वृद्धहरुको राजनीतिक वर्चस्व अन्त्य गर्नुपर्छ

0
85

‘नयाँ उमँग नयाँ जोशका हामी नवयुग पन्थ
नयाँ पृथिवी गर्छौ रचना गरी पुरानो भङ्ग’

उल्लिखित कवितांश विद्यालयीय पाठ्यपुस्तकमा समावेश थियो । आजको दिन पनि यो कविताले दिन खोजेको सन्देश सान्दर्भिक र कालजयी छ । यो कविता पाँच दशकअघि नै विद्यालयमा पढाइन्थ्यो र युवा वर्गलाई परिवर्तन र विकासको संवाहक हुन् भन्दै सिर्जनशील र ऊर्जाशील बन्न प्रेरणा दिने कवि र कविताको उद्देश्य थियो । वास्तवमा युवाहरुकै भरमा रहँदोरहेछ कुनै परिवार, समाज, राष्ट्र र विश्व पनि । आज विश्वमा जे–जति परिवर्तन र भौतिक विकाश भएको छ सबै युवावर्गकै पौरख र ऊर्जापूर्ण सेवाको परिणाम हो । युवावर्गको त्यही शक्ति र सामथ्र्यको सम्मान गर्दै संयुक्त राष्ट्रसंघले अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । सन् १९९९ देखि त्यही घोषणा अनुरुप विविध कार्यक्रमका साथ यो दिवस मनाइँदैछ ।

अन्तर्राष्ट्रिय उत्सव बनेको आजको दिन युवाहरुको मुद्दालाई स्थापित गर्ने अवसर हो । युवाका सवालहरुमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जागरुक गराउनकै लागि यो दिवस घोषणा गरिएको हो । देशको भविष्यका कर्णधार, वर्तमानका साझेदार, विकास र परिवर्तनका संवाहक भनेकै युवा हुन् । त्यसैले उनीहरुलाई सक्षम, सृजनशील, सिपयुक्त उद्यमी र जिम्मेवार बनाउने वातावरण राज्यले निर्माण गर्नुपर्दछ । हरेक देशका राजनीतिक, आर्थिक, सामाजिक तथा भौतिक परिवर्तनका मूल स्रोत र ऊर्जा युवा नै भएकाले राज्यले युवा लक्षित नीति, नियम, कानून र कार्यक्रम बनाएर युवावर्गलाई सम्बोधन गर्नुपर्छ । विश्वका धेरै राष्ट्रहरु त्यही यात्राबाट आज सम्पूर्ण विकासको माध्यमबाट समृद्ध बनेका छन् । त्यही विकासले हाम्रा लाखौं युवाहरु आकर्षित र सम्मोहित हुँदै देशबाट पलायन भइरहेका छन् ।

शिक्षा, स्वास्थ्य र रोजगारी युवाका मुख्य समस्या हुन् । युवालाई रोजगार बनाउन सरकारले कार्यक्रम त ल्याएको छ, तर प्रभावकारी कार्यान्वयन भएको छैन । त्यहीकारण बर्सेनि लाखौं युवाले विदेशिनु परेको छ । त्यसकै उदाहरण हो कि अहिले देशको अर्थतन्त्र रेमिट्यान्समा निर्भर हुनु । संविधानमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकका रुपमा समावेश गरिएको छ, तर त्यसको कार्यान्वयन भएको छैन । जसका कारण अवसरको खोजीमा विदेशिने युवाको लर्को लागेको छ । सरकारले युवा लक्षित सेवा, सहुलियत र अवसर प्रदान नगर्दा देशको भविष्य नै अन्यौल हुँदै गएको छ । राजनीतिक दलहरुले पनि युवालाई केबल भोट बैंकका रुपमा प्रयोग गरेका छन् । त्यसैले युवावर्ग आफैं राजनीतिमा प्रवेश गरेर वृद्धहरुको हालीमुहालीलाई विस्थापित गर्नुपर्छ । त्यसो नगरिएसम्म र युवाहरु नै अग्रसर नभएसम्म यस्ता दिवसले देशमा तात्विक परिवर्तन ल्याउन सक्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here