पार्थ मण्डल
झापा ।

झापाको भद्रपुरमा एउटै वडाका दुई जना महिला जनप्रतिनिधिबीच विवाद भई हात हालाहाल भएको छ ।
भद्रपुर नगरपालिका–३ नम्बर वडा कार्यालयका कार्यवाहक वडाध्यक्ष भुवमाया थापा पुलामी र वडासदस्य पूर्णमाया सुब्बा (पुनम) बीच हातपात भएको घटना बाहिर आएको हो । दुवै जना राप्रपाबाट निर्वाचित जनप्रतिनिधि हुन् । हातपातको क्रममा छुटाउन जाँदा वडा कार्यालयका दुई जना महिला कर्मचारी पनि घाइते भएका छन् ।
घटना विवरण अनुसार बुधवार दिउँसो २ बजेको समयमा वडा कार्यालय अगाडिको खाजा पसलमा कार्यवाहक वडाध्यक्ष पुलामी, कर्मचारीहरू मनिका बेगा, प्रमिला थुलुङ र गंगा बरालसँगै बसेर खाजा खाइरहेका थिए । सोही बेला वडा सदस्य सुब्बा त्यहाँ पुगिन् ।
सोही क्रममा कार्यवाहक वडाध्यक्ष पुलामी र वडासदस्य सुब्बाबीच भनाभन भई विवाद बढ्यो । वडासदस्य सुब्बाले कार्यवाहक वडाध्यक्ष पुलामीलाई हातपात गरेकी थिइन् । हातपातको क्रममा दुवै जना जनप्रतिनिधिलाई छुट्याउन खोज्दा कर्मचारीहरू मनिका बेगा र प्रमिला थुलुङ समेत सामान्य घाइते भएका छन् । घटना पश्चात् कार्यवाहक वडाध्यक्ष पुलामी न्याय माग्दै जिल्ला प्रहरी कार्यालय झापा पुगेकी छिन् । प्रहरी कार्यालयमा दुवै पक्षबीच छलफल भइरहेको जनाइएको छ ।
यता नेपाल निजामती कर्मचारी संगठन झापाले वडा कार्यालयमा कार्यरत कर्मचारीहरूमाथि आक्रमणको प्रयास गरिएको भन्दै विज्ञप्ति निकालेर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ– जनताको सेवा गर्ने जनप्रतिनिधिहरू जस्तो गरिमामय पदमा आसिन व्यक्तिहरूबीचमा भएको कुटपिटमा आफ्नो कर्तव्य सम्झी मध्यस्थता गर्ने कर्मचारीहरूमाथि नै जनप्रतिनिधिबाट भएको यस प्रकारको भौतिक आक्रमण निन्दनीय एवम् आपत्तिजनक छ । यस घृणित कार्यको घोर निन्दा एवम् भत्र्सना गर्दछौँ ।
आक्रमणमा परी घाइते भएकी कार्यवाहक वडाध्यक्ष तथा कर्मचारीहरूको आवश्यक उचित उपचार तथा जीउधनको सुरक्षा र मनोवैज्ञानिक डर त्रासको उचित व्यवस्थापन गरी आक्रमण, गालीगलौज तथा कुटपिटमा संलग्न जो कोहीलाई हदैसम्मको कानूनी कारबाहीका लागि सरोकारवाला निकायमा जोडदार माग गर्दछौँ ।
यदि यस घटनालाई सामान्य रूपमा लिएर गुण्डागर्दी र अराजकता मच्चाउनेलाई उन्मुक्ति दिने कार्य भएमा हामी सशक्त प्रतिवाद गर्न बाध्य हुनेछौँ भन्ने जानकारी समेत यसै विज्ञप्तिमार्फत दिन चाहन्छौँ– विज्ञप्तिमा भनिएको छ ।































