बिर्तामोड । वडा तहसम्म अभियान सञ्चालनको तयारी गरिरहेको नेकपा एमाले बाह्रदशीले पूर्वतयारी कार्यक्रम अन्तर्गत नेता–कार्यकर्ताबीच अन्तरक्रिया गरेको छ । ज्येष्ठ नागरिक भवनमा सोमवार अगुवा कार्यकर्ता र नेताहरुबीच अन्तरक्रिया गरेको हो ।
नेकपा एमाले र सरकारविरुद्ध छरिएका भ्रम र वास्तविकताका बारेमा अन्तरक्रिया गरिएको हो । पछिल्लो समय नेकपा एमाले र सरकारविरुद्ध योजनावद्ध रुपमा भ्रम छरिएपछि अगुवा कार्यकर्ताहरुलाई यस सम्बन्धमा यथार्थ जानकारी दिने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको बाह्रदशी गाउँपालिका कमिटीका अध्यक्ष अनिल सापकोटाले जानकारी दिए । उनका अनुसार पार्टी र सरकारका विरुद्धमा छरिएका भ्रम चिर्नलाई सर्वप्रथम नेताहरुबाट यथार्थ कुराहरु बुझ्न कार्यक्रम गरिएको हो ।
गाउँपालिकास्तरीय अगुवा कार्यकर्ताहरु सहभागी अन्तरक्रियामा समूह बनाइएको थियो । विभिन्न पाँच समूहले पार्टी र सरकारविरुद्ध उठाउने विषय वस्तुहरुलाई प्रश्नका रुपमा प्रस्तुत गरेका थिए । समूहहरुबाट स्थानीय अगुवा कार्यकर्ताहरुले विशेष गरि पार्टी र सरकारमाथिको आरोपलाई जिज्ञासाका रुपमा राखेका थिए ।
रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको, गिरीबन्धु काण्ड, कम्बोडिया काण्ड, भिजिट भिजा, भ्रष्टाचार, पूर्व राष्ट्रपति विद्या भण्डारी र पार्टीभित्रको अन्तरविरोध जस्ता विषयहरुलाई गाउँगाउँमा छरेर भ्रम फैलाइरहेको भन्दै यसबारे नेताहरुलाई प्रष्ट बनाउन आग्रह गरिएको थियो ।
सहभागीहरुको प्रश्नमा नेकपा एमालेका केन्द्रीय सदस्य झापा इञ्चार्ज रोमनाथ ओली, केन्द्रीय सदस्य हरि बहादुर राजवंशी, जिल्ला उपाध्यक्ष शिव ढुङगेलले प्रष्ट्याएका थिए । पार्टीका झापा जिल्ला अध्यक्ष प्रेम बहादुर गिरीले अन्तरक्रियाको सहजीकरण गरेका थिए । जिल्ला सचिव तुलसी कार्की, जिल्ला सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
गाउँगाउँमा अभियान सञ्चालन गर्दा सदस्य र सर्वसाधरणहरुले गर्ने प्रश्नको जवाफ दिनका लागि नेताहरु मार्फत विभिन्न आरोपहरुबारे प्रष्ट बनाइएको हो ।
सय जनाभन्दा बढि अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको कार्यक्रममा २६ जना प्रश्न राखिएको थियो । कमिटीका उपाध्यक्ष यादव मिश्रले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहसचिव रविना ढकाल गरेकी थिइन् ।






























