गीतहरू मन पराउँछन् । उनलाई सबैभन्दा मन परेको गीत प्रमोद खरेलको हंगामा भो….हो रे । मन परेको गायकमा नारायण गोपाल र प्रमोद खरेलको नाम लिन्छन् । गायनसँगै चित्र कोर्न, बाद्यवादन बजाउन, पौडी खेल्न, गीत तथा कविता रचना गर्न मन पराउँछन् उनी । उनी मिहिनेती र प्रतिभाशाली छन् ।
संगीत सिक्न सरगम संगीतालयबाट शुरु गरेका हुन्– उनले । त्यहाँ गुरु दीपक रायमाझीले उनलाई संगीत सिकाए । त्यसपछि सनलाइट संगीत विद्यालयमा गुरु कृष्ण योञ्जनसँग म्युजिक सिक्दै आइरहेका छन् । लिटल फ्लावर्समा पनि संगीत गुरु मञ्जु अधिकारी रिजालबाट म्युजिक सिक्दैछन् ।
द भ्वाइस किड्स सिजन–४ यही ३० जेठबाट हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिबार प्रशारण हुँदै आएको छ । यो सिजनको कोचमा मिलन नेवार, खेम सेन्चुरी, सत्यराज आचार्य र मेलिना राई छन् । ‘ब्लाइन्ड अडिसन’मा ४८ जनाले प्रतिस्पर्धा गरेका थिए । यसको अर्थ, एकजना कोचको समूहमा १२ जना प्रतियोगी हुनेछन् । नेपालसहित विदेशबाट आएका नेपालीभाषी ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले भाग लिएका छन् । गायन रियालिटी शो द भ्वाइस किड्स सिजन–४मा उनको कोच हुन् मिलन नेवार । नेपाली बालप्रतिभाहरूको विश्वव्यापी गायन रियालिटी शो द भ्वाइस किड्स सिजन–४मा टप २४मा छनौट भएका सुज्ञान खनालसंगको छोटो कुराकानी ः–
गायन रियालिटी शो द भ्वाइस किड्स
सिजन–४को अडिसनमा कसरी पुग्नु भयो ?
– सानैदेखि यस्ता रियालिटी शोहरु हेर्ने गर्दथें । घरमा अभिभावकहरुले अब यस्तै प्रतिभाशाली बन्नुपर्छ भनेर प्रेरणा दिँदै आइरहनुहुन्थ्यो । अनि यो भ्वाइस अफ किड्सको अडिसन शुरु हुँदैछ भन्ने थाहा पाएपछि बुवाले एउटा डिजिटल अडिसनको लागि मेरोे गीत रेकर्डिङ गरेर पठाइदिनुभएको थियो । सेलेक्ट भएँ, अनि फिजिकल अडिसनमा पनि सेलेक्ट भएँ । त्यसपछाडि ब्लाइन्ड अडिसन पार गरेर अहिले ब्याटल अडिसन पनि पार गरेको छु ।
‘ब्लाइन्ड अडिसन’ मा ४८ जनाबाट छानिएर
अहिले टप २४मा पर्न सफल हुनुभएको छ ।
कस्तो अनुभव भइरहेको छ ?
– एकदमै गर्वको महशुस भइरहेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा मेरो प्रस्तुति हेर्नुहुन्छ । एउटा नौलो अनुभूति प्राप्त गरेको छु ।
द भ्वाइस किड्स सिजन–४को अबको
यात्राको लागि तयारी कस्तो छ ?
– अब लाइभ अडिसन शुरु हुँदैछ । त्यसको लागि मलाई केही समय काठमाडौँमा ट्रेनिङको लागि बोलाइएको छ र म काठमाडौँ जाँदैछु । हरसम्भव मैले आफ्नो रियाज गर्ने अनि सोसल मिडियामा अब अरुलाई आफ्नो बारेमा साथीभाइ इष्टमित्र अनि आफन्तजन सबैसँग सम्पर्कमा राख्ने र भोटको लागि आग्रह गर्ने योजना छ भने आफूले पनि आफ्नो तर्फबाट सकेसम्म बेस्ट प्रस्तुति दिने प्रयत्न गरिरहेको छु ।
द भ्वाइस किड्स सिजन–४को बिजेता
बन्नु भयो भने के गर्नुहुन्छ ?
– सर्वप्रथम त यदि म बिजेता भएँ भने मलाई सहयोग गर्ने आफन्त, इष्टमित्र, सम्पूर्ण मेरा शुभचिन्तकहरुलाई धन्यवाद दिन्छु । त्यसपछि मैले गायन क्षेत्रमा एउटा राम्रो बाल कलाकार भएर आफ्नो बेस्ट प्रस्तुति दिनेछु । आफूले उपाधि प्राप्त गरिसकेपछि उपाधिबाट प्राप्त गरेको रकमलाई म जस्तै संगीत सिक्न इच्छा गर्ने तर पहुँच नभएका भाइबहिनीहरूको लागि केही रकम खर्च गर्नेछु । त्यसपछि म म्युजिक करियरको लागि चाहिने सिपको लागि मेरो प्रयत्न जारी राख्नेछु ।
द भ्वाइस किड्स सिजन–४को यात्रामा अघि
बढ्न तपाईंलाई कस्तो सहयोगको खा“चो छ ?
– पक्कै पनि सिजन ४को यात्रामा अघि बढ्नको लागि मलाई मेरा श्रोताहरूको ठूलो सहयोग चाहिएको छ । अब म लाइभ राउन्डमा प्रवेश गरेकोले गर्दा मलाई हजुरहरूको भोटको आवश्यकता छ ।
आम संगीतप्रेमी तथा आफन्त,
शुभचिन्तकहरुलाई के भन्नुहुन्छ ?
– मेरा सम्पूर्ण मान्यवरहरूलाई म यो विनम्र अनुरोध गर्दछु कि हजुरहरूको भोट र समर्थनले गर्दा मैले यस भोइस अफ किड्स सिजन ४ को उपाधि प्राप्त गर्न सक्नेछु । यसका लागि देश तथा विदेशमा रहनुहुने मेरा सम्पूर्ण आफन्त, शुभचिन्तक, इष्टमित्र, मेरा गुरुगुरुआमाहरू, मेरा स्कुलका साथीभाइहरू लगायत सम्पूर्णलाई हजुरहरूको माया र सहयोगको अपेक्षा राख्दै धन्यवाद दिन चाहन्छु ।
































