ज्यामिरगढीमा झोलुङ्गे पुल बन्यो, भुक्तानी गर्न नगरपालिकालाई सकस

0
259

मेचीनगर।

ज्यामिरगढीको बहुचर्चित ‘झोलुङ्गे पुल’ को निर्माण कार्य सम्पन्न भएको छ । तर, ठेकेदारलाई भुक्तानी गर्न नगरपालिकालाई सकस भएको छ ।

मेचीनगर–१५ स्थित ज्यामिरगढी क्षेत्रको ‘झोलुङ्गे पुल’ २०७९ असारमा निर्माण कार्य सुरु भएको थियो । निर्माण कार्य स्थगित हुँदै सुरु गरिएको पुल अहिले तयारी अवस्थामा छ ।
पुलको प्राविधिक बाहेक सबै काम सकिएको छ । अब ‘झोलुङ्गे पुल’ उद्घाटनको नजिकमा छ ।

साविकको ज्यामिरगढी गाविस हाल मेचीनगर–७ र १५ नम्बर वडाभित्र पर्दछ । जसको मध्येभागमा निन्दा खोला छ । वडा नम्बर १५ को भूगोल क्षेत्र साविक गाविसको ठुलो भाग समेटिएको छ ।

निन्दा खोला वारी–पारी गर्न कुनै पुल थिएन । विगतमा चौधरी चौक पूर्व निन्दा खोलामा मोटरेवल पुल बनाउन सर्वे भएर पनि योजनामा समावेश हुन सकेको थिएन । पुल बनिएपछि हाल वडा नम्बर १५ को बिचार्नी बजार र हेल्दुबारी गाउँलाई जोड्न पनि सहज भएको छ ।

‘झोलुङ्गे पुल’ का लागि नगरपालिका र सांसदहरुले संयुक्त प्रयास गरेसँगै योजनामा समावेश भएको थियो । आर्थिक वर्ष २०७८÷०७९ मा समावेश भएको योजना ०७९ माघमा ठेक्का आह्वान गरिएको थियो ।

तत्कालिन नगरप्रमुख विमल आचार्यको कार्याकालमा बजेटको स्रोत सुनिश्चित नगरी ठेक्का आह्वान गरिएको थियो । २०७९ चैतमा दोस्रो कार्यकालका लागि स्थानीय तहको चुनाव भयो । चुनावमा निर्वाचित भएपछि नगरप्रमुखको पदभार गोपालचन्द्र बुढाथोकीले २०७९ जेठ १२ गते समालेका थिए ।

नगरप्रमुख बुढाथोकी आएपछि झोलुङ्गे पुल निर्माणका लागि मेचीनगर नगरपालिका र थानी निर्माण सेवा प्रालि काठमाडौँबीच २०७९ असार ३० गते सम्झौता भएको थियो । २०८१ पुस २७ गते निर्माण सम्पन्न गरिसक्नु पर्ने थियो । तर, बजेट अभाव भएपछि फेरि म्याद थप गरेर २०८२ पुस २७ गते सम्मलाई ठेक्का सम्झौता थप गरिएको थियो ।

क्रमागत रुपमा संघीय सरकारले बजेट पठाउँला भन्ने आशले तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का लगाइएको नगरपालिकाका इन्जिनियर जीवन भट्टराईले बताए । मेचीनगर नगरपालिकाले ठेक्का लगाएको पुलको संघीय सरकारबाट बजेट नआएपछि अधुरो रहेको थियो ।

नगरपालिकाले सुरुमा भुक्तानी गरेको बजेट बाहेक निर्माण व्यवसायी (ठेकेदार)ले नै आफ्नै रिक्समा पैसा हालेर अहिले पुल पूरा गरेको छ । थानी निर्माण सेवा प्रालिका प्राविधिक इन्जिनियर शेखर रायमाझीले चार करोड ३८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको बताए ।

ठेकेदारलाई सुरुमा नगरपालिकाबाट ७४ लाख रुपैयाँ भुक्तानी भएको थियो । नगरपालिकाले अहिलेसम्म सशर्त अनुदान शिर्षक अन्तरगत एक करोड १० लाख रुपैयाँ भुक्तानी गरिसकेको छ ।
रायमाझीले भने–‘पैसा आउँछ, आउँदैन थाहा छैन । तर, पुलको काम सकेका छौँ । नगरपालिकालाई भुक्तानीका लागि निवेदन दिएका छौँ । ताकेता गरिरहेका पनि छौँ ।’

उनका अनुसार प्रालिले यसवर्ष (२०८१÷८२) मा पाँच वटा ठेक्कामा यो पुलको ठेक्का पनि सम्पन्न गरिसक्नु पर्ने बाध्यता थियो । त्यसैले पनि जोखिम मोलेर काम सकेको हो । ठेकेदारको लगानी भएको पैसाको बजेट सुनिश्चिताका लागि पनि नगरपालिकाले प्राविधिक रुपमा प्रक्रिया पूरा गरिदिएको इन्जिनियर भट्टराईले जानकारी दिए ।

‘नगरपालिकाले ठेक्का लगाएकोले बाँकी रकम भुक्तानी गर्नु पर्ने दायित्व छ’, नगरप्रमुख बुढाथोकीले भने–‘ठेकेदारले भुक्तानीका लागि निवेदन पेश गरेको छ । यो आर्थिक वर्षमा शहरी विकास मन्त्रालयले विनियोजित गरेको भनिएको रकम उक्त मन्त्रालय मातहत स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय इटहरीले भुक्तानी गर्न नसक्ने भनेको छ ।’

पुल निर्माणमा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय इटहरीको प्राविधिक सहयोग मात्र रहेको छ । आधुनिक शैलीको उक्त पुलको लम्बाई ३५० मिटर, मल्टिस्पाम एनटाइप, ब्याकस्टेड सन्सपेन्सन र एक दशमलव ५ मिटर वकुवे चौडाईको रहेको छ । नगरपालिका मार्फत ठेक्का लगाइएको उक्त पुलको शिलान्यास चुनावमा निर्वाचित हुने वित्तिकै प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्मा र कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले २०७९ मंसीर १० गते गरेका थिए ।

नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद शर्माले केहि दिनअघि पनि झोलुङ्गे पुलमा लठ्ठा तानेर श्रमदान गरेका थिए । ‘नगरपालिकाले ठेक्का लगाएपछि बजेट सुनिश्चिताका लागि संघीय सरकारलाई धेरै पटक घँचघचाँए’, नगरप्रमुख बुढाथोकीले भने–‘सम्बन्धीत मन्त्रालयमा पत्राचार गरियो । बजेट ल्याउन कोशिस पनि गरियो । बजेट नआएकै कारण पुल निर्माणमा ढिलासुस्ती भयो । ठेकेदारले रिक्समा बाँकी पैसा हालेर काम सम्पन्न गरेको छ । भर्खरै पनि काठमाडौँ गएर सम्बन्धीत मन्त्रालयका अधिकारीहरुसँग उक्त पुलका लागि बजेट माग गरेका छौँ ।’

एक वर्षअघि ज्यामिरगढीका स्थानीय युवाहरुले ठेकेदारले पुलको निर्माण कार्य अधुरो पारेर छाडेको भन्दै विरोध गरेका थिए । उनीहरुले ज्यामिरगढीमा सांसद् शर्मा र मेयर बुढाथोकी हराएको सूचना व्यानर र पम्लेट बनाएर विरोध स्वरुप व्यापक प्रचार प्रसार गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here