कोशी प्रदेशमा लागूऔषधजन्य समस्या भयावह बन्दै गएको छ । लागूऔषधका कारण उत्पन्न समस्याबाट प्रत्येक परिवार पीडित बन्दै गएको अवस्थामा कोशी प्रदेश प्रहरी यसको नियन्त्रणका लागि निर्मम ढंगले लागीपरेको बताइन्छ । कोशी प्रदेशका झापा, मोरङ, सुनसरी लागूऔषधको केन्द्र बन्दै गएको दिनहुँ पक्राउपर्ने गरेको प्रतिबन्धित औषधीको परिमाणले नै पुष्टि गर्दछ । नेपालको पूर्वी सीमान्त जिल्ला झापामा लागूऔषधको कारोबार बढेपछि प्रहरीले कारोबारी र प्रयोगकर्ताबिरुद्ध कडाइ गर्दै नियन्त्रणको अभियान चलाएको छ । एक सय चवालिस किलोमिटर लामो भारतसँगको खुल्ला सीमाना भएकाले झापामा लागूऔषधको नियन्त्रण प्रहरीका लागि नै चुनौतीपूर्ण बन्दै गएको छ । त्यही खुला सीमानाकै कारण कारोबारीले लागूऔषध भित्र्याउने र कारोबार गर्ने जस्ता गतिविधि बढेका कारण समाज र परिवार नै चिन्तित छ ।

कोशी प्रदेशमा लागूऔषधको प्रयोग तथा कारोबारलाई नियन्त्रण गर्न प्रदेश प्रहरी कार्यालय विराटनगरले अभियान नै सञ्चालन गरेको छ । लागूऔषधको प्रयोग, बेचबिखन तथा ओसारपसारमा संलग्न व्यक्ति ‘कि जेलमा–कि सुधारकेन्द्रमा’ भन्ने उद्देश्यका साथ अघि बढेको प्रहरीले नियन्त्रणका लागि आक्रामक रुपमा परिचालन भएको छ । प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेका जिल्ला प्रहरी कार्यालयहरुबाट परिचालित प्रहरीले यतिबेला दिनहुँ प्रयोगकर्ता र ओसारपसारमा संलग्नहरुलाई पक्राउ गरिरहेको छ । पछिल्लो समय झापाको बिर्तामोडमा लागूऔषध भण्डारण गरिएको गोदाम नै फेला पारेको छ । उक्त भण्डारमा ठूलो मात्रामा लागूऔषध तथा प्रतिबन्धित औषधि फेला परेको थियो । आर्थिक वर्ष ०८१÷०८२ मा झापामा पाँच सय उनन्साठी जनालाई लागूऔषधको कारोबार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । ती मध्ये तीन सय छ्यालिस मुद्दा दर्ता भएको जिप्रका झापाले जनाएको छ ।
लागूऔषधले व्यक्ति, परिवार, समाज र देशलाई पु¥याउने क्षतिबारे जनचेतनामूलक कार्यक्रम मार्फत विद्यालय र समुदायमा सुुसूचित गर्ने कार्य प्रहरीले गरिरहेको छ । समुदायसँगको साझेदारी मार्फत दुव्र्यसनमुक्त समाज निर्माण गर्ने कोशी प्रदेश प्रहरी कार्यालयको अभियान रहेको छ । प्रदेशका जिल्लाहरु मध्ये झापा लागूऔषधको समस्याबाट सबैभन्दा बढी पीडित छ । जिल्लाका मेचीनगर, बिर्तामोड, बुद्धशान्ति, दमक, भद्रपुर र कचनकबलमा लागूऔषधको कारोबार बढी हुने गरेको तथ्यांकले देखाएको छ । बिर्तामोड–५ मा फेला परेको लागूऔषधको भण्डारले पनि यसको भयावहताको प्रमाण दिन्छ । सनलाइट फर्माका सञ्चालक भानुभक्त खरेलको सो गोदाम नियन्त्रणमा लिए पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । यद्यपि प्रहरीले आर्थिक वर्ष ०८१/०८२ मा लागूऔषधका कारोबारी करिब दुई हजार जनालाई पक्राउ गरेको छ । हाल घर–घरमा बढ्दै गरेको यो समस्याको निराकरणका लागि समुदायसँगको सहकार्यमा प्रहरी निर्मम हुनैपर्छ । यसको असरबाट युवापुस्तालाई सुरक्षित नगरे परिवार, समाज र राष्ट्रकै भविष्य असुरक्षित हुनेतर्फ राज्य पनि गम्भीर हुनुपर्छ ।



























