झापा।

झापाका पोल्ट्री व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना समस्याहरु अवगत गराएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पोल्ट्री क्षेत्रमा देखिएका समस्या चाँडै समाधान गरिने आश्वसन दिएका छन् । नेपाल र भारतमा कुखुराको मासु, चल्ला, अण्डा, दाना, कर लगायतका पोल्ट्री व्यवसायीका समस्याहरुका विषयमा भर्खरै प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएका थिए ।
प्रधानमन्त्री ओलीलाई नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष लक्ष्मीदास मानन्धर, नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीको हस्ताक्षर रहेको ज्ञापनपत्र बुझाइएको थियो । झापा लगायत देशभरि ह्याचरी र दानाको समस्या भएकाले समाधानका लागि प्रधानमन्त्री ओलीसँग भेट गरिएको मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईले बताए ।
प्रसाईले प्रधानमन्त्री ओलीले किसानहरुको समस्या चाँडै समाधानका लागि पहल गरिने बताएको जानकारी दिए । कुखुराको दानाका लागि भारतबाट आयात हुने भटमास र मकैको पिनालाई नेपालको भन्सारले कृषि सुधार शुल्क भनेर किसानलाई मकैमा ५ प्रतिशत र भटमासमा ९ प्रतिशत कर लाउने गरेको नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय सदस्य सुवोध निरौलाले बताए ।
कुखुराको दानाका लागि कच्चा पदार्थका रुपमा भटमासको पिना र मकै भारतबाट आयात हुने गरेको छ । नेपालमा मकै ३० प्रतिशत मात्र उत्पादन हुन्छ भने भटमासको उत्पादन नगन्य छ ।
भटमास र मकैका लागि भारत गइरहेको ठुलो धनराशी रोक्न पनि किसानलाई समयमा नै मलखाद, सिँचाई, विउँविजन र कृषि तालिमको व्यवस्था गर्नु पर्ने संघको माग छ ।
‘विगत ५ वर्षमा नेपालमा ३५ लाख चल्ला उत्पादन हुन्थ्यो’, केन्द्रीय सदस्य निरौलाले भने–‘अहिले हप्तामा उत्पादन भएका २६ लाख चल्ला मात्र बिक्री हुन्छ । हप्तामा ५ लाख कुखुराको मासु बिक्री नभएर खेरा गइरहेको छ ।’
खुल्ला सीमा नाका कारण प्रतिबन्धित कुखुराको मासु, चल्ला र अण्डा अवैध रुपमा नेपाल छिरिरहेको निरौलाको दावी छ । नाकामा अवैध रुपले आइरहेको पोल्ट्रीजन्य पदार्थले सरकारलाई कर पनि नआउने र बर्डफ्लु जस्तो रोग निम्तिने खतरा रहेको छ ।
नेपालमा प्यारेन्ट चल्ला, एकदिने ब्रइलर चल्ला, तयारी कुखुराको अण्डा र दानामा आत्मनिर्भर बन्दै गइरहेकाले सीमा नाकाबाट अवधरुपमा भित्रिन नदिन कडाइ गर्नु पर्ने उनीहरुको भनाई छ ।
भन्सार छुट र अवैध रुपमा छिरेका पोल्ट्रीजन्य पदार्थ रोक्न प्रधानमन्त्रीसँग गम्भिर छलफल गरिएको निरौलाले बताए ।
संघको तर्फबाट टोलीमा नेकपा एमालेका नेता विष्णु प्रसाई, नेपाल उद्योगा बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, मेची उद्योग बाणिज्य संघका अध्यक्ष प्रसाई, नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष मानन्धर, नेपाल दाना उद्योग संघका अध्यक्ष पुरी, नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय सदस्य निरौला लगायत रहेका थिए ।































