कोशीमा विद्युत ट्रान्सफर्मर चोरी गर्ने ७ र चोरीको सामान खरिद गर्ने ५ जना पक्राउ

0
88

योगेन्द्र योगी
बिराटनगर,

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विद्युत ट्रान्सफर्मर चोरीका घटनामा संलग्न ७ जना र चोरीको सामान खरिद गर्ने ५ जनालाई पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहानिरीक्षक ईश्वर कार्कीले विभिन्न मितिमा मोरङ, सुनसरी र झापा जिल्लाका विभिन्न स्थानहरुबाट विद्युतिय ट्रान्सफर्मर चोरी भएका घटना तथा चोरीमा संलग्न व्यक्तिहरु, चोरीका समान खरिद गर्ने व्यक्तिहरु र चोरी गर्न प्रयोग भएका औजार सहितको घटना विवरण सार्वजनिक गरेका हुन्।

जिल्लाका बिभिन्न स्थानहरुमा जडान गरिएको बिधुतिय ट्रान्सफर्मरहरु बिभिन्न मितिमा चोरी भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रादेशिक अपराध अनुसन्धान समुह विराटनगर कोशी प्रदेशको नेतृत्वमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरु समेतबाट प्रहरी टोली परिचालन गरी ट्रान्सफर्मर भएको एरिया इलाकाहरुमा विशेष निगरानी बढाई संकास्पद स्थानहरुमा स्टिङ अपरेशन, प्राविधिक विश्लेषण, सिसि टिभी निगरानी तथा चोरी भएका ट्रान्सफर्मरका सामग्रीहरु बिक्रि तथा खरिद गर्न सक्ने सम्भावित कवाडी पसल, भाँडा पसल तामा फ्याक्ट्रीहरुमा निगरानी तथा खानतलासी गर्दा चोरीमा संलग्न ७ जना व्यक्तिहरु र उक्त चोरीका सामग्री खरिद गर्ने ५ जनालाई ट्रान्सफर्मर चोरीमा प्रयोग भएका औजार, सवारी साधनहरु तथा ट्रान्सफर्मरमा प्रयोग भएका तामाको तारहरु सहित नियन्त्रणमा लिएको माहानिरीक्षक कार्कीले जानकारी दिए।

बिभिन्न समुहहरु बनाई ट्रान्सफर्मर चोरीमा संलग्न व्यक्तिहरुको खोजतलास तथा अनुसन्धानको क्रममा मोरङ ग्रामथान-४ का ४२ बर्षीय अर्जुन कुमार माझी, ग्रामथान- ५ का ३१ बर्षीय इरज धामी, बेलबारी- ३ का २७ बर्षीय रञ्जित तामाङ, बेलबारी- ४ का २६ बर्षीय अर्जुन चौधरी, सुनसरी दुहवी-३ का ३५ बर्षीय अनुज विस्वास, दुहवी- २ का ३९ बर्षीय प्रयाग कुमार खाँ चौधरी र भारत घर भई हाल दुहवी- ४ स्थित ससुराली घरमा बस्दै आएका ३४ बर्षीय आलम मिँयालाई पक्राउ गरिएको हो भने चोरीको सामान खरिद गर्ने विराटनगर-३ का ५३ बर्षीय लक्ष्य प्रधान, विराटनगर- ६ का ६२ बर्षीय कृष्ण गोपाल ताम्राकार, सुनसरी दुहबी-३ का ३२ बर्षीय योगेश अग्रवाल, दुहबी- २ का ३१ बर्षीय कपिल भट्ट र इटहरी- ४ का ३९ बर्षीय सिताराम राईलाई उनिहरुले खरिद गरेको चोरीको सामग्री सहित नियन्त्रणमा लिएको थियो ।

प्रहरीले सुनसरीको इटहरी-१४ स्थित इरज धामीको डेरा कोठाबाट ७ किलोग्राम, इटहरी-४ का सिताराम राईको भाडा पसलबाट ४७ किलोग्राम, इटहरी स्थित दिलिप चौधरीको कवाडी पसलबाट १२० किलोग्राम, मोरङ बुढीगंगा-३ स्थित बिनय साहको यस यस मेटल फ्याक्ट्रीबाट ११५ किलोग्राम, बिराटनगर-६ का अजय साहको दुर्गा भाडा पसलबाट ६२ किलोग्राम, कृष्ण गोपाल ताम्राकारको मनकामना मेटल्स एण्ड सप्लायर्सबाट १७ किलोग्राम, लक्ष प्रधानको कवाडी पसलबाट ५२० ग्राम ट्रान्सफर्मरमा प्रयोग हुने तामाको तार बरामद गरेको थियो भने चोरीमा संलग्न व्यक्तिहरुबाट बिभिन्न साइजका डायल रेन्च थान २२ थान, सलाई रेन्च ३ थान, पिलास ३ थान, पेचकस ३ थान, छिनो १ थान, साङली १ थान, कैची १ थान, ह्याक्सो बिलेट ३ थान, खन्ती १ थान, व्याट्री सहितको इलेकट्रिक ग्रेन्डर १ थान, झम्पल १ थान र उनिहरुले प्रयोग गरेका को. १ च ७७२९ नम्वरको पिकप गाडी १ थान, बिभिन्न कम्पनीको ५ थान मोटरसाइकल र १२ थान मोवायल समेत बरामद गरेको थियो ।

उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख कार्कीले कोशी प्रदेश प्रहरी कार्यालयले १ बर्षको अवधिमा गरेका सफल अनुसन्धान, अपराध नियन्त्रण तथा अनुसन्धान, विपद व्यवस्थापन, ट्राफिक व्यवस्थापन, सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएका गतिविधि लगायत प्रहरीले गरेका नविनतम कार्यहरुको वार्षिक कार्य प्रगति विवरण समेतको गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here