अफ्रिकाका चम्किला तारा ‘इब्राहिम ट्राओरे’

0
122

अफ्रिका भन्ने बित्तिकै मानिसहरुको मानसपटलमा पिछडिएको एक महादेशको चित्र आउन सक्छ । हुन पनि अफ्रिकी महादेशका केही देश बाहेक अधिकांश देश अझै पनि अति गरीब अवस्थामा रहेका छन् । विकासका सूचकहरुका दृष्टिकोणले त्यहाँका देशहरु पिछडिएको अवस्थामा रहेका छन् ।

अमेरिका लगायत युरोपियन देशहरुको उपवेशीकरण र आर्थिक तथा प्राकृतिक स्रोत–साधनको शोषणले गर्दा अफ्रिका जर्जर बनेको ठम्याई कैयन अफ्रिकीहरुको रहेको छ । प्राकृतिक स्रोत–साधनको धनी भइकन पनि अफ्रिका पछाडि पर्नुको अर्को कारणमा दुरदर्शी र सक्षम नेतृत्वहरु उदाउन र देशको विकास गर्न नसक्नु रहेको छ । नेल्सन मण्डेला जस्ता नेतृत्वहरु उदाउन नसक्नु अफ्रिकाका लागि दुर्भाग्य बनेको छ । तर, समय सधैँ उस्तै रहँदैन । कोही न कोही अफ्रिकाको उद्दारक बनेर उदाउन सक्छन् । त्यस्तै अफ्रिकाको ‘बुर्किना फासो’ देशमा एक युवा आशा लाग्दारुपमा उदाएका छन् ।

अहिलेको अफ्रिकी भूराजनीतिमा यदि कसैले तरङ्ग उत्पन्न गरिरहेको छ भने ती हुन् क्याप्टेन इब्राहिम ट्राओरे । उनी बुर्किना फासोका अन्तरिम राष्ट्रपति पनि हुन् । सन् २०२२ को सेप्टेम्बरमा भएको सैन्य ‘कू’ पछि सत्तामा पुगेका उनी विश्वका कान्छा अर्थात् राष्ट्र प्रमुखहरु मध्ये कम उमेरका हुन् । अहिले ३७ वर्षमा हिँडिरहेका युवा इब्राहिम ट्राओरेको उदय देशको बढ्दो सुरक्षा संकट र पश्चिमी प्रभावप्रतिको व्यापक असन्तुष्टिको पृष्ठभूमिमा भएको हो ।

उनै इब्राहिम यतिबेला सामाजिक सञ्जालमा पनि चर्चाको शिखरमा छन् । देशलाई स्वतन्त्रता, आत्मनिर्भरता र गरिमातर्फ डो¥याइरहेका युवा नेता भनेर उनको चर्चा भइरहेको छ । देशमा उनी जस्तै व्यक्ति चाहिने भनेर पनि धेरैले प्रशंसा गरिरहेका छन् । फ्रान्स विरोधी हुनु, रुससँगको सम्बन्ध राम्रो हुँदै जानु, देशको आर्थिक उन्नतिमा जोड दिनु, युवा नेतृत्व हुनु आदि उनको चर्चाको कारण बनेकोे छ ।
इब्राहिम ट्राओरेको जन्म १४ मार्च १९८८ मा बुर्किना फासोको बोन्डोकुय केरा नामक ठाउँमा भएको थियो । प्राथमिक शिक्षा त्यहीँ प्राप्त गरेपछि उनी देशको दोस्रो ठूलो शहर बोबो डिउलासोमा पढ्न गए । त्यहाँ उनलाई शान्त र प्रतिभाशाली व्यक्ति भनेर चिनिने गरिन्थ्यो । २००६ मा उनी औगाडुगु विश्वविद्यालयमा भू–विज्ञान अध्ययन गर्न भर्ना भए । उनमा राजनीतिप्रति झुकाब त्यहीँदेखि नै शुरु भएको थियो । उनी विश्वविद्यालयमा हुँदा मुस्लिम विद्यार्थी संघ र माक्र्सवादी राष्ट्रिय विद्यार्थी संघका सदस्य बनेका थिए ।

