किङ्गसवरीको क्यासिनोले बिर्तामोडका व्यापारी टाटपल्टँदै

0
4517

अन्तर्राष्ट्रिय आर्थिक अपराधमा जोडियो झापाका क्यासिना,झापाका एसपीले असुल्छन् मासिक डेढ लाख

बिर्तामोड ।

अन्तर्राष्ट्रिय अनलाइन सट्टेवाजीमा झापामा सञ्चालित क्यासिनो समेत जोडिएको पाइएको छ ।

भारत कर्नाटक राज्यका कांग्रेस विधायक केसी वीरेंद्रलाई शुक्रवार सिक्किमको राजधानी गान्तोकबाट भारतीय प्रवर्तन निर्देशनालय (इडी)ले पक्राउ गरेपछि नेपालमा सञ्चालित क्यासिनो वीग ड्याडी समेत विवादमा परेको छ ।

झापाको मेचीनगरमा रहेको होटल मेची क्राउनको हाताभित्र सञ्चालित क्यासिनो वीग ड्याडी, बिर्तामोडस्थित होटल किङ्गसबरीका मालिक रवि धितालले वीग ड्याडीसँग साझेदारीमा सञ्चालन गर्दै आएका छन् ।

नेपाली छिराएर पटक–पटक विवादमा तानिएको क्यासिनो अब भारतीय प्रवर्तक निर्देशनालयको समेत अनुसन्धानको घेरामा तानिएको छ । बुधवार बिहान मात्र भारतीय प्रवर्तक निर्देशनालयको टोलीले एचएमसीमा सञ्चालित क्यासिनो विग ड्याडीका कर्मचारीहरुसँग सोधपुछ गरेको श्रोतले जनाएको छ ।

भारतीय विधायक केसी वीरेन्द्रको भारतीय शहर गोवामा समेत क्यासिनो व्यवसाय रहेको छ भने होटल किङ्गसबरीका सञ्चालक रवि धितालको पनि अन्तर्राष्ट्रिय अनलाइन सट्टेवाजीमा संलग्नता देखिएको हो ।
भारत कर्नाटक राज्यका कांग्रेस विधायक केसी वीरेंद्रलाई मनी लान्ड्रिंग रोकथाम ऐन (पीएमएलए) अन्तर्गत पक्राउ गरिएको थियो । उनीमाथि अनलाइन र अफलाइन सट्टेबाजी, मनी लान्ड्रिंग र अवैध बिदेशी नेटवर्कहरूसँग सम्बन्ध राखेको आरोप छ ।

उनलाई मनी लान्ड्रिंग रोकथाम ऐन (पीएमएलए) अन्तर्गत पक्राउ गरिएको थियो । केसी वीरेन्द्रको बेंगलुरु र अन्य स्थानमा सञ्चालित क्यासिनोमा ईडीले छापा मारेको थियो । यस क्रममा एजेन्सीले १२ करोड रुपैयाँ नगद, ६ करोड रुपैयाँको सुनका गहना, १ करोड रुपैयाँको विदेशी मुद्रा र ४ वटा महँगा लक्जरी कारहरू जफत गरेको थियो । यति मात्र होइन, ईडीले विदेशी क्यासिनोसँग सम्बन्धित केही महत्वपूर्ण कागजातहरू र लाभांशको एक्सेल पानाहरू पनि बरामद गरेको छ ।

किङ्गसवरीको क्यासिनोले ब्यापारी टाटपल्टँदै

झापाको बिर्तामोडमा सञ्चालित पाँचतारे होटल किङ्गसवरीले सञ्चालन गरेको क्यासिनोमा खुलेआम नेपाली नागरिकलाई प्रवेश दिने गरेको छ ।

होटलले सञ्चालन गरेको सेभेन हर्सेस क्यासिनोमा खुलेआम झापाका नागरिक छिरेर जुवा खेल्ने गरेको भिडियो प्राप्त भएको हो । कानूनले क्यासिनोमा नेपाली नागरिकलाई प्रवेशमा पूर्ण प्रतिबन्ध लगाएको भए पनि पैसा कमाउने नाममा क्यासिनोका सञ्चालकले नेपाली नागरिकलाई समेत खुलेआम प्रवेश गराउँदै आएका छन् । प्रत्येक साँझ करिब ५० देखि ६० जना नेपाली नागरिक क्यासिनो जाने गरेको स्रोतले दावी गरेको छ ।

बिशेषगरी झापाको बिर्तामोडसहित काँकरभिट्टा, धुलाबारी, दमकका व्यवसायी जुवा खेल्न क्यासिनो छिर्ने गरेका छन् । त्यसमा पनि बिर्तामोड क्षेत्रका व्यवसायीको संख्या उल्लेख्य रहेको स्रोतको दावी छ । प्राप्त भिडियो फुटेजमा क्यासिनो छिर्नेमध्ये बिर्तामोडसहित पूर्वका व्यवसायी देख्न सकिन्छ । हालसम्म एकदेखि सात करोड रुपैयाँसम्म हार्ने बिर्तामोडका व्यापारीहरुको लिष्ट लामै भएको खेलमा संलग्नहरु नै बताउँछन् ।

बिगतमा व्यवसाय गरेर राम्रो पैसा कमाएका झापाका सयौं व्यापारी बिर्तामोडमा क्यासिनो खुलेसँगै सडकमा आएको उनीहरुको भनाइ छ । यसरी दैनिक क्यासिनो छिर्नेमा बिर्तामोडमा मारवाडी समुदायका व्यवसायीको संख्या उल्लेख्य रहेको पाइएको छ । क्यासिनो छिरेर करोड रुपैयाँ हार्ने व्यापारीको संख्या सयभन्दा माथि रहेको बिर्तामोडकै एक व्यापारी बताउँछन् । बिर्तामोडका केही व्यापारी क्यासिनोमा सर्वस्व गुमाएपछि डिप्रेसनमा गएको तथा केहीले आत्महत्या समेत गरेको स्रोतले जनाएको छ ।

यता होटल तथा क्यासिनोका सञ्चालक रबि धितालले भने नेपाली नागरिक क्यासिनो छिर्ने गरेको अस्वीकार गरे । उनले नेपाली नागरिक क्यासिनो नछिरे पनि आफूलाई केही असर नपर्ने दावी गरे । तर, बिना कुनै कागजात र चेकजाँच जोसुकै पनि मनलाग्दी क्यासिनो छिरेको देख्न सकिन्छ ।

अबैध रुपमा नेपालीलाई प्रवेश दिएको लगायतका गैरकानूनी क्रियाकलाप संरक्षण गरे वापत सेभेन हर्सेस क्यासिनोले जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूलाई एक लाख ५० हजार बुझाउने गरेका छन् ।

त्यस्तै एसपी लिम्बूसहित प्रहरी उच्च अधिकारीहरुलाई होटल किङ्गसवरीलेसमेत मासिक रकम तथा होटलको कोठा, पेय तथा खाद्यपदार्थहरु निःशुल्क उपलब्ध गराउने गरेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here