झापा ।

झापाको दमकमा ११ वर्षीय बालकको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक नगरपालिका–१० निवासी इन्द्र प्रसाईँका ११ वर्षीय छोरा धर्मेन्द्र प्रसाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आज बिहान ७ बजे बालक धर्मेन्द्र सोही ठाउँका कृष्णप्रसाद ढकालको ११ वर्षीय छोरा भूपेन्द्र ढकालसँग घरदेखि अन्दाजी २०० मिटर उत्तरमा रहेको भालु खोलामा पौडी खेल्न गएका थिए ।
त्यस क्रममा धर्मेन्द्रलाई खोलाले ६०० मिटर परसम्म बगाइरहेको अवस्थामा स्थानीयले देखेर उद्धार गरेका थिए । बालकलाई खोलाबाट निकाली उपचारको लागि निम्स अस्पताल दमक पठाउन साथ डाक्टरले मृत घोषित गरेका थिए ।
शव तत्काल सोही अस्पतालमा रहेको र कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय दमकबाट टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






























