सपनाहरुको बही एक मौलिक कृति

0
83

नेपाली साहित्य आकाशमा एउटा चम्किलो तारारुपी कृति उदाएको छ । त्यो साहित्यिक तारा हो कवि ‘अभागी थेगुबा’को काव्य कृति ‘सपनाहरुको बही’ । पचासको दशकदेखि नेपाली साहित्यमा विचार, चेतना र कलाले लेखन कार्य गरिरहेका एक अब्बल लेखक हुन् अभागी थेगुबा । शान्ति, सहअस्तित्व, मानवीय संवेदना पक्षधर हुन् उहाँका कविता तथा गजलहरु । सरल बिम्ब, सरल भाषाशैली, गणितीय क्रियाहरुको काव्यात्मक प्रयोगबाट मान्छेका आर्तनादहरुसँग नजिक भएर लेखिएको उहाँको चौथो कृति हो सपनाहरुको बही (कविता संग्रह) ।

यस कृतिको प्रकाशक स्रष्टा प्रकाशनका तर्फबाट प्रकाशकीयमा लेखिएको छ । त्यसैगरी बरिष्ठ साहित्यकार कृष्ण धराबासीका विचारबाट पनि कवि थेगुवाका कृतिका गहनता जान्न सकिन्छ– ‘कवि अभागी थेगुवा प्रगतिशिल विज्ञान साहित्य लेखिनुपर्छ भन्ने एक सचेत र कल्पनाशील कवि हुन् । उनमा विषयलाई हेर्ने र प्रस्तुत गर्ने आफ्नै प्रकारको मौलिक विशेषता पाइन्छ । गणितका संकेत र सूत्रहरुको प्रयोगले कवितालाई अझ रोचक र आकर्षक बनाएको छ ।’

कवि थेगुवाको कृतिभित्र ५६ वटा छोटा–छोटा कविताहरु समेटिएका छन् । १२६ पृष्टसम्मको यस कृतिका कविताहरु मिठासपूर्ण, अर्थपूर्ण, रोचक, मार्गदर्शक र सन्देशमूलक रहेका छन् । कृतिमा गणितीय चिन्ह सूत्र प्रयोग भएका १० वटा, तीनवटा व्यक्तिपरक, ३९ वटा कविता मध्ये गाउँघरबाट शिर्षकमा चारवटा, शिक्षक शिर्षकमा दुईवटा, क्रान्ति शिर्षकमा दुईवटा, बुद्धले अस्त्र शिर्षकमा दुई वटा र आस्थासँग सपना शिर्षकमा दुईवटा कविताहरु समेटिएका छन् । एकभन्दा दुई कविताका शीर्षक उस्तै लागे पनि फरक विषय उठान गरिएका छन् । यी बाहेक २७ वटा कविताहरु भने भिन्न विषय र शैलीका रहेका छन् । कृतिभित्रका कविताहरु गहिरो अर्थबोध गराउने स्तरका छन् । जनताका सपनाहरु कसरी अपहरित हुन्छन् भन्ने अर्थबोध पहिलो कविताले प्रवाह गर्दछ ः

प्रत्येक साँझ
सिरानीमुनि आस्था च्यापेर
ओछ्यानमा पल्टने गर्छु
निदाउनुभन्दा अघि
सपना अपहरित नहोस्
जहिले कामना गर्ने गर्छु ।

कृतिबारे लेखक तथा इतिहासकार राजकुमार दिक्पालको विचार महत्वपूर्ण छ– ‘थाहा पाएसम्म अभागी थेगुबा भाग्यवादी होइनन्, कर्मका अति विश्वासी हुन् । काव्य साधनाले नै उनलाई एक स्वप्नजीवी लेखकका रुपमा स्थापित गरेको दावी गर्न सक्छु । काव्य साधनामार्फत आफ्ना सपनाहरुको संगालो लिएर आएका कवि अभागी थेगुवाको ‘सपनाहरुको बही’ मार्फत् भएको यसपटकको आगमन समकालिन साहित्यजगतमा सघन हस्तक्षेपकारी छ ।’

भर जीवनको कमाई
दुई छाक टार्ने खाना
उदाङ्गै हाँसिरहेछ
टाउको ओताउने छाना तैपनि
मास्टर हुनुमा गर्व गरिरहेछ किनभने
ऊ देशका खम्बाहरु ठड्याइरहेछ ।

शिक्षक शीर्षकको कविताको यी पंक्तिहरुले शिक्षक हुनुको महानता र सम्मान दर्शाउँदछन् । कवि थेगुवाका कविताहरु मार्गदर्शक रहेका छन् । कविताहरु मार्फत निकै गहन मार्गदर्शन तथा सन्देश प्रवाह गर्दछन् । गाउँघरबाट—१ शीर्षकको कविताका हरफहरुले युवाहरु विदेशीनाले गाऊँघर रिक्तो र खल्लो बनेको भाव पोखिएका छन् ।

