हेपाटाइटिसबिरुद्धको सचेतना

0
59

हेपाटाइटिस अहिले विश्वको लागि चुपचाप आउने मृत्युका रुपमा फैलिएको छ । एक प्रकारको भाइरसबाट सर्ने यो रोगले मानिसको कलेजोमा असर गर्दछ । वर्षाको बेलामा बढी देखिने यसको पहिचान समयमै गर्न सकिएन भने कलेजोमा संक्रमण बढ्दै जान्छ र मानिसको मृत्यु हुनसक्छ । एड्सभन्दा पनि खतरनाक मानिने हेपाटाइटिसबाट प्रति वर्ष तेह्र लाख मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । भाइरसको प्रवेशले कलेजो सुन्निने र कामै नलाग्ने अवस्थामा पु¥याउँछ । ‘ए, बी, सी, डी र ई’ सम्म पाँच प्रकारका हेपाटाइटिसमध्ये बी र सीलाई बढी घातक मानिएको छ । प्रत्येक वर्ष बीस लाख हेपाटाइटिसका नयाँ बिरामी थपिने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

दुषित खाना र पिउने पानीका माध्यमबाट सर्ने यो रोग रोगी मानिसको प्रत्यक्ष सम्पर्कबाट पनि सर्ने चिकित्सकहरुले बताएका छन् । हेपाटाइटिसको बढ्दो संक्रमणबाट जोगिन विश्व स्वास्थ्य संगठनले विश्वलाई स्वस्थ बनाउने अभियान सञ्चालन गरेको छ । त्यसै अनुसार हरेक वर्ष जुलाइ २८ का दिन विश्व हेपाटाइटिस दिवस मनाइन्छ । आज यही कारण विश्वभर चेतनामूलक कार्यक्रमका साथ विश्व हेपाटाइटिस दिवस मनाइँदैछ । भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने उद्देश्यका लागि मनाउन थालिएको यो दिवसले यो रोगका प्रतिको अज्ञानता र अनिभिज्ञता हटाउने अपेक्षा गरेको छ । विश्व स्वास्थ्य संगठनको विश्वव्यापी हेपाटाइटिस रणनीति अनुसार आउँदो सन् २०३० सम्ममा संक्रमण र मृत्युदर घटाउने लक्ष्य छ ।

नेपालमा हेपाटाइटिस रोगबाट तीन लाख जना मानिस पीडित रहेको चिकित्सकहरुको अनुमान छ । समयमै रोगको पहिचान नहुँदा र उपचार नगर्दा मानिसको अकालमै मृत्यु हुनसक्छ । यसको बढ्दो संक्रमण र भयावहताका कारण संयुक्त राष्ट्रसंघको आह्वानमा मनाउन थालिएको यो दिवस नेपालका सन्दर्भमा झनै महŒवको छ । किनकि नेपाल जस्तो विकासोन्मुख देशमा न जनतामा सचेतना छ न त सरकारले यसका बिरुद्ध राष्ट्रिय नीति नै निर्माण गरेको छ । वर्षमा एकदिन अन्तरक्रिया, छलफल र गोष्ठी गरेर मात्र महामारी सरह ठानिएको हेपाटाइटिसलाई उन्मुलन गर्न सकिँदैन । विश्व स्वास्थ्य संगठनको सन् २०३० भित्र हेपाटाइटिस मुक्त विश्व निर्माण गर्न हरेक व्यक्ति सचेत हुनै पर्दछ । अझ नेपालको सन्दर्भमा प्रत्येक व्यक्ति आफ्नो स्वास्थ्य प्रति सजग भई सामान्य लक्षण देखिनासाथ उपचारमा लाग्नुपर्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here