नेतृत्व उदाहरणीय होस्

0
87

कोशी प्रदेशका मन्त्री खगेनसिंह हाङगाम फेरि विवादमा तानिएका छन् । दुई वर्षअघि जिल्ला प्रहरी प्रमुखलाई धम्क्याएको आरोप लागेका प्रदेश मन्त्री माथि केही दिनअघि आफ्नै जिल्लाबासीलाई हातपात गरेर विवादमा तानिएका थिए । प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री हाङगाम सोमबार आफ्नै मन्त्रालयका सचिवले चढ्ने गाडीको चाबी खोसेर थप विवादमा परेका हुन् । हाङगाम ताप्लेजुङबाट प्रदेश सभामा नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सांसद हुन् । लामो समयदेखि विवादमा मुछिदै आएका प्रदेश मन्त्री हाङगाम सोमबार मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले चढ्ने गरेको सरकारी गाडीको चाबी खोसेपछि थप विवादित भएका हुन् ।

मन्त्री र सचिवबीच लामो समयदेखि असमझदारी रहेको थियो । मन्त्री हाङगामले कार्यालय सहयोगी र चालक हटाएर आफ्नो मान्छे नियुक्त गर्ने सचिवलाई दबाव दिएका थिए । तर, सचिव पाण्डेले मन्त्रीको दबाव मान्न अस्वीकार गर्दै आएको मन्त्रालय स्रोतको दाबी छ, त्यसबाहेक केही आर्थिक विषयमा पनि मन्त्री र सचिवका बीच असमझदारी रहँदै आएको चर्चा छ । सचिव पाण्डे मुख्यमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयमा छलफलमा गएका बेला मन्त्रीले गाडीको चाबी खोसेका थिए । यस घटनाले सार्वजनिक पद धारण गरेका व्यक्तिले कसरी राज्य सत्ता सञ्चालन गर्दैछन् भन्ने उदाहरण दिएको छ ।

अहिले सतहमा देखिएको सत्य भनेको ठूला दलको गैरजिम्मेवार प्रवृत्ति हो । संघकै मन्त्री पनि जवाफदेही देखिएका छैनन् । देशमा उत्पन्न विवादहरुमा संघका मन्त्री नै जोडिएका छन् । त्यसको निरन्तरता र अनुशरण प्रदेशका मन्त्रीहरुले गर्दैछन् । आफ्ना कार्यकर्तालाई हरेक विवादमा संरक्षण गर्ने प्रवृत्ति ठूला भनिएका दलहरुमा हुर्किदै गएको छ । चाहे ती आर्थिक अपचलन होस् वा नैतिकता र अनुशासनहीनताको विषय होस् । नेताहरु नै उदाहरणीय बन्न नसक्दा उत्पन्न यो परिस्थितिले राष्ट्रिय राजनीतिलाई नै हानी पु¥याउने निश्चित छ । त्यसैले यस्तो परिस्थिति आउन नदिन ती ठूला दलका शीर्ष नेताहरुले ध्यान दिनु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here