गाऊँमा यसपल्ट दशैँ अलमलियो
तिहार अनि चासोक तङ्नाम पनि ।
लिङ्गेपिङ लगाउने पुच्छरघरे माहिलो
रोटेपिङ् मच्चाउने भुसतिघ्रे साँहिलो
ऊँटको मेला भर्न मरुभूमि गएछन् ।
कमेरोले घर चम्काउने फूलमती ठूली
पिङ्मा नै बास मनपराउने चमेली कान्छी
देउसीभैलो अनलाइन लाइभमै खेल्ने भएछन् ।
तिहारमा दियोहरु मधुरो मात्र बलेछन्
सेलरोटीले फनक्क घुम्न नमानेर
फूलमाला फूलटीका उदास भएछन्
निधार अनि गलाहरु नपाएर ।

नेपालीहरुको परम्परा नै बनिसक्यो घरैपिच्छेका युवा युवतिहरु विदेशिने चलन । कवि थेगुवाका कविताको सन्देश जस्तै गाउँघर, बजार अनि शहर पनि उदास र उराठ लाग्दा भइसके । चाडबाड रमाइलोसँग मान्नेहरु नै देशमा नभएपछि सबै सबै शून्य र उजाड भइसके । गणितीय सङ्केत र सूत्रहरुको प्रयोग गर्नु पनि मौलिक शैली हुन् । कवि थेगुवाले कवितामा शब्दहरुको ठाउँमा गणितीय संकेत प्रयोग गर्नेक्रममा जोड, घटाउ, भागा, गुणन र कोष्ठकहरु लगायतका चिन्हरु राखिएका छन् । जसले शब्दहरुका अर्थ दिन्छन् ।
शब्द चयन र लेखन शैलीहरु पनि मौलिक छन् । यस कृतिभित्रका कविताहरु राज्य तथा सत्ताबाट शोषणमा परेका, सिमान्तकृत पारिएका आम जनताका पक्षमा खरोरुपमा वकालत गर्दछन् । राज्यको मुलधारबाट पर पारिएकाहरुका आवाज बनेर आएका छन् कविताहरु । राजनीति, सत्ताका खेल, शसस्त्र जनयुद्ध, व्यवस्था बदलिए पनि नफेरिएको अवस्था, केन्द्रको अहम, स्थानीय तहका पक्षपात, वैदेशिक चलखेल, आर्थिक दुरावस्ता र सामाजिक अस्थिरताबीच बाँच्न बाध्य पारिएका मानिसहरुका दैनिकी र मानव जीवनका दुःख–सुख, पीडा, रोग, चोट र वेदनाहरुका भावहरु थेगुवाका कवितामा पाइन्छन् । आवाजविहीनहरुका आवाज बनेर खबरदारी गर्दछन् कविताहरु ।

आक्काहाउ जिग्री लुङा
राँके मेलाको स्याउले कटेरोमुनि बसेर
गोडादसेक जुँगा डुबाउँदै
डबकाको डबका छ्याङ पिएको
तासको खालैमा दिनरात काटेको
ती यादहरु…

यसरी कविताहरुमा स्थानीय बोलीचालीका सम्प्रेषणीय लवज तथा थेगो पाइन्छन् । कविताहरु काठमाडौंलाई खबर, आस्थासँग सपना, प्रयोगशालामा लेप्मुहाङ, नयाँ नेपाल, युद्ध रगत र रङ्गहरु, म जस्तै घोडा, नयाँ नेपाल, सुदुर सम्झनाको तरेमा, हजुआमा राजा अनि म, जिउँदो समस्या, नवमी नानालाई र युवा कवि स्व. विमलप्रति कविताहरु कृतिका प्रतिनिधिमूलक भएर उभिएका छन् । स्थानीयता, आञ्चलिकता, प्रादेशिक र मात्रृभाषाका सुन्दर बिम्ब तथा प्रतिकहरुले सजिएका कविताहरु पढ्नुको आनन्द अर्कै छ । कविताहरु मिठासयुक्त मात्र छैनन् कि यस कृतिले नेपाली कविताको आकाशमा नविनता पनि थप्दछ । पाठक वर्गले कविताका हरफहरुमा आफ्ना गाउँघर र आफैलाई पाएको महसुस गर्नेछन् । कविताहरु आम जनमनका भावनाहरु भएर फक्रिएका छन् । आमा शीर्षकको मनछुने कविताले आमाको महिमा व्यक्त गर्दछ यसरी :

