युद्धबहादुर बोहोरा,

इलामको हरियालीले ढाकिएको लुम्दे गाउँ । त्यही गाउँको सामान्य परिवारमा जन्मिएका डा. प्रेम फ्याक अहिले कोलम्बिया विश्वविद्यालय न्युयोर्क (अमेरिका) स्थित टिचर्स कलेजमा एसोसियट प्रोफेसर छन् । भाषा, शिक्षा र समाजका लागि निरन्तर लागिरहेका फ्याकलाई शिक्षा केवल डिग्री होइन, परिवर्तनको शक्ति बुझेका छन् ।
इलामको फाकफोकथुम गाउँपालिका–५, लुम्देमा जन्मिएका फ्याक, बाल्यकालमै अध्ययनप्रति गहिरो रुची राख्थे । गाउँको विद्यालयदेखि शुरु भएको उनको शैक्षिक यात्रा इलाम, काठमाडौं, लण्डन, हङकङ हुँदै अमेरिकासम्म पुगेको छ । बालपनमा उनले महशुस गरेका थिए अंग्रेजी बोल्नेलाई बुद्धिमान ठानिने र मातृभाषा बोल्नेलाई हेपिने, यो प्रवृत्तिले समाजमा गहिरो विभाजन ल्याउँछ । यही पीडाले उनको सोचलाई मोड दियो ‘के सिक्न चाहनाले आफ्नो भाषा बिर्सनु पर्छ ?’ भन्ने प्रश्नसँगै ।
फ्याकले गाउँकै जालपा आविबाट प्रारम्भिक शिक्षा लिए । कक्षा ६ देखि महेन्द्रोदय माविमा पढे र त्यहीबाट २०५२ मा प्रथम श्रेणीमा एसएलसी पास गरेपछि इलामकै महेन्द्र रत्न क्याम्पसमा अंग्रेजी शिक्षामा स्नातक सके । त्यसबेलै उनी सुनाखरी बोर्डिङ स्कूलमा पनि अध्यापन गर्थे । त्यसपछि सेन्ट्रल डिपार्टमेन्ट अफ एजुकेसन, त्रिवि, काठमाडौंमा स्नातकोत्तर गर्दै विभिन्न कलेज तथा निजी विद्यालयमा समेत पढाए । उत्कृष्ट नतिजाका कारण उनले युनिभर्सिटी अफ लण्डनमा छात्रवृत्तिमा एक वर्ष अध्ययन गरे । उनी युएसएमा युनिभर्सिटी अफ हवाई (अमेरिका)मा पिएचडी अध्ययन गर्न गए। त्यहाँ उनले भाषा, शिक्षा र सामाजिक न्यायबीचको सम्बन्ध विषयमा गहिरो अनुसन्धान गरे ।
पिएचडी सकेर फर्किएपछि फ्याक त्रिविमा अंग्रेजी शिक्षा विभाग प्रमुख बने । तर, विश्वविद्यालयको कक्षामा मात्र सीमित नभइ खोज अनुसन्धानमा लागिरहे । यस अन्तर्गत उनी गाउँ–गाउँ पुगेर शिक्षक तालिम, अभिभावक शिक्षा र शिक्षण नवप्रवर्तन सम्बन्धी कार्यशालाहरूमा सहभागी हुन्थे । फ्याकको मान्यता छ ‘शिक्षा भनेको समाज बुझ्ने कला हो । केबल किताब पढ्ने कुरा होइन ।’
२०८२ सालको दोस्रो महिनामा डा. फ्याक केही समयका लागि आफ्नो जन्मगाउँ इलामको फाकफोकथुम फर्किए । बाल्यकालको सम्झनासँगै गाउँका बालबालिकाको भविष्य उज्ज्वल बनाउने सोच बोकेर उनी त्यहाँ पुगेका थिए । यसै क्रममा, फाकफोकथुम गाउँपालिका–७ मा अवस्थित जनकल्याण माध्यमिक विद्यालयले ‘विद्यार्थीसँग प्राध्यापक’ कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव राखेपछि उनी उत्साहका साथ सहभागी भए ।

विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै उनले भने– ‘पढाइ भनेको केवल पास गर्ने प्रक्रिया होइन, बुझ्ने र समाज परिवर्तन गर्ने औजार हो । प्रश्न गर, डर नमानी गर ।’ उनको यही सरल र प्रगाढ सन्देशले विद्यार्थीको मन जित्यो । एकदिनको शैक्षिक बहसमा उनले विद्यार्थीको मनोविज्ञान बुझ्दै, सिकाइमा जागरुकता र जिज्ञासाको महत्वलाई विशेष जोड दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लिम्बूले कार्यक्रमपछि प्रतिक्रिया दिँदै भने– ‘डा. फ्याकले गाउँका बालबालिकाको मन छोएका छन् । यस्तो बहस र संवाद ग्रामीण शिक्षाको सुधारका लागि प्रेरणादायी हुन्छ ।’
