आणविक हतियारको उत्पादन रोकौं

0
46

आज विश्व आणविक परीक्षण बिरुद्धको दिवस । आज अर्थात् अगष्ट २९ तारिखका दिन संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउन थालिएको हो । सन् २००९ को डिसेम्बर २ मा संयुक्त राष्ट्र सभाले घोषणा गरे अनुसार मनाउन थालिएको यो दिवस विगतका विश्वयुद्धमा भएको त्रासदीपूर्ण नरसंहार फेरि नदोहोरियोस् भन्नका लागि हो । खासगरी दोस्रो विश्वयुद्धमा जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले प्रहार गरेको आणविक हतियारले क्रुरतापूर्वक नरसंहार गरेको थियो । त्यही त्रासदी फेरि–फेरि मानव समुदायले भोग्नु नपरोस् भनेरै संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष यो दिवस मनाउने गरिएको छ ।

अणु, परमाणु बम लगायतका घातक हतियार मानव समुदायका लागि विनाशक हुन् । त्यसैले यसको प्रयोगमा रोक लगाउँदै त्यसले पार्ने प्रभाव अन्त्य गर्न विश्व समाजले एकीकृत प्रयास गर्नुपर्छ । सन् १९४५ को जुलाई १६ मा पहिलो पटक आणविक हतियार परीक्षण गरिएको थियो, जसको प्रभावमा दुई लाख सर्वसाधारणले अनाहकमा ज्यान गुमाउनु परेको थियो । आज आठ दशक भइसक्दा पनि त्यहाँ बोट–बिरुवाहरु स्वभाविक रुपमा उम्रिन सकेका छैनन् । त्यस्ता हतियारले उत्पन्न गर्ने विकिरणका कारण दीर्घकालसम्म विश्वको पर्यावरणमा दीर्घकालसम्म असर पर्ने विज्ञहरुको निष्कर्ष छ ।

दोस्रो विश्वयुद्धमा प्रहार भएको आणविक हतियारबाट बालबालिका, वृद्धवृद्धादेखि सर्वसाधारणले अकारण ज्यान गुमाउनु परेको थियो । त्यसले हिरोसिमा र नागासाकीको प्रकृति र मानव जातिलाई मरुभूमिमा परिणत गरेको थियो । त्यही अनुभव र भागाइबाट संयुक्त राष्ट्रसंघको स्थापना भयो । जसले विश्वमा युद्धको अन्त्य र शान्तिको स्थापनामा आजपर्यन्त भूमिका निर्वाह गरिरहेको छ । अनि पनि त्यसयता विश्वका समृद्ध एवम् शक्ति राष्ट्रहरुले आफूलाई ठूलो देखाउन झण्डै दुई हजार वटा आणविक परीक्षण गरिसकेका छन् ।

आज पनि शक्तिशाली राष्ट्रहरुका बीच नयाँ र घातक हतियार निर्माण गर्ने होड छ । त्यस्ता वस्तुको उत्पादन प्रयोगकै लागि हो र प्रयोगले विनाश गर्छ । फेरि त्यस्ता–त्यस्ता हतियार निर्माण र खरिदमा ठूलो धनराशि खर्च हुन्छ । विश्व एकातिर भोकले आक्रान्त छ, रोगले र बासको अभावमा पीडा भोग्न बाध्य छ, अर्कातिर कुनै देश पृथ्वीकै विनाश गर्न उद्यत छ । यस्तोमा विश्वलाई एकीकृत गर्दै यस्ता घातक हतियारको उत्पादन र परीक्षणबिरुद्ध एक हुनुपर्छ । अहिले नै विश्व तेस्रो विश्वयुद्धको नजिक उभिएको छ । यस्तोमा मानव सभ्यता र समाजको विकासमा उभिनु सचेत विश्व समाजको आवश्यकता हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here