कसैले देश छाड्नु नपरोस्

0
115

नेपालबाट विभिन्न क्षेत्रका प्राविधिकहरु सँगै चिकित्सा क्षेत्रका नर्स, डाक्टरहरुको विदेश पलायन निरन्तर बढ्दो छ । खासगरी डाक्टर तथा नर्सहरुको विदेश पलायनले नेपालमा स्वास्थ्य सेवाको पहुँच र उपचारमा चुनौती थपिएको छ । कतिपय डाक्टरहरुले थप अध्ययन गर्न, तालिममा सहभागी हुन विदेश जाने र उतै रहने कुरा पनि सामान्य जस्तै बन्दै गएको छ । डाक्टरहरुको यस्तो विदेशसँगको आकर्षणले चिकित्सा सेवाको भविष्य कमजोर हुने र उपचार गर्नकै लागि विदेश जानुपर्ने बाध्यता रहने देखिएको छ । डाक्टरहरुको विदेश पलायन उनीहरुको बाध्यता हुनसक्छ, किनकि सरकारको अदूरदृष्टि, सुविधा र प्रोत्साहनमा कमी अनि भागबण्डाको राजनीतिले यो क्षेत्र मात्र होइन देशकै अवस्था भद्रगोल छ ।

चिकित्सा क्षेत्र दलीय भागबण्डा खोज्ने ठाउँ होइन योग्यता, क्षमता, विशिष्टता र सेवाप्रतिको समर्पणद्वारा मानव सेवा गर्ने थलो हो । तर, चिकित्सा क्षेत्रको नेतृत्व तहमा राजनीतिक भागबण्डाबाट चयन गरिन्छ । जसका कारण समर्पित र वरिष्ठतम् विशेषज्ञ डाक्टरहरुको आत्मसम्मानमा चोट लाग्छ । फलस्वरुप विशेषज्ञ डाक्टरहरुमा हिनताबोध हुन्छ र पलायन हुन्छन् । योग्यताका आधारमा अवसर दिने र प्राक्षिक क्षेत्रमा राजनीति नगर्ने वातावरण सरकारले निर्माण गर्नुपर्छ । त्यसो नगर्दा स्वास्थ्य सेवाको क्षेत्रमा भविष्य अझै जोखिममा पर्ने निश्चित छ । अहिले नै डाक्टरहरुको संख्या कम हुँदा दशजनाले दश हजार जना बिरामीको उपचार गर्नु परेको छ, जबकि राष्ट्रसंघीय इकाइ विश्व स्वास्थ्य संगठनका अनुसार दश हजार जनसंख्याका लागि चवालीस जना डाक्टर आवश्यक हुन्छ । वर्षेनि डाक्टरहरुको विदेश पलायन बढ्दै गएको अवस्थामा शहीद गंगालाल हृदयरोग केन्द्रका वरिष्ठ शल्य चिकित्सक डा. रामेश कोइरालाले पनि विदेश रोजेका छन् । अमेरिका पुगेर पदबाट राजीनामा दिएका डा. कोइरालाले देशमा वरिष्ठता, योगदान र समर्पणभन्दा नातावाद, कृपावाद र चाकडी गर्ने प्रवृत्तिले प्रश्रय पाएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि प्रकट गरेका छन् ।

अहिले सर्वत्र चर्चा छ उनी स्वास्थ्य सेवाको नेतृत्वका आकांक्षी थिए । तर, उच्च तहका राजनीतिक नेतृत्व र तिनका परिवारको दवावमा नियुक्तिमा परेनन् । मुुटुरोगको उपचारमा वर्षौं बिताएका उनले सेवा र योगदानको मूल्याङ्कन होस् भन्ने अपेक्षा गर्नु अस्वभाविक होइन । हजारौं मुटुरोगको सफल उपचारबाट नयाँ जीवन दिने उनी र उनी जस्ता जोकोहीले अवसर पाउनुपर्छ । अझ लोकतन्त्र भनिने शासन व्यवस्थामा योग्य व्यक्तिलाई योग्यता, क्षमता, कुशलता, सिप र वरिष्ठताका आधारमा जिम्मेवार दिइनु पर्दछ । त्यसो त डा. कोइराला मात्र त्यस्ता व्यक्ति होइनन्, जसले योग्यताका आधारमा नियुक्ति नपाएका हुन् । तर, गम्भीर कुरा हो कि यस्ता कुराले सरकारको सुशासन जग हँसाइरहेको विषय बनिन्छ । देश यसै पनि भ्रष्टाचारले आकाश छोएको छ, मन्त्रीहरु यस्तै विषयमा आरोपित छन् । उनीहरुमाथि अनुसन्धान गर्नुको साटो पुरस्कृत गर्ने अभ्यास हुँदैछ । अहिले आममानिसको मुख–मुखमा चर्चाको विषय बनेका डा. कोइरालाको नियतिले अरु पनि पयालन नहोउन् खासगरी प्रधानमन्त्री गम्भीर हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here