गाउँमा रहँदा डा. फ्याकले आफ्नो प्रारम्भिक शिक्षा प्राप्त गरेका दुई विद्यालय जालपा आधारभूत विद्यालय र महेन्द्रोदय माध्यमिक विद्यालय पनि भ्रमण गरे । ती ठाउँमा उनले आफ्ना पूर्व गुरू, अभिभावक र विद्यार्थीहरूसँग भेटघाट गरे । शिक्षा सम्बन्धी विभिन्न छलफल तथा बहसमा उनले सक्रिय सहभागिता जनाउँदै स्थानीय तहमा शैक्षिक चेतना जगाउने काम गरिरहेका छन् । उनको अभियान यतिमै सीमित छैन । उनी विभिन्न मातृ भाषाविद्हरु र अग्रज गुरुबाट ज्ञान सिक्ने कसरतमा पनि लागीपरेका छन् ।
हाल उनी काठमाडौं विश्वविद्यालयद्वारा आयोजित शैक्षिक छलफलहरूमा समेत सक्रिय रूपमा सहभागी भइरहेका छन् । सहरदेखि गाउँसम्म उनले शिक्षा रूपान्तरणको अभियानमा आफूलाई समर्पित गरिरहेका छन् । शिक्षा केवल ज्ञानको हस्तान्तरण नभएर सोच बदल्ने प्रक्रिया हो भन्ने कुरालाई डा. फ्याकले आफ्नो कार्यद्वारा प्रमाणित गरिरहेका छन् । ग्रामीण शिक्षामा यस्ता प्रयासहरू निरन्तर भइरहुन भन्ने अपेक्षा गर्न सकिन्छ । उनी शिक्षकका लागि शिक्षक पनि हुन् । शिक्षकहरूलाई स्थान अनुसार शिक्षण पद्धति प्रयोग गर्न तालिम दिन्छन् । उनी कक्षाकोठा मात्र होइन, शिक्षकको सोच नै परिवर्तन गर्न चाहन्छन् ।
उनको अन्तर्राष्ट्रिय अनुभवसँगै स्थानीय खोजमा पनि त्यतिकै लगाब छ । हङकङको चाइनिज युनिभर्सिटीमा तीन वर्ष ‘प्रायोगिक भाषाविज्ञान निर्देशक’का रूपमा काम गरेपछि उनी हाल अमेरिका, कोलम्बिया युनिभर्सिटी अन्तर्गत टीचर्स कलेजमा एसोसियट प्रोफेसर छन् । सोधका प्रोफेरको जिम्मेवारीमा काम गरिरहेका उनी अहिले अन्तर्राष्ट्रिय शिक्षा, सामुदायिक विद्यालय सुधार, स्थानीय शिक्षा नीति र सामाजिक न्याय सम्बन्धी अनुसन्धानमा छन् । संघीय संरचनापछि स्थानीय सरकारले शिक्षालाई प्रथामिकीकरण गर्न जरुरी रहेको उनको बुझाइ छ ।
भूमि, भाषा र समाजसँग जोडिएको शिक्षा भए मात्रै गुणस्तरीय शिक्षा भन्न सकिने उनको दाबी छ । उनको दृष्टिकोणमा शिक्षा मानवमुखी मात्र होइन, प्रकृति मैत्री हुनुपर्छ । पाठ्यपुस्तकमा सीमित शिक्षा समाज बुझेको शिक्षा होइन । ‘धरातलीय शिक्षा’ बिना समाजमा चेतनाको विकास हुँदैन भन्ने उनको मान्यता छ । अस्तित्व मासेर सिकिने ज्ञान होइन । उनी अझै देश–विदेशका विश्वविद्यालयमा पढाइरहेका छन्, अनुसन्धान गरिरहेका छन् । तर, उनको मुटु भने सधैँ गाउँमै छ जहाँ शिक्षाको उज्यालो छर्ने फ्याकको सपना छ ।
शिक्षा केवल आयातित विचार होइन, हाम्रो माटोको सुगन्ध बोकेको प्रणाली हुनुपर्छ भन्ने उनको दृढ मान्यता छ । उनी नेपाली सामुदायिक विद्यालय सुधारका लागि नीतिगत र व्यवहारिक तहमा चिन्तनशील छन् । शिक्षा र प्रकृतिबीचको सम्बन्ध, शिक्षाको सामाजिकीकरण, सामाजिक चेतना निर्माण र स्थानीय सन्दर्भमा आधारित पाठ्यक्रम विकासमा उनको विशेष रुची छ ।































