आकर्षक रोजगारीको प्रलोभनमा पारेर सोझासाझा किशोरी तथा युवतीलाई भारतका विभिन्न शहरमा पु¥याउने गरेको तथ्य बाहिरिएको छ । नेपालको पूर्वीनाका काँकरभिट्टाबाट हुने गरेका मानव तस्करीको पुष्टि पूर्वी–नेपालको पहाडी जिल्ला संखुवासभाका सात जना पक्राउ परेकोबाट भएको हो । त्यसो त यसअघि पनि पश्चिम नेपालका विभिन्न जिल्लाबाट आकर्षक रोजगारीको प्रलोभनमा ल्याइएका किशोरी तथा युवतीहरु काँकरभिट्टा नाकाबाट उद्धार गरी परिवारको जिम्मा लगाइने गरेको थियो । मानव बेचबिखनमा संलग्न गिरोहले बेचबिखनका लागि लगिँदै गरेका उनीहरुलाई माइती नेपालका सीमा निगरानीकर्ताले प्रहरीसँगको समन्वयमा उद्धार गर्ने गरेको छ ।

केही वर्षयता काँकरभिट्टा नाकाबाट लुकिछिपी भारतको शिलगढी नजिकका क्षेत्रमा पु¥याएर नेटवर्किङदेखि बन्धक बनाएर घरेलु, होटल तथा रेष्टुराँहरुमा कामदारका रुपमा राख्ने गरेको पाइएको थियो । माइती नेपाल तथा प्रहरीको कडा निगरानीका बीच पनि यस्तो तस्करी नरोकिएको पछिल्लो घटनाले देखाएको छ । संखुवासभा जिल्लाका सात जना किशोरी तथा युवतीलाई भारतीय सीमा सुरक्षा बलको टोलीले उद्धार गरेको छ । एसएसबीको टोलीले दुई जना मानव तस्करलाई समेत पक्राउ गरेको छ । सोह्रदेखि एक्काइस वर्षका बीचका ती किशोरी र युवतीहरुलाई लैजाने तस्कर समेत पक्राउ परेका छन् । जापान गुरुङले युवतीहरुलाई उनीहरुका आमाबुवालाई प्रलोभनमा पारेर हङकङ लगायतका देशमा पठाउने भन्दै अभिभावकसँग समेत रकम असुल्ने गरेको खुलेको छ । पक्राउ परेका अर्का दिपेश गुरुङ ट्याक्सी चालक रहेको र उनले युवतीहरुलाई सीमा कटाएर शिलगढीसम्म पु¥याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पूर्वी नाकाबाट हुने मानव तस्करीमा अन्य व्यक्तिहरु पनि संलग्न रहेको बताइएको छ । उनीहरु नक्कली कागजात बनाउन संलग्न रहेको एसएसबीको अनुसन्धानबाट खुलेको हो । माइती नेपालका कोशी प्रदेश संयोजक गोबिन्द घिमिरेले मानव बेचबिखनमा संलग्न गिरोहले रोजगारीको बहानामा प्रलोभनमा पारेर फकाएर भारत लैजाने गरेको बताएका छन् । यसबीचमा माइती नेपालकै निगरानीमा धेरैलाई उद्धार पनि गरिएको छ । पहिला तस्करी गरी लगिएका युवतीहरुलाई यौनशोषण हुने कोठीमा पु¥याइन्थ्यो भने अहिले वैदेशिक रोजगारीका लागि नक्कली कागजात र अवैध बाटो प्रयोग गर्ने क्रम बढेको छ । त्यसो त यस्तो अपराधको कारण देशमा रोजगारीको अवसर नहुनु नै हो । गरिबी, अशिक्षा र चेतनाको कमिका कारण पनि मानव तस्करी बढेको छ । यसलाई रोक्न सरकार नै अग्रसर हुनुपर्छ, रोजगारीको अवसर सृजना गर्नुपर्छ र स्वदेश मै बस्न आमनागरिकलाई वातावरणसहितको उत्प्रेरणा प्रदान गर्नुपर्छ ।




























