पथरी शनिश्चरे,
मोरङको पथरी शनिश्चरे-०२ मा रहेको रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालयले कक्षा १२ एस.एल.सी . २०८२ को नतिजामा सर्वोत्कृष्ट ३.९६जी.पि.ए. ल्याई नेपाल प्रथम (NEB Board Topper) बन्न सफल विद्यार्थीहरूलाई पुरस्कृत तथा सम्मान गरेको छ।
आज शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित एक पत्रकार सम्मेलनमार्फत सर्वोत्कृष्ट नतिजा ल्याई नेपाल प्रथम बन्न सफल चन्दन शाह र प्रवीण कट्टेललाई पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले नगद ५० हजार सहित खादा, रुद्राक्ष माला र टीका लगाएर सम्मानित गर्नुभएको हो। 

वि.सं. २०७३ साल यता हरेक वर्ष राष्ट्रस्तरका विभिन्न परीक्षाहरूमा उत्कृष्ट नजिता हासिल गर्दै आएको सो विद्यालयबाट गत साल मात्रै एस.ई.ई. परीक्षामा कक्षा १० का अजय लिम्बु र सतिश आचार्यले ४जीपीए ल्याएर उत्कृष्ट रिजल्ट हासिल गरिरहेको विद्यालयका निर्देशक तथा प्रिन्सिपल टि.एन. तिम्सिनाले जानकारी दिनुभयो।
उक्त अवसरमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले पथरी शनिश्चरेमै सबै विषय समूह मध्ये सर्वाेत्कृष्ट ३.९२ जिपिए ल्याउन सफल मनिषा पोखरेल र प्रमिश रिजाललाई पनि नगदसहित सम्मान गर्नुभएको थियो ।
सम्मान पश्चात् नगर प्रमुख तुम्वापोले– ‘यस पटकको कक्षा १२ को परीक्षामा सर्वाेत्कृष्ट अंक ल्याई नेपाल प्रथम बन्न सफल भएकोमा विद्यार्थी, अभिभावक र विद्यालय परिवारलाई हार्दिक बधाई ज्ञापन गर्दछु । यो हाम्रो नगरकै शान हो , यसलाई विद्यालयले निरन्तरता कायम गरोस् शुभकामना! , भन्नुभयो। यस विद्यालयले पढाइका अतिरिक्त खेलकुद, गीत – संगीत, वक्तृत्वकला, आदिमा एक अब्बल दर्जाको विद्यालयमा दर्ज गरिसकेको चर्चा गर्नुभयो।

यसैगरी, पत्रकार भेटघाट कार्यक्रममा सम्मानित विद्यार्थीद्वय साह र कट्टेलले आ–आफ्ना भनाइहरु राख्नुभएको थियो । विद्यालयका प्राचार्य टि.एन. तिम्सिनाले विद्यालयद्वारा जारी प्रेस वक्तव्य मार्फत ५ लाख १० हजार ९ सय ८७ विद्यार्थी मध्येबाट रेडस्टार मावि पथरी शनिश्चरेका चन्दन साह र प्रविण कट्टेल कक्षा १२ को परीक्षामा नेपाल प्रथम भएका हुन् । रेडस्टारबाट कक्षा १२ को परीक्षामा सहभागी कूल २ सय ७० परीक्षा मध्ये २ सय ६२ जना (९७.०४%) ग्रेडेड र ८ जना ननग्रेडेड भएका छन् । नतिजा अनुसार ३१ जनाले ३.६ भन्दा माथि, १२७ जनाले ३.२ भन्दा माथि, ८९ जनाले २.८ भन्दा माथि र १५ जनाले २.४ भन्दा माथि जिपिए प्राप्त गर्न सफल भएको बताउनुभयो । उहाँले विद्यालयले गत वर्षको एस.ई.ई.को नतिजामा जम्मा १८६ जनाको ४ जिपिए आउँदै गर्दा विद्यालयका सतिश आचार्य र अजय लिम्बुले ४ जिपिए प्राप्त गरेको थियो । यसै वर्षको प्रकाशित बीबीएस प्रथम वर्षको नजितामा पनि छात्रा कृतिका भट्टराईले ७६.८० प्रतिशत अंक प्राप्त गर्दै यस क्षेत्रमै अब्बल सावित गरेकी थिइन् ।
सोही क्रममा सो विद्यालयले
Voice of Kids Season 4 का फाइनलिस्ट निश्चल लिम्बुलाई पनि उपाधि चुम्नका लागि १ लाख ५० हजार ५ सय बराबर रुपैयाँको चेक हस्तान्तरण गरेको थियो ।
सो अवसरमा विद्यालयका भाइस प्रिन्सिपल बसन्त मादेन, शैक्षिक संयोजक तीर्थ दाहाल , उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूका अभिभावक , शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।





























