पथरी शनिश्चरे,

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी मोरङद्वारा पथरीमा पनि वृक्षारोपण कार्यक्रम गरेको छ।
शनिबार पथरी शनिश्चरे १० को पशुपति सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा विभिन्न प्रजातिका बिरुवाहरु वृक्षारोपण गरिएको हो। जङ्गली जनावरहरूको भविष्यको आहाराका लागि विभिन्न प्रजातिका बिरुवाहरू वृक्षारोपण गरिएको कार्यक्रम संयोजक तथा जिल्ला कमिटी मोरङका उपाध्यक्ष दीपक ढकालले बताउनुभयो।
नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटीका पोलिट ब्युरो सदस्य तथा अनुशासन विभागका प्रमुख पोलिटब्युरो सदस्य तथा केन्द्रीय कानुन विभाग प्रमुख डा. देउमान सम्वाहाम्फेले पथरी शनिश्चरे वडा नं १० तथा पशुपति सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा बिरुवा रोपेर वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो।
पुष्पलाल स्मृति दिवस सप्ताह अन्तर्गत उक्त सामुदायिक वन क्षेत्रभित्र जामुन,बर, अम्बक, आँप, अमला लगायतका ३सय बढी विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको थियो। पछिल्ला वर्षहरूमा बारम्बार बाँदर हरिण हात्ती लगायतका जङ्गली जनावरहरूले आहाराको खोजीमा मानव बस्ती भित्र प्रवेश गर्ने गरेको, विभिन्न क्षति पुर्याउँदै आएको र सडक दुर्घटना बढ्दै गएका कारण सोको न्यूनीकरणका लागि जिल्लाका विभिन्न पालिकामा रहेका विभिन्न स्थान र वन क्षेत्रमा वृक्षारोपण गरिंदै आईरहेको बताईएको छ।

कम्युनिस्ट पार्टीका महान् संस्थापक नेता स्वर्गीय पुष्पलालको स्मृतिमा साउन ०६ गतेदेखि सात दिन पर्सी विराटनगर महानगरमा साँझ दीप प्रज्वलन गर्दै कार्यक्रम समापन गरिने जिल्ला कमिटी मोरङका उपाध्यक्ष एवम् वृक्षारोपण कार्यक्रमको संयोजक ढकालले बताउनुभएको छ ।
बेलबारीबाट शुभारम्भ भएको उक्त कार्यक्रम जिल्लाका विभिन्न क्षेत्रहरुमा वृक्षारोपण तथा अन्य कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको जिल्ला सचिव तुलसी ढकालले जानकारी दिनुभयो।
उक्त अवसरमा संविधानसभाका सभासद चण्डीप्रसाद राई, नेकपा एसका केन्द्रीय सदस्य केन्द्रीय सदस्य सेवन्त राज भण्डारी तथा कृष्णकुमारी बिक, अनुशासन आयोग केन्द्रीय सदस्य मानबहादुर लिम्बु, प्रदेश, जिल्ला र नगर सहित विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
उक्त पुष्पलाल स्मृति सप्ताह कार्यक्रम जिल्ला कमिटी अध्यक्ष चन्द्रवीर राईको अध्यक्षतामा सम्पन्न भएको थियो।


























