शिवशताक्षीमा संगिनी समूहको ऐतिहासिक तीज मिलन: आएका अतिथि पनि तीज गीतमा छमछमी नाचे

0
224

विनोद सापकोटा
सताक्षीधाम,
इतिहासमै पहिलो पटक झापाको शिवसताक्षी नगरपालिका–११ स्थित सताक्षीधाममा आयोजित तीज मिलन कार्यक्रममा महिलाहरूको अभूतपूर्व भीड देखियो।
सताक्षी संगिनी विकास संस्थाको आयोजनामा भएको कार्यक्रममा कम्तिमा १ हजार ५०० महिलाको सहभागिता थियो। यही भिडले शनिबार गोलोक गोवर्धन गौशालाको कार्यक्रम हलमा महिलाहरूले सामूहिक दर खाँदै नाचगानसहित तीजको उल्लास मनाए।
गोलोक गोवर्धन गौशाला परिसरमा भएको यो कार्यक्रम हालसम्मकै ठूलो सहभागितामा सम्पन्न भएको आयोजक संस्थाकी अध्यक्ष तुलसा निरौला अधिकारीले बताइन्। उनका अनुसार यसअघि पनि तीज मिलन कार्यक्रम भए पनि यसपटक बेलैदेखि गरिएको प्रचार–प्रसार र महिलाको सक्रिय सहभागिताले कार्यक्रम ऐतिहासिक बन्न सफल भयो।
कार्यक्रममा समुदायका सबै जातजाति र भाषाका महिलाहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। अधिकांश महिला परम्परागत राता पहिरनमा सजिएर आएकाले सम्पूर्ण कार्यक्रम स्थल नै रङ्गीन र आकर्षक बनेको थियो। सहभागी महिलामध्ये धेरैले फोटो खिच्ने, भिडियो बनाउने र टिकटकमार्फत् उल्लास बाँड्ने काम समेत गरे । जसले कार्यक्रमलाई अझै जीवन्त र चर्चित बनायो।
कार्यक्रम स्थलको रूपमा शताक्षीधाम क्षेत्र छानिएकोले पनि सहभागिता अभूतपूर्व भएको आयोजकहरूले दाबी छ। धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले महत्व राख्ने यस स्थलमा महिलाहरू सामूहिक रूपमा भेला हुँदा तीजको वास्तविक यथार्थ अर्थात् आमा–दिदीबहिनीबीचको एकता, माया र संस्कृतिको जगेर्ना प्रकट भएको देखिन्थ्यो।।
कार्यक्रममा झापा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सांसद एलपी सावा लिम्बुले पनि महिलाको उपस्थिति देखेर उत्साह प्रकट गरे। उनले भने, ‘मलाई सामान्य कार्यक्रम जस्तो लागेको थियो, तर यहाँको ऊर्जा र महिलाहरूको सहभागिता देखेर मैले पनि नयाँ प्रेरणा पाएँ।’
त्यस्तै, कोशी प्रदेश सांसद राधाकृष्ण खनालले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै यो कार्यक्रम ऐतिहासिक भएको बताए। आयोजक संस्था का पदाधिकारी तथा सदस्य समूहका प्रत्यक्ष सहभागी मात्र नभई सयौं आमा–दिदीबहिनीको अप्रत्यक्ष ऊर्जाले यो कार्यक्रम ऐतिहासिक रूपमा सफल र सम्भव भएको बताए।
शिवसताक्षी नगर प्रमुख मेगाहाङ थोप्राले स्थानीय सरकार विविध जाति, भाषा र धर्मसँग जोडिएका संस्कृतिको जगेर्नामा सदैव प्रतिबद्ध रहने बताए।
कार्यक्रममा सङ्घीय सांसद एलपी सावा लिम्बु , शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेघाहाङ थोप्रा लगायतका दर्जनौं अतिथि आमा दिदीबहिनीसँग तीजका गीतमा छमछमी नाचेका थिए।
कार्यक्रमको सहजीकरण अनुराधा पौड्यालले गरेकी थिइन् । कार्यक्रमको औचित्य भने रन्जु सापकोटा ले गरेकी थिइन्। कार्यक्रमको अध्यक्षता गीता निरौला अधिकारीले गरेकी थिइन्।
हालसम्मकै ऐतिहासिक मानिएको यो तीज मिलन कार्यक्रममा महिलाहरूको सहभागिता, राता पहिरनको शोभा, सांस्कृतिक प्रस्तुतिहरूले सबै उमेर समूहका आमा दिदीबहिनी र उपस्थित दाजुभाइ लाई आनन्द प्रदान गरेको थियो।
कार्यक्रममा लोपन्मुख संगिनी नृत्य पनि आयोजकले प्रस्तुत गरेको थियो। कार्यक्रममा सहभागी भन्छन् ‘सामूहिक दरले मात्र होइन, महिला एकता र तीज पर्वको मौलिक महत्त्वलाई उजागर गर्दै स्थानीय सरकार र समुदायबीचको अपनत्वलाई अझ बलियो यो कार्यक्रमले बनाएको छ।’
कार्यक्रममा सहभागी हुन जानेका लागि स्थानीय सेभेन सीज अङ्ग्रेजी माध्यमिक विद्यालयले झिलझिले देखि सताक्षी धामसम्मको बस सुविधा समेत उपलब्ध गराएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here