झापा, चिल्ड्रेन इनभारोमेन्ट स्कूलका विद्यार्थीहरु वर्ड रोबोटिक्स टेक्नोसियन विश्व कपमा सहभागिता जनाउन दिल्ली गएका छन् ।
उनीहरु अगस्ट ३० देखि सेप्टेम्बर २ तारेखसम्म भारतको इन्दिरा गान्धी स्टेडयम नोयडामा हुन गइरहेको वर्ड रोबोटिक्स टेक्नोसियन विश्व कप २०२५ मा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै दिल्ली गएका हुन् ।
बिद्यालयको रोबोटिक्स एआइ क्लबका विद्यार्थीहरु जोस्ना कार्की, शौरब धमला, प्रतीक्षा बराइली, मिक्टोक लावती , खुशी तामाङ, दीया चौलागाँईं, सुदेस्ना भट्टराई, प्रजु दाहाल, कृश राई, ग्रेस राई, रुश धिमाल, युन्छोहाङ, सङ्म राजबंशी र प्रीन्स रिजालले रोबो कार रेसमा छात्र÷छात्राको दुई वटा समूह र आरसी प्लेन, एयरक्राफ्ट प्रतियोगितामा एक समूह गरी तीन वटा इभेन्टमा भाग लिँदैछन् ।
अल इण्डिया रोबोटिक्स एशोसिएशनको आयोजनामा नेपालका तर्फबाट बिर्तामोडको चिल्ड्रेन इन्भारोमेन्ट स्कूल लगायत काठमाडौबाट विभिन्न चार वटा प्रतिष्ठानले हक्की सकर, १५ केपी वार र सुमो प्रतियोगितामा भाग लिनेछन् । चिल्ड्रेन इन्भारोमेन्ट स्कूलले राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिँदै आइरहेको छ । यस सिलसिलामा बिद्यालयमा नियमित रुपमा रोबोटिक्स तथा एआई कक्षाहरु इञ्जिनियरहरु दिवश खनाल, ई. राजु श्रेष्ठ, ई. सिद्धार्थ यादब र ई. राजकुमार चौरासियाले सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिने गरेका छन् । विश्वभरबाट ५० वटाभन्दा बढी राष्ट्रहरुले भाग लिने प्रतियोगिताको नारा ‘टेक्नोलोजिज फर अ बेटर वल्र्ड’ रहेको छ ।
यस नाराले मानव जातिको जीवन सुधार गर्न, समुदायको रूपमा विश्वव्यापी चुनौतिहरू पार गर्न प्रविधिहरूको शक्तिलाई प्रतिनिधित्व गर्दछ । यी शब्दहरूले कोभिड–१९ महामारीमा सामना गर्नुपरेका कठिनाइहरूलाई ध्यानमा राख्दै, विशेष गरी युक्रेन– रसिया युद्धका कारण भएको आम विचलन र विश्वव्यापी मन्दीबाट सिक्ने, राम्रो संसारको लागि उन्नत प्रविधिहरू विकास र प्रयोग गर्न विश्वलाई मिलेर काम गर्ने आवश्यकतालाई प्रतिबिम्बित गर्दछ ।
चिल्ड्रेन इन्भारोमेन्ट स्कूलबाट प्रतियोगी विद्यार्थीहरु र बिद्यालयको रोबोटिक्स एआइ को–अर्डिनेटर जयराम चौलागाँईं, एकाडेमिक इञ्चार्ज बिक्रम सुब्बा, शिक्षक ज्योति बाँस्कोटा र अफिसियल क्यामरा पर्सन सुवास लिम्बूलाई विहीवार एक कार्यक्रमका बीच बिद्यालयका व्यवस्थापन समिति अध्यक्ष राजेन्द्रकुमार पोखरेलले शुभकामना दिँदै खदा माला लगाइ बिदाइ गरेका थिए ।
सो अवसरमा अभिभावकले विद्यार्थीलाई सफलताको कामना गरेको विद्यालयका इसीए को–अर्डिनेटर दिनेशराज शर्माले जानकारी दिए ।






























