भुवन तामाङ,
जयपुर ।

आदर्श माध्यमिक विद्यालय बुद्धशान्ति–२ जयपुरमा हस्तकला प्रदर्शन गरिएको छ ।
विद्यालयका पूर्व शिक्षक डम्बरकुमार प्रधानले सिर्जना गरेका हस्तकला विद्यालयका विद्यार्थीहरु माझ प्रदर्शन गरिएको हो । सामान प्याङ्गिक गर्ने थर्मकोल (खोस्टा) प्रयोगपछि जताततै फाल्नाले वातावरण प्रदुषण हुने गर्दछ । थर्मकोललाई हस्तकलाको माध्यमबाट उपयोग गरी वातावरण प्रदुषण न्यूनिकरण गर्ने उद्देश्यले हस्कलाहरु बनाएको प्रधानले बताएका छन् ।
हस्तकलाका माध्यमबाट विद्यालयका विद्यार्थीहरुले केही सिकुन, केही आबिष्कार गरुन भन्ने हेतुले विद्यालयको कक्षामा डम्बरकुमार सरको हस्तकला प्रदर्शन गरिएको प्रध्यानापक हरी पोखरेलले बताए ।
डम्बरकुमार सरका मौलिक कलाबाट प्रेरित भई यस विद्यालयका विद्यार्थीहरुले पनि खेर गएका सामानहरुबाट भविष्यमा केही उत्पादन गर्नुसकुन् र वातावरण प्रदुषण रोक्ने अभियानमा सहयोग गर्न सकुन् भन्ने उद्देश्यले कला प्रदर्शनी गरिएको विद्यायलय व्यवस्थापन समितिका अध्यक्ष जीवन पोखरेलले बताए ।

प्रधानले थर्मकोलबाट विभिन्न सामानका आकृति बनाएका छन् । जस्तैः हलो, जुवा, गोरुगाडा, टि टेबल, शंख, खुकुरी, कुर्सी, मुरली, बाँसुरी, तोप, प्लेट, बन्दुक, टेलिफोन, सांरङ्गी, त्रिशुल, डमरु, सनाही, नरसिङ्गा लगायत थुप्रै सामान बनाएका छन् । जनावरहरुमा, हात्ती, जिराफ, बाघ, नन्दी, कंगारु, सर्प, पंक्षीहरुमा हाँस, बकुला आदि बनाएका हुन् । त्यस्तै बुद्ध, सिरडी साईबाबा, मानिस र फूलहरु सयपत्री, कमल, गुलाब आदि रङ्गरोगनसहित दुरुस्तै बनाएका छन् ।
मानव जीवनमा प्रयोग हुने सामान र पुर्खाहरुले प्रयोग गरेका सामानहरु बनाएका छन् । खेरजाने सामानबाट डम्बरकुमार सरले बनाएको कलाकृति अवलोकनबाट आफूहरुले धेरै कुरा सिकेको र भविष्यमा केही आविष्कार गर्ने प्रेरणा मिलेको विद्यार्थीले बताए ।
बुद्धशान्ति–३ पाथीभरा टोल निवासी पूर्व शिक्षक प्रधान बहुआयामिक प्रतिभाका धनी छन् । उनमा चित्रकला, गीत लेखन, गायन, बाद्यवादन, खेलकुद, साहित्य लगायत थुप्रै प्रतिभाहरु मौजुद छन् । आफ्ना प्रतिभाहरुका माध्यमबाट समाज तथा देश सेवा गर्ने भावना राख्दछन् । प्रधानको कलाकृतिहरु घर, कार्यालय, अतिथि गृह, होटल तथा रिसोर्ट, एयरपोर्ट आदिमा सुन्दरता तथा सजावटका लागि राख्न निकै नै उपयुक्त छन् । प्रधानका कलाको प्रसारप्रचार हुनसके र उत्पादन हुनसके साँच्चै वातावरण प्रदुषण कम गर्न टेवा पुग्ने थियो ।

अतिरिक्त सिकाइका रुपमा पूर्व शिक्षक डम्बरकुमार प्रधानका सिर्जना प्रदर्शन गरिएको प्रध्यानापक पोखरेलले बताए । यस विद्यालयमा यस्तै विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम हुने गरेका र कार्यक्रमबाट थप सिकाई भएको विद्यार्थीहरु बताउँछन् ।
उच्च माध्यमिक तहमा बिजिनेश स्टडी, कम्प्यूटर साइन्स र कक्षा आठदेखि उच्च माध्यमिक तहसम्म कम्प्युटर इञ्जिनियरिङ्ग पढाई हुने यस आदर्श मावि जयपुर पूर्वी नेपालका विद्यालयहरु मध्ये उत्कृष्ट स्थान हासिल गर्न सफल रहेको छ ।





























