बहुसंख्यक नेपाली अहिले पनि कृषि पेशामै निर्भर छन् । राष्ट्रिय आयको ठूलो हिस्सामा कृषि व्यवस्थाकै योगदान छ । जसका कारण नेपाललाई कृषि प्रधान देश भनिएको थियो र भनिँदैछ पनि । यद्यपि राष्ट्रिय अर्थतन्त्रमा पछिल्लो समय वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सको हिस्सा छ । तर, बहुसंख्यक नेपाली कृषिकै माध्यमबाट निर्वाह र रोजगारी प्राप्त गरिरहेका छन् । यद्यपि कृषि कर्म वा पेशा व्यावसायिक हुन सकेको छैन, केबल निर्वाहको माध्यम बनिएको छ । जसले कृषि पेशालाई व्यवसायमुखी बनाउने प्रयास गरेका छन् । उनीहरुले राज्यबाट सुरक्षा र उत्पादनमा व्यवस्थापन भएको अनुभूति गर्न पाएका छैनन् । यसकारण वास्तविक किसान यस पेशामा सन्तुष्टि छैनन् ।

किसानको मूल समस्या भनेको समयमा मल नपाउनु हो । त्यस्तै उत्पादकत्व बढाउन आवश्यक पर्ने सिँचाइ, उन्नत बिऊबिजनको जहिल्यै अभाव छ । अकाशे खेतीमा निर्भर किसानका लागि सिँचाइको सुविधा छैन र किसान सधैँ चिन्तित र सरकारसँग असन्तुष्ट छन् । किसानको यस्तो असन्तुष्टिले उत्पादकत्व, खाद्य सुरक्षा र ग्रामीण जीवनयापनलाई पनि कमजोर बनाएको छ । बाली लगाउने समयमा आकाशे पानी नपर्दा, जसोतसो खेती गर्नेले मल नपाउँदा यस वर्ष उत्पादन नै घट्ने आंकलन गरिएको छ । सरकारले मलखादको आपूर्तिका लागि साल्ट टे«डिङ र कृषि सामग्री कम्पनी मार्फत मल वितरण गर्छ । तर, पर्याप्त आयात नहुँदा सधैँ मलको हाहाकार हुन्छ ।
देशलाई प्रति वर्ष करिब बाह« लाख मेट्रिक टन मल आवश्यक हुन्छ । तर, त्यसको आधा मात्र आधिकारिक आयात हुन्छ । यस्तोमा सीमा क्षेत्रका किसानले भारतीय बजारबाट व्यक्तिगत रुपमा ल्याएर मलको जोहो गर्नुपर्छ । किसानले आफूले ल्याएको मल सीमानाकामा जफत गर्ने गरिएको छ । आफूले नदिने र किसान आफैंले ल्याएको मल पनि प्रयोग गर्न नदिने सरकारको नीति पनि उत्पादकत्व घटाउन जिम्मेवार छ । जसका कारण किसानहरुले बढी मूल्य तिरेर उपयोग गर्नुपर्ने बाध्यता छ । यस्तो अवस्थाले उत्पादकत्व त घटाउँछ नै सँगै किसानको आम्दानी पनि घटाउँछ र गरिबी बढाउँछ । त्यसको असर राष्ट्रिय अर्थतन्त्रमा मात्र होइन देशभरका उपभोक्तालाई पनि प्रभाव पर्छ ।
बर्सेनि हुने मलको अभाव पूर्ति गर्ने एउटै उपाय हो– मलको कारखाना खोल्नु । तर, सरकार त्यसतर्फ छैन मात्र होइन आधुनिकीकरणका नाममा परम्परागत पशुपालनको व्यवसायीकरण तर्फ गम्भीर छैन । गाईवस्तुबाट प्राप्त हुने मलमूत्रबाट रसायनिक मलको विस्थापन गर्नेतर्फ लाग्नु पर्छ । यसले माटोको उर्वराशक्ति नष्ट हुन दिँदैन र विदेशिने पैसा पनि रोकिन्छ । मलको अभावको विषय प्रत्येक वर्ष चर्चाको शिखरमा रहन्छ, सांसदहरु बोल्छन्– पीना सुकिरहन्छ । यसले किसानलाई निराश बनाउँछ र खाद्यवस्तुमा परनिर्भरता झन् बढेर जान्छ । यसो हुन नदिन सरकार सचेत हुनुपर्छ ।



























