सार्वजनिक सम्पत्तिको रक्षा गर्नु नगरको दायित्व

0
80

सुरुङ्गा।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरभित्र रहेका सार्वजनिक सम्पत्तिको रक्षा गर्नु स्थानीय सरकारको दायित्व भएको बताएका छन् ।

मेयर पोखरेलले उक्त कुरा वचनवंशी कवीर आश्रम कनकाई-४ ले आयोजना गरेको पत्रकार भेटघाटमा बताएका हुन् । आफूले जोतभोग गर्दै आएको जमिन उपभोग गर्न पाउनु पर्ने माग गर्दै कवीर आश्रम समितिले स्थानीय सरकार कनकाई नगरपालिकासँग लिखित अनुरोध गरेकाले नगरले आवश्यक कदम चालेको पोखरेलले बताए ।

कवीरको समस्यालाई नेकपा माओवादी (विप्लव) सँग जोड्नु गलत भएको उनको भनाइ थियो । को सुकुम्बासी र भूमिहीन हो र को ढुकुमबासी र जालीझेली हो, यो कुरा सर्वहारा जनताको मुक्तिको लागि हिँडेको विप्लव नेतृत्वले बुझ्नुपर्ने पोखरेलको भनाइ थियोे ।

२०२० सालमा जिमदार देवीप्रसाद उप्रेतीले वचनवंशी कवीर आश्रमको नाममा ४ बिगाह जग्गा दर्ता गरिदिएका भए पनि सरकारी अमिनले २०५२ सालमा संस्थाको नाममा नापेको जमिन २ विगाह १६ कठ्ठा जग्गा रहेको पूर्व वार्ड अध्यक्ष कोमलप्रसाद पन्तले बताए ।

वचनवंशी कवीर आश्रम कनकाई ४ का अध्यक्ष रोमबहादुर बुढाथोकीको अध्यक्षता तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा पत्रकार भेटघाट कार्यक्रम भएको थियोे ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले उक्त जमिन वचनवंशी कवीर आश्रमकै भएकाले उनीहरुले नै उपभोग गर्न पाउनु पर्ने बताएका थिए। २०६७ सालमा एमाले, माओवादी केन्द्र, नेका, राप्रपा, जनमुक्ति पार्टी, संघीय समाजवादी लगायतका दलले कविर आश्रमको जग्गा सुरक्षित हुनुपर्ने आआफ्ना पार्टीको प्याडमा लेखेर दिएका थिए ।

सो कार्यक्रममा कनकाई- ४ का वडाध्यक्ष रोशन सुवेदीले कवीर आश्रमकै जग्गा भएकाले आफूहरूले जग्गाको संरक्षण गर्न घेराबारा गरेको बताए। जग्गा हडप्न बाह्य शक्तिको सहयोग लिएर छिमेकी गाउँपालिकाका आफूलाई प्रतिष्ठित सम्झने र जनताका नजरमा जालझेल गर्ने मानिस लागिपरेको अवस्था रहेकाले कवीर आश्रमको जग्गा संरक्षण गर्न आफूहरु अग्रसर भएको वार्ड अध्यक्ष सुवेदीले बताए ।

वार्ड अध्यक्षहरु भीष्मभूषण सिटौला, लीलाबहादुर कटुवाल, युवराज चम्लागाईं, कार्यपालिका सदस्यहरु कृष्णमाया भुजेल, नरादेवी मगर, जनप्रतिनिधिहरू शेषराज प्रसाईं (राजु), मोहन संग्रौला, मन्दिरा दियाली, सुलभ भण्डारी, हरि राई, निर्मला खड्का, गोविन्द सुवेदी, अनिल गोयल, कविरकुटी संस्थाका उपाध्यक्ष इन्द्रकुमारी पाण्डे, सदस्यहरू टहलदास नेपाल, भूपाल मैनाली, सल्लाहकार सीताराम निरौला लगायतको उपस्थिति रहेको कार्यक्रममा संस्थाका सदस्य खगेन्द्र पाण्डे, स्थानीयहरू नन्दकुमारी मिश्र, देवेन्द्र मिश्र, धनमाया दाहाल, सुकबहादुर प्रधान, खेम शिवाकोटी, लालबहादुर ओझा, देवेन्द्र मैनाली, बलराम अधिकारी लगायतले कविर आश्रमको २ बिगाहा १६ कठ्ठा जग्गा संरक्षण गरिनुपर्नेमा जोड दिएका थिए ।

हाल सो जग्गा क्षेत्र भित्र देवेन्द्र मिश्र, दिनेश शिवाकोटी, सरस्वती ठाकुर, दिनेश मैनाली, नैनकला मिश्र, दयाराम उप्रेती, मोहन शिवाकोटी लगायत ९ घर रहेका छन् । कविर आश्रम समितिले जनाए अनुसार नैनकला मिश्र, दिनेश मैनाली र दयाराम उप्रेतीले मात्रै जग्गा छोड्न नचाहेको कारणले आजको समस्या सृजना भएको हो । बाँकी ६ घरपरिवार समिति र नगरपालिकाको निर्णय मान्न तयार भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here