विनोद सापकोटा,
झापा।

झापाको हल्दीवारी गाउँपालिका–४, ओली चौकमा आगलागीमा घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ। आगलागीमा गम्भीर घाइते भएका ६० वर्षीय पुण्यप्रसाद ओलीको उपचारको क्रममा किर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको हो।
घटना साउन ६ गते बिहान करिब ८:४० बजे भएको थियो। आफ्नै पक्की घरको दोस्रो तल्लामा खाना पकाउने क्रममा ग्यास लिक भई अचानक आगो सल्किँदा घरका चारजना आगलागीमा परेका थिए। आगो निभाउने प्रयासमा उनीहरू घाइते भएका थिए।
घाइतेमध्ये पुण्यप्रसाद ओलीलाई प्रारम्भिक उपचारपछि झापाको ओम साई पाथीभरा अस्पताल हुँदै थप उपचारका लागि काठमाडौंको किर्तिपुर बर्न अस्पताल लगिएको थियो। साउन १० गते बिहान ११:३५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा घाइते भएका अन्य दुई जना — ५९ वर्षीया गोमा देवी ओली र ३३ वर्षीय सन्तोष ओली भने उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। चौथो घाइतेको अवस्था भने सार्वजनिक गरिएको छैन।
घरको भान्साबाट सुरु भएको आगलागीले थप क्षति हुन नपाउँदै स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




























