विनोद सापकोटा,
झापा ।

‘हरेक वर्ष साउन १५ तिर माछा मारेर चेलीबेटीलाई बोलाएर दर खुवाउँथे । अहिले त्यो हरियो धानको खेतमा कमिला कुदिरहेको छ,’ शिवसताक्षी नगरपालिका–९ की किसान चन्द्रमाया तुम्बापोको पानी नपरेर खेत बाँझै हुँदा यतिबेला उनको हरेक आवाजमा चिन्ता र निराशा झल्किन थालेको छ ।
उनकै छोरा भानु तुम्बापोको दुई बिघा खेत छ । अघिल्ला वर्षहरूमा उनी असार २० मै रोपाइ सक्थे। अहिले भने साउन ११ बित्दा पनि खेतमा एक मुठो धानको वीउ रोपिएको छैन। सिँचाइको सुविधा नभएकोले उनी आकासे पानीको भर पर्न बाध्य छन् । ‘बादल आउँछ । आशा लाग्छ । एकछिनमै हावाले उडाइदिन्छ । खेतमा डुङडुङ धुलो उड्छ,’ उनले भने।
शिवसताक्षीकै अर्का किसान ज्ञानप्रसाद गौतमका अनुसार गाउँकै करिब ३० बिघा भन्दा बढी जमिनमा अहिलेसम्म रोपाइ सुरु हुन सकेको छैन । ‘अहिले खेतमा हलो जोत्न जाँदा पनि धूलो उड्छ, यस्तो अवस्था कहिल्यै देखिएको थिएन,’ गौतम भन्छन्।
कृषि ज्ञान केन्द्र झापाका अनुसार साउन १० सम्ममा ८१ प्रतिशत खेतमा धान रोपाइ सकिएको छ। बाँकी १९ प्रतिशत जमिन अझै बाँझै छ। यद्यपि, शिवसताक्षीजस्ता क्षेत्रका प्राकृतिक यथार्थले सरकारी तथ्याङ्कभन्दा भिन्न तस्बिर देखाइरहेको छ। गाउँ पस्दा सयौँ किसानका खेत हरियाली त कता हो कता । ति खेतमा कमिला कुदिरहेका छन् ।

शिवसताक्षी नगरका नगर प्रमुख मेगाहाङ थोप्राले समस्याको गम्भीरता स्वीकार्दै पालिकाबाट डिप बोरिङ कार्यक्रम ल्याउने तयारी भइरहेको बताए । ‘प्रकृतिसँग कसैको केही लाग्दो रहेनछ। किसानले जसोतसो रोपेका धान जोगाउन पनि अब डिप बोरिङको आवश्यकता छ,’ उनले भने, ‘योजना निर्माण भइरहेको छ, किसानले चाँडै सुविधा पाउनेछन् ।’
झापा जिल्लालाई धान उत्पादनका लागि ‘सुपरजोन’ को रूपमा स्थापना गरिएको छ। जिल्लामा कुल ७५ हजार ४५९ हेक्टर खेतीयोग्य जमिन छ। तीमध्ये ४६ हजार ७६२ हेक्टरमा मात्र सिँचाइ सुविधा पुगेको छ। बाँकी जमिनमा किसानहरू वर्षोै देखि आकासे पानीकै भरमा छन् ।
झापामा जेठ १८ यता साउन ११ गतेसम्म ३० पटक वर्षा भएको जल तथा मौसम विज्ञान कार्यालय गैंडेमाईधार, धरानको शाखा कार्यालयले जनाएको छ। अधिकांश वर्षा असार महिनाको मध्यतिर मात्रै भएको देखिएको छ । कार्यालयकी फोकल पर्सन भोजकुमारी खतिवडाका अनुसार अहिलेसम्मको सबैभन्दा धेरै वर्षा साउन १० गते ५०.६ मिलिमिटर मापन गरिएको थियो ।
त्यसअघिः
जेठ १८ गते – १४.८ मि.मि.
जेठ २९ गते – १७ मि.मि.
असार ९ गते – ४६.३ मि.मि.
असार १७ गते – ८ मि.मि.
असार २५ – १६ मि.मि.
असार ३० – २३.८ मि.मि.
असार ३२ – ३३.५ मि.मि.
तर यी वर्षाले आकाशे खेतका किसानका लागि धान रोपाईँ हुन सकेको छैन । ह्वार्र आएर स्पाप्पै सुक्ने वर्षाले धान त के कोदो रोपाईँ पनि नहुने किसानले बताए । खेतमा पर्याप्त पानी नहुँदा किसान अझै रोपाइको सुरुवात गर्न सकेका छैनन्। कृषक चन्द्रमायाको जस्तै पीडा अहिले हजारौँ किसानको साझा गुनासो बनेको छ ।

झापाको शिवसताक्षी, दमक, अर्जुनधारा, बुद्धशान्ति, कमल र बिर्तामोड पालिकाहरूमा अघिल्ला वर्षहरूमाजस्तो समयमै रोपाइ हुन सकेको छैन। कृषि ज्ञान केन्द्रका अनुसार, वर्षा र सिँचाइ अभावले रोपाइ हुन सकेको छैन । झापाको पश्चिमी भाग माईपश्चिम क्षेत्रमा कन्काई सिँचाइ आयोजना बाहेक कुनै ठूला सिँचाइ संरचना छैन। कन्काई सिँचाइ आयोजनाबाट झापाका शिवसताक्षी, गौरीगञ्ज, गौरादह र कमल क्षेत्रका ८ हजार हेक्टर जमिनमा मात्र पानी पुग्छ ।
जिल्लाका केही क्षेत्रमा साना तिना सिँचाइ आयोजनाहरू सञ्चालनमा छन्। जसको सहायताले केही क्षेत्रको धान रोपाइ भएको छ। तर, बिद्युत् सुविधा भएका क्षेत्रमा पनि सबै किसानले मोटरको सहायताले सिँचाइ गर्न सक्ने स्थिति छैन ।
किसानहरू भन्छन्, ‘यो वर्ष रोपाइ हुन सकेन भने, अर्को वर्ष भोकमरीको खतरा हुन्छ ।’ स्थानीय सरकारले दीर्घकालीन किसानमैत्री नीति ल्याएर भरपर्दो सिँचाइ सुविधा सुनिश्चित गर्न किसानले स्थानिय सरकार संग माग गरेका छन् । किसानसँग किनेर खाने आर्थिक हैसियत छैन। यो वर्ष धान रोपाईँ नभएर अर्को वर्ष भोकमरी हुने उनिहरुको अनुमान छ ।


























