विनोद सापकोटा
झापा, झापाको शिवसताक्षी नगरपालिकाका वडा नम्बर ३ र वडा नम्बर ८ ले शिक्षालाई सबैको पहुँचमा पुर्याउने उद्देश्यसहित पूर्वप्राथमिक तहमा अध्ययनरत बालबालिकालाई निशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने निर्णय गरेका छन्।
आउँदो शैक्षिक सत्रदेखि लागू हुने यो योजनाले आर्थिक रूपमा कमजोर वर्गका बालबालिकालाई विद्यालयमा भर्ना र नियमित उपस्थितिका लागि थप प्रेरणा दिने विश्वास लिइएको छ। वडा नम्बर ८ का अध्यक्ष सन्तकुमार फेउदिनका अनुसार वडामा रहेका अङ्ग्रेजी माध्यमका सामुदायिक विद्यालयहरूमा अध्ययनरत पूर्वप्राथमिक तहका विद्यार्थीहरूले अबदेखि आवश्यक पाठ्यपुस्तक वडा कार्यालयबाट निशुल्क पाउनेछन्।
झिलझिले माध्यमिक विद्यालय, भगवती, अरुणोदय र सरस्वती आधारभूत विद्यालय वडाका चारवटा सामुदायिक विद्यालय हुन । यी विद्यालयमा अध्ययन गर्ने अधिकांश अधिकांश विद्यार्थी विपन्न वर्गका छन्। त्यस्तै, वडा नम्बर ३ का अध्यक्ष भास्कर न्यौपानेले पनि आफ्ना वडामा रहेका भानु माध्यमिक विद्यालय, शान्ति आधारभूत विद्यालय र पाथिभरा आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई पनि यो सुविधा दिने जानकारी दिए।
कार्यक्रम सञ्चालनका लागि वडा कार्यालयले प्रारम्भिक चरणमा ६० हजार रुपैयाँ विनियोजन गर्ने जानकारी दिएको छ। “हाम्रा वडामा धेरै अभिभावकहरू गरिबीको रेखामुनि छन्। पाठ्यपुस्तक किन्ने हैसियत नहुँदा थुप्रै बालबालिका शिक्षाबाट वञ्चित छन्। यो कार्यक्रमले विद्यालय जानबाट रोकिएका बालबालिकालाई फर्काउनेछ,” अध्यक्ष न्यौपानेले भने। शिक्षालाई सर्वसुलभ बनाउने उद्देश्यले ल्याइएको यस कार्यक्रमले सामाजिक सञ्जालमा व्यापक चर्चा र प्रशंसा पाएको छ। धेरै अभिभावक र सामाजिक व्यक्तिहरूले वडा अध्यक्षहरू तथा वडा समितिको खुलेर प्रशंसा गरेका छन्।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा यी दुवैजना वडाध्यक्ष नेपाली कांग्रेस बाट भारी मतका साथ विजय भएका थिए। वडा अध्यक्ष द्वयको सामाजिक न्याय र समानताको दिशामा थप कदम भएको भन्दै यसलाई अन्य वडाहरूले पनि अनुकरण गर्नुपर्नेमा नगरवासीको जोड छ। वडा अध्यक्ष फेउदिनले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाहरूलाई निशुल्क बनाउने दीर्घकालीन लक्ष्य रहेको बताए। उनले भने, “वडाका भौतिक पूर्वाधार निर्माणमा देखिएको सफलता पछि अब सामाजिक क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने योजनामा वडाले प्राथमिकता दिनेछ।”
यसैबीच, झापाकै कमल गाउँपालिकामा दुई वर्षदेखि यस्तै कार्यक्रम सफलतापूर्वक सञ्चालन हुँदै आएको छ। गाउँपालिकाले आफ्ना अङ्ग्रेजी माध्यमका सामुदायिक विद्यालयहरूमा अध्ययनरत पूर्वप्राथमिक तहका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको छ। मङ्गलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनकुमार बगालेका अनुसार कार्यक्रमले सामुदायिक विद्यालयतर्फको आकर्षण बढाएको छ ।
पालिका स्रोतका अनुसार कमल गाउँपालिकामा विद्यार्थी संख्या संस्थागत विद्यालयभन्दा बढी छ। यस्तो उदाहरणीय कार्यक्रम झापाका अन्य स्थानीय तहमा भने सायदै सञ्चालनमा छन्। यस सन्दर्भमा अभिभावकहरूले अनुत्पादक तालिम, भ्रमण र कार्यक्रमका नाममा खर्च हुने बजेट कटौती गरेर शिक्षाजस्ता जनमुखी क्षेत्रमा लगानी गर्न स्थानीय सरकारसँग अनुरोध गरेका छन्।
स्थानीय वडा नम्बर ८ का भगीरथ कडरियाले भने, “राज्यको रकम भ्रमण र तालीमको नाममा दोहन नगरौं, बालबालिकाको भविष्य उज्यालो बनाउन उत्पादनमूलक कार्यक्रममा खर्च गरौं।” स्थानीय जनताको प्रत्यक्ष हित हुने, जनताको मन छुने र दीर्घकालीन प्रभाव पार्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै, अन्य वडाहरूले पनि यस्ता अभ्यास अंगीकार गर्नुपर्ने माग स्थानीयवासीले गरेका छन्।






