त्यसपछि २००९ मा बुर्किना फासोको सेनामा भर्ना भएर देशको सेवा गर्न थाले । सेवा प्रवेशको पाँच वर्षपछि २०१४ मा उनी लेफ्टिनेन्टमा पदमा पदोन्नति भए । उनी शान्ति सेना भएर माली युद्धमा पनि सेवा गरे । मालीबाट फर्केपछि भने उनले देशको उत्तरी क्षेत्रमा बढ्दो जिहादी विद्रोह (इस्लामको नाममा आतंक फैलाउने अतिवादी समूहहरूको सशस्त्र आक्रमण)बिरुद्धको अभियानमा भाग लिए । २०२० सम्ममा त्यस अभियानको उनी क्याप्टेन भइसकेका थिए भने एउटा तोपखाना युनिटको नेतृत्व गर्न थालिसकेका थिए ।

इब्राहिम ट्राओरेको सत्ता आरोहण नाटकीय लाग्दछ । किनकि उनी सत्तामा पुग्न हिँडेका थिएनन् । तर, समय त्यस्तो बनिदियो कि अचानक उनी सत्तामा पुगे । २०२२ को जनवरीमा लेफ्टिनेन्ट कर्नल पल हेनरी सान्डाओगो डामिबाले राष्ट्रपति रोच मार्क क्रिश्चियन काबोरेको सरकारलाई कू मार्फत अपदस्थ गरेका थिए । सो कदमको ट्राओरेले समर्थन गरेका थिए । तर, डामिबाले पनि देशमा बढ्दो जिहादी विद्रोह नियन्त्रण गर्न नसकेको भन्दै नागरिकबाट ठूलो असन्तुष्टि आइरहेको थियो । अर्कोतिर डामिबाका सैनिकहरूले उचित तलब तथा सुविधा नपाएको गुनासो पनि बढाइरहेका थिए ।

त्यस्तै अवस्थामा इब्राहिम ट्राओरेले असन्तुष्ट सैनिक अधिकारीहरूको एउटा समूहलाई नेतृत्व गरे । र, २०२२ सेप्टेम्बर ३० मा उनले डामिबा सरकार विरुद्ध नै कू को घोषणा गरिदिए । त्यसक्रममा उनले ९ बजेदेखि ५ बजेसम्म देशमा कफ्र्यू लगाए । सबै राजनीतिक र नागरिक समाजका गतिविधिहरू निलम्बन गरे । हवाई र भूमि सीमानाहरू बन्द गरे ।

सैन्य पृष्ठभूमि र जिहादीबिरुद्धको लडाईंमा पाएको अनुभवले सैनिक र सर्वसाधारण दुवैको विश्वास जित्न इब्राहिमलाई सजिलो भयो । जसले उनको कू लाई वैधता पनि प्रदान ग¥यो । त्यसको केही दिनपछि दामिबा पद छोड्न बाध्य भए । यसरी उनी अक्टोबर २०२२ मा अन्तरिम राष्ट्रपतिको रूपमा सत्तामा आएका हुन् ।

सत्तामा आएपछि इब्राहिमले देशको नीतिगत, कुटनीतिक र सुरक्षा क्षेत्रमा नाटकीय परिवर्तन ल्याए । सबैभन्दा पहिले देशको सार्वभौमिकता र उपनिवेशवादबिरुद्धको अडानलाई व्यवहारमा उतारे । त्यसका लागि फ्रान्ससँगको सैनिक सम्झौता तोडे । अनि फ्रान्सेली सेनालाई देशबाट निष्कासन समेत गरिदिए । उनको यो काम बुर्किना फासोलाई पश्चिमी प्रभावबाट मुक्त गराउने अभियानको थालनी थियो । यसरी उनको लोकप्रियता बढेको हो ।