लड्न खोज्दा पकड्नु त
आमाको लागि छँदै थियो होला
म दुख्दा पनि उनको मुटु
चिरिएको हुनुपर्छ, मैले खाँदा पनि
उनलाई तृप्ति मिलेको हुनुपर्छ
रगत दिएर सिञ्चित मलाई
युगौंयुगसम्म बचाइराख्न
आखिर लेम्मुहाङ्को सृष्टि जोगाइराख्न
आफू मर्न तयार बनेकी हुनुपर्छ त्यसैले
हरेक अप्ठ्याराहरुमा आमा भनी
उनीलाई नै पुकारिएको हुनुपर्छ ।
आस्थाकी देवी युमासाम्माङलाई झैं माथि
आमालाई राखेर सधैँ–सधैँ पूजिएको हुनुपर्छ ।

कवि थेगुवाका कविताहरुमा जुझारुपन पाइन्छन् । अभाव, पीडा र विभेदबीच बाँच्न बाध्यहरुका आवाज भएर आएका कविताहरु आम मानिसहरुका अधिकारका लागि वकालत गर्दै र प्रतिकार गर्दै राज्यसँग जुझ्न, लड्न र भिड्न पुग्दछन् कविताहरु । आममानिसहरुका विश्वास प्रटक गर्दछन् कविताहरु । साथै नेपाली समाज, संस्कृति, रहनसहन, जीवनशैली, जिउने माध्यम, गाउँघर, पहाडपखेरा, सुख–दुःख, आदिका बारेमा पनि कविताहरुले टडकारो भाव दर्शाएका छन् । क्रान्ति–२ शीर्षकको अत्यन्त छोटो र जीवन नै चोक्टा–चोक्टामा परिणत गर्न तयार कविताले मनमथिङ्गल नै हल्लाइ दिन्छ ः

यदि समयको गति रोकिन्छ
सूर्यको किरण अडिन्छ भने म
परमाणु बमको बदलामा आफै
पड्किदिन तयार छु
चोक्टा चोक्टा चोक्टिएर ।

वास्तवमा कवि थेगुवाको सिर्जनाहरु अन्याय, शोषण, थिचोमिचो, पक्षपात, बेथिति लगायत यावत कुराहरुको लागि परमाणु बम जत्तिकै शक्तिशाली छन् । देशको अस्थिर राजनीति, फेरिएको व्यवस्था र स्वार्थी राजनीतिकर्मीहरु, मतलबी सत्ता, सशस्त्र जनयुद्ध, विदेशी हस्तक्षेप आदिका बारेमा पनि कविताहरु खरो उत्रेका छन् । अर्कोतर्फ कविताहरुले भावुकता, दया, स्नेह, मायाप्रिती र प्रेमको भावना पनि पोख्दछन् । कवितामार्फत कथा भन्ने र सन्देश प्रवाह गर्ने मौलिकशैलीका आनन्द लिन कवि थेगुवाकै कविताहरु पढ्नुपर्छ । एकपछि अर्को कविताहरु एकसे एक छन्, दिल छुने र पढौं–पढौं लाग्नेखालका छन् । उनका गहन र स्तरीय कृति काठमाडांै केन्द्र भत्काएर मोफसललाई नै केन्द्रको रुपमा उभ्याउने अभियानमा सफल रहेको छ ।

कविताहरुमा दूर प्ररदेशबाट स्वदेश फर्र्र्र्र्र्किएका, बर्मा र भुटानबाट लखेटिएका र शरणार्थी बन्नु परेका नेपालीहरुको दर्दनाक कथा पाइन्छन् । हिटलर, आइनस्टाइन, इदिअमिन, मुसोलिनी सद्धाम हुसेन, बिन लादेनदेखि बुद्ध, येसु, अल्लाह र वराह भगवानसम्मका कथा सुनाउँछन् कविताहरु । शान्ति ल्याइदेन भनेर छोरालाई आमा अराउँछिन् कवितामा । त्यसैगरी सूर्य, पृथ्वी, चन्द्रमाका प्रसंग पनि बुनिएका छन् । त्यस्तैगरी कवितामा धेरै–धेरै आयाम समेटिएका छन् । अब रह्यो कृतिको नाम सपनाहरुको बही रहनुको अर्थ ।

हो, यस कृति एउटा बही अर्थात् या रजिष्टर या खाता जस्तै छ । जहाँ कवि थेगुवाका सपनाहरु त छँदैछन् साथै आम मानिसहरुका सपनाहरु पनि केरमेट नहुने गरी माइन्यूट या बुककिपिङ्ग भएका छन् । यस्तै विशिष्ठ गुणहरुले कवि अभागी थेगुवा नेपाली साहित्यकाशमा एक विशिष्ट परिचय बनाउन सफल भएका छन् । साथै बिछट्टै बान्कीको यो कृतिले पाठकवर्ग माझ अमिट छाप छाड्न सफल छ । काव्य विधामा यस कृति उत्कृष्ट छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here