फुङलिङ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका– २ फूलबारीका वडाध्यक्षमाथि आक्रमण भएको छ ।
शनिबार बेलुकी वडाध्यक्ष टेकिन्द्र सेन्दाङमाथि आक्रमणमा भएको हो । आक्रमणपछि घाइते हुनुभएका सेन्दाङलाई थप उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले सेन्दाङलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार वडाध्यक्ष सेन्दाङको टाउकोसहित शरीरका विभिन्न भागमा चोट रहेको छ ।
घाइते सेन्दाङको ताप्लेजुङ जिल्ला अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । जिल्ला कमिटीको बैठक सकेर घरतर्फ फर्कँदै गर्दा सेन्दाङमाथि फुङ्लिङ बजारको तोक्मेडाँडा क्षेत्रमा ५–७ जनाको समूहले आक्रमण गरेको स्रोतको दाबी छ । प्रहरीले आक्रमणमा संलग्नहरूको खोजी कार्य जारी राखिएको बताएको छ ।































