झापा ।

प्रादेशिक अस्पताल भद्रपुरमा जनशक्तिको अभावले बिगत १२ वर्षदेखि (नवजात सघन हेरचाह इकाई) एनआइसीयु सञ्चालनका लागि प्राप्त स्वास्थ्य उपकरण त्यतिकै थन्क्याइएको छ ।
केन्द्रीय सरकारबाट प्रदेश सरकार मातहत ल्याई मेची अस्पतालबाट प्रादेशिक अस्पताल भद्रपुर नामकरण गरेको बर्षौँ बितिसक्दा पनि एनआइसीयु सेवा सञ्चालन आउन सकेको छैन । प्रसूति गराउन अस्पताल पुग्ने गरेका गरिब तथा विपन्न परिवार चर्को शुल्क तिर्न निजी अस्पताल रेफर हुनुपर्ने बाध्यता छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७० सालमा नवजात शिशुको उपचारलाई सहज बनाउने उद्देश्यले एनआइसीयु सञ्चालनका लागि दुई चरणमा गरी स्वास्थ्य उपकरण उपलब्ध गराएको थियो । चार बेडको एनआइसीयु सञ्चालनको उपकरण १२ वर्षदेखि प्रयोगमा आउन सकेको छैन । त्यस अवधिमा अस्पताल प्रशासन हेर्न ६ जना निमित्त मेडिकल सुपरिटेन्डेन्ट फेरबदल भइसकेका छन् ।
वर्षौँदेखि अस्पतालको गोदाममा थन्किएको उपकरणलाई प्रयोगमा ल्याउन अस्पतालको पूरानो भवनमा रहेको नवजात शिशु वार्डको नजिकै कोठा व्यवस्थापन गरिसकेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार गुप्ताले बताए । आफूले भर्खरै निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी पाएकोले गोदाममा राखिएको स्वास्थ्य उपकरणहरूलाई प्रयोगमा ल्याउने काममा लागी परेको बताए ।
डा. गुप्ताले भने– ‘कोठाको व्यवस्थापन भई उपकरणहरू राखिसकेका छौँ, एनआइसीयुको इञ्चार्ज पनि नियुक्त गरिसकेका छौँ ।’ जनशक्ति अभावका कारण एनआइसीयु सेवा सञ्चालनमा ल्याउन समस्या भइरहेको छ ।
जनशक्तिको लागि कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयलाई दुईपटक पत्राचार गरिसकेका छौँ । भद्रपुर नगरपालिकालाई पनि जानकारी गराइसकेका छौँ । भर्खरै पूरानो जीर्ण भवनबाट नयाँ भवनमा अधिकांश सेवाहरू सारिसकेका छौँ ।
अब जसरी पनि एनआइसीयु सेवा सञ्चालन गरी छाड्छौँ । ‘त्यसका लागि अस्पतालको सञ्चालन तथा व्यवस्थापन समितिसहित सबै निकायसँग समन्वय र सहकार्य गरिरहेको छु’– डा. गुप्ताले भने । चार बेडको एनआइसीयु सञ्चालनका लागि तीन जना बाल रोग विशेषज्ञ, १० जना नर्सिङ स्टाफ, चारजना कार्यालय सहयोगी र चार जना सुरक्षा गार्ड चाहिन्छ ।
अस्पतालमा चारजना बाल रोग विशेषज्ञ डाक्टर छन् । ‘नर्सिङ स्टाफ, कार्यालय सहयोगी र सुरक्षा गार्ड नियुक्त भएसँगै सात दिनभित्र एनआइसीयु सेवा सञ्चालनमा आउँछ’– उनले भने । अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. टंकप्रसाद बाह्रकोटी र डा. पीताम्बर ठाकुरको पालामा गरी दुई चरण एनआइसीयुको उपकरण आएको थियो । डा. बाह्रकोटी अहिले स्वास्थ्य सेवा विभागको महानिर्देशक हुन् भने डा. ठाकुर अवकाश भइसकेका छन् । २०७६ सालमा डा. ठाकुरले पनि एनआइसीयु सेवा सञ्चालनका लागि प्रयास गरेका थिए ।
पुरानो भवनको ल्याब रिपोर्ट बनाउने नजिकैको कोठा व्यवस्थापन गरी एनआइसीयु सेवा सञ्चालनका लागि लगभग तयारी भइसकेको थियो । तर, विडम्बना कोभिड–१९ (कोरोना भाइरस) नेपालसहित विश्वभर फैलियो । कोभिड–१९ फैलिएपछि सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन लगाउँदै अस्पतालहरूमा तत्काल पीसीआर ल्याब सञ्चालनमा ल्यायो । कोठाको अभावले अस्पताल प्रशासनले एनआइसीयुकै कोठालाई पीसीआर ल्याब बनाउनु प¥यो र एनआइसीयु सेवा स्थगित भयो ।
जनशक्ति अभावका कारण देखाउँदै त्यसपछिका मेडिकल सुपरिटेन्डेन्टहरूले एनआइसीयु सेवा सञ्चालनमा खासै चासो नै देखाएनन् । एनआइसीयुका उपकरणहरू त्यतिकै गोदाममा थन्काएर राखिए ।





























