झापा ।

पूर्वी नेपाल कांकरभिट्टाबाट हुने मानव तस्करी अझै रोकिएको छैन् । पूर्वी पहाडी जिल्लाका युवतीहरुलाई रोजगारीको प्रलोभन देखाएर कांकरभिट्टा नाका हुँदै भारत तर्फ मानव तस्करी हुने गरेको तथ्य खुलेको छ ।
४१ औं बटालियन सशस्त्र सीमा बल, रानीडाङ्गाको विशेष गस्ती टोलीले नेपाल– भारत सीमामा अवस्थित पानीट्याङ्कीबाट सात जना युवतीको उद्धार गर्नुका साथै मानव तस्करीमा संलग्न दुई जना पक्राउ परेसंगै पूर्वी नाकाबाट मानव तस्करी हुने क्रम नरोकिएको पुष्टि भएको हो ।
भरतीय सिमा सुरक्षा बल एसएसबीको टोलील नेपालबाट भारतमा तस्करीको लागि ल्याइँदै गरेका सात नेपाली युवतीहरूलाई तस्करहरूको पञ्जाबाट उद्धार गर्न सफल भएको छ । साथै भारतीय प्रहरीले सीमा स्तम्भ नम्बर ९० अन्तरगतको करिब १५० मिटर भित्रबाट दुई मानव तस्करहरूलाई पक्राउ गरेको छ ।
उद्धार गरिएका युवतीहरू नेपालको संखुवासभा जिल्लाका बासिन्दा भएको खुलेको छ । उनीहरुको उमेर १६ देखि २१ वर्षका बीचमा रहेको छ । तस्करीमा संलग्न ६१ वर्षीय जापान गुरुङ र ४१ वर्षीय दिपेश गुरुङलाई पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ । उनीहरु नेपाल र भारत देशमा मानव तस्कर गर्न सक्रिय रहेको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसन्धानबाट युवतीरूलाई जागिरको नाममा हङकङ र अन्य देशहरूमा तस्करी गर्ने योजना अनुरुप पूर्वी नाका कांकरभिट्टाबाट भारत तर्फ लैजाँदै गरेको खुलेको हो । गाउँमा ’दादा’ भनेर चिनिने जापान गुरुङले युवतीहरूका आमाबाबुलाई प्रलोभनमा पारेर उनीहरूबाट एक लाखदेखि एक लाख ५० हजार नेपाली रुपैयाँ असुल्ने गरेको खुलेको छ ।
उनीहरुले युवतीहरुको भारतीय ठेगानामा नक्कली आधार, प्यान र मतदाता कार्ड बनाएका थिए । उनीहरूलाई नक्कली राहदानी जारी गरिएको थियो । पक्राउ परेका मध्ये दिपेश गुरुङ एक ट्याक्सी चालक हुन् । उनले युवतीहरूलाई सीमा पार गर्दै सिलिगुडी पु¥याउने गरेका थिए । उनी विगत दुई–तीन वर्षदेखि यसरी युवतीहरुलाई सिमा कटाउने काममा लागेको खुलेको छ ।
प्रहरीको अनुसन्धानका क्रममा तस्करहरूले युवतीहरूको थर ’गुरुङ’ जबरजस्ती परिवर्तन गर्ने र नक्कली कागजातहरू बनाउने गरेको खुलेको छ । साथै उनीहरुले भारतबाट राहदानी लिएर विदेश पठाउन सहज हुने भन्दै प्रलोभनमा पार्ने गरेको खुलेको छ । चालक दिपेले प्रहरी समक्ष आफ्नो छोरा हङकङमा रहेको र तस्करी नेटवर्क मार्फत विदेश लैजाने गरेको स्वीकार गरेका छन् ।
साथै यस तस्करीमा रतन बर्मन, रोहित गुरुङ र रमन बर्मन लगायतका ब्यक्तिहरु कागजातहरू बनाउनमा संलग्न रहेको र उनीहरुको असम, सिलिगुडी र नेपालसँग सम्बन्ध राम्रो रहेको अनुसन्धानका क्रममा खुलेको छ । प्रहरीले अनुसन्धानलाई थप गम्भिर ढंगबाट अनुसन्धान गर्न भन्दै सात नेपाली युवती र दुई जना मानव तस्करलाई खोरीबारी प्रहरी चौकीमा राखिएको छ । भारतीय प्रहरीले कानुनी कारबाही शुरु गरेको जनाइएको छ ।
पूर्वी नाकाबाट नेपाली चेलीलाई भारत पु¥याउने गरेको खुलेसंगै भारतीय सिमा क्षेत्रमा प्रहरीसंगको समन्व्यमा निगरानी बढाएको सामाजिक अभियान्त विष्णु आर्चायले जानकारी दिए । उनले विभिन्न प्रलोभनमा पारेर पूर्वी पहाडी जिल्लाका युवतीहरुलाई सिमा कटाउने क्रम बढ्दै गएको भन्दै त्यस तर्फ सबै सजग बन्नु पर्ने बताए । भारतीय प्रहरीले सात जना चेलीको उद्धार गर्नुका साथै मानव तस्करमा संलग्न दुई जनालाई पक्राउ गरेसंगै अन्य तस्करहरुको विवरण खुल्ने र त्यस तर्फ भारतीय प्रहरीसंग नेपाल प्रहरीले समन्व्य गरेर अनुसन्धानलाई तिब्रता दिनुपर्ने आर्चायको भनाई छ ।
यस अघि दुई जना नेपाली चेलीको भारतीय दुतावासको समन्व्यमा उद्धार गरेर नेपाल ल्याइएको थियो । झापाको अर्जुनधाराकी एक युवती र ताप्लेजुङकी अर्की एक युवतीको पनि उद्धार गरिएको थियो । भारतीय प्रहरी र इलाका प्रहरी कार्यालय कांकरभिट्टाको समन्व्यमा उद्धार गरिएको थियो ।






