त्यस्तै उनले पश्चिमी राष्ट्र तथा विश्व बैंक जस्ता संस्थाहरूको सर्तमा आधारित सहयोग र ऋण नलिने घोषणा गरे । बरु आर्थिक आत्मनिर्भरताको बाटो अँगाले । त्यसका लागि खनिज स्रोतमा विदेशी नियन्त्रण घटाउन सुन खानीलाई राष्ट्रियकरण गरे । राष्ट्रिय सुन प्रशोधन केन्द्र स्थापना गरे । प्रशोधन नभएका सुनलाई युरोप निर्यातमा रोक लगाए । त्यसैगरी कृषिका मेसिनरी वितरण, ग्रामीण सडक निर्माण, नयाँ एयरपोर्ट निर्माणका परियोजना सुरु गरे । सुरक्षाको क्षेत्रमा पनि उनले त्यस्तै आकर्षक तरिकाले काम गरे । उनले देशमा बढ्दो जिहादी विद्रोहलाई नियन्त्रण गर्न नागरिकहरू समावेश हुने गरी देशको रक्षाका लागि स्वयंसेवक अभियान थाले । अहिले यसमा ५० हजारभन्दा बढी युवाहरू परिचालित रहेको बताइन्छ ।
यस बाहेक उनले सैन्य उपकरण बढाउने, सरकारी अधिकारीहरूको खर्च कटौती गर्ने र आफूले राष्ट्रपतिको हैसियतमा कुनै तलब नलिने निर्णय गरे । त्यस्तै उनले बुर्किना फासो, माली र नाइजरबीचको क्षेत्रीय गठबन्धन स्थापना गरे । उनका यस्ता कामले राष्ट्रवादीको छवि बनायो र उनी विशेषतः अफ्रिकी युवापुस्तामाझ लोकप्रिय भए । त्यसको प्रचार हुँदा उनको चर्चा विश्वव्यापी हुन गयो ।

बुर्किना फासोमा जिहादी विद्रोह, मानवीय संकट, कमजोर सुशासन, आर्थिक अस्थिरता लगायत पश्चिमी शक्तिहरूसँगको तनाव मत्थर गर्नुपर्ने जस्ता चुनौतीहरूलाई सामना गर्न इब्राहिमले होसियारीका साथ काम गरिरहेका छन् । इब्राहिमलाई, अस्थिरता बढाएको, मानवअधिकारकर्मी र विपक्षी आवाजहरूलाई दबाउन खोजेको आरोप लाग्न थालेको छ । अर्कोतर्फ देशको राजनीतिक स्थायित्व र लोकतान्त्रिक सङ्क्रमणको स्पष्ट खाका अझै अस्पष्ट भएपनि यसमा सुधार ल्याउन इब्राहिम काम गरिरहेका छन् ।

इब्राहिमले अमेरिका, युरोप, चीन लगायत अफ्रिकाका दाता कहलाइएका देशहरुको खरो आलोचना गर्ने गरेका छन् । तिनीहरुले अफ्रिकालाई शोषणमात्र गरिरहेको आरोप उनले लगाउने गरेका छन् । यस्तै कारणहरुले गर्दा इब्राहिम ट्राओरेलाई बुर्किना फासोका जनताहरु देवता जस्तै मान्दछन् । देशलाई जसरी उनले एउटा अवस्थाबाट अर्को अवस्थामा लान कदम चाले, त्यो धेरैका लागि प्रेरणादायी बनेको छ । इब्राहिम शिक्षित पनि छन् । उनी धाराप्रवाह अंग्रेजी बोल्न सक्छन् । यी कारणहरुले गदा नै उनी अफ्रिका मात्र होइन, विश्वकै राजनीतिमा चर्चामा आएका हुन् । चुनौतीहरु बीच उनले आफ्नो देशलाई कसरी स्तरोन्नति गर्लान् ? भविष्यमा उनको कामले बताउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here