रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

विरगञ्जको कृषि अौजार कारखाना सञ्चालनार्थ वैज्ञानिक डा. महावीर पुनको पुस्तक बिक्रीवितरण अभियानको समर्थनमा शनिबार बिर्तामोडमा एक कार्यक्रम सम्पन्न भएको छ।
स्वतन्त्र नागरिक समाज बिर्तामोडको आयोजना तथा युवा नागरिक समाज, किरात याक्थुङ चुम्लुङ, किरात भाषा उत्थान संघ र भारतीय गोरखा भूतपूर्व सैनिक संघ बिर्तामोडको सहकार्यमा आयोजित कार्यक्रममा सरसफाइसँगै डा. पुनको जीवन कथामा आधारित ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक बिक्रीवितरण अभियायनमा समर्थन गरिएको हो।
स्वतन्त्र नागरिक समाजको आयोजनामा प्रत्येक शनिबार साप्ताहिक रुपमा सञ्चालन हुँदै आइरहेको बुहत् श्रमदान अभियान अन्तर्गत सम्पन्न बिर्तामोड सरसफाई कार्यक्रममा डा. पुन समेत सहभागी भएका थिए। उनले श्रमदान अभियानको प्रशंसा समेत गरेका थिए।
स्वतन्त्र नागरिक समाज बिर्तामोडका अध्यक्ष हिमालय प्रकाश कन्दङ्वाको अध्यक्षता तथा डा. पुनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आयोजक सघसंस्थाका पदाधिकारी, सदस्यको साथै विभिन्न क्षेत्रका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

अध्यक्ष कन्दङ्वाले डा. पुनको देश विकासको महान् अभियानमा सानो भएपनि सहयोग पुगोस् भनेर उहाँको समर्थनमा कार्यक्रमको आयोजना गरिएको बताए। उनले देशको लागि केही गरौं भन्ने उद्देश्यले सञ्चालित श्रमदान तथा सरसफाई अभियानमा डा. पुन सहभागी भइदिएर उत्साह थपिएको बताए। कार्यक्रमको सञ्चालन शिवन सोराली मगरले गरेका थिए।
कियाचु झापाकी सचिव भीममाया नेम्बाङ कन्दङ्वाले पुनको महान् अभियान समर्थनमा भएको उक्त कार्यक्रममा १ सय७६ प्रति पुस्तक(रु.१लाख ३० हजार) बिक्री वितरण भएको जानकारी दिइन्। देश र जनताको हितमा देश दौडाहामा रहेका राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा. पुनको अभियान सफल पार्न उनले सबैलाई सहयोग गर्न समेत आह्वान गरिन्।
७ सय ५० रुपैयाँ मूल्य रहेको उक्त पुस्तक हालसम्म दुई लाख बढी बिक्रीबाट खर्च कटाएर १२ करोड बढी नगद संकलन भइसकेको बताइएको छ। करिब एक वर्ष अघि शुरु अभियानका डा. पुनसहित टीम झापामा अझ केही दिन रहने जनाइएको छ।